खोपले ल्याएको उत्साह

करिब एक वर्षअघि एउटा त्रास छायो । विश्वलाई तै आतंकित गर्नेगरी कोरोना भाइरस
फैलियो । नेपालमा पनि यसको त्रास छायो । सरकारले चार महिनासम्म देशभर लकडाउन
नै गरेको थियो । कोरोनाका कारण धेरैले ज्यान पनि गुमाए । न औषधि, न त खोप । यही
कारण पनि कोरोनासँग धेरै डराउनुपर्ने अवस्था भयो । तर विश्वले पुनः कोरोनालाई पनि
जित्ने साहस गरेको छ । अर्थात कोरोनाविरुद्धको खोप तयार भएको छ । नेपालजस्तो
देशले पनि खोप प्राप्त गरेको छ । बुधवार मात्र कर्णालीमा पनि कोरोनाविरुद्धको खोप
लगाउन सुरु भएको छ । कर्णालीमा खोप अभियान सुरु भएसँगै अब कोरोनासँग त्रास
हुनुपर्ने अवस्था रहेन । अर्थात कोरोनालाई पनि जित्ने अभियान अगाडि बढेको छ । पहिलो
चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववाहनका चालकले यो खोप लगाएका छन् । योसँगै
कोरोनाविरुद्धको अभियानम अग्रपंत्तिमा खटिनेहरुले खोप लगाएका छन् । यसले कोरोना
नियन्त्रणमा थप बल पुगेको छ । सर्वसाधारणलाई पनि कोरोनाविरुद्ध लड्न उत्साह पैदा
भएको छ ।

आर्थिक र प्राविधिक रुपमा कमजोर नेपाल । त्यसमा पनि सामान्य रोगको उपचारमा
सिटामोल पनि उपलब्ध नहुने कर्णाली । यही कारण पनि कोरोना महामारीबाट कसरी जोगिने
भन्ने चिन्ता कर्णालीमा बढी थियो । अहिले पनि संक्रमितले सहज रुपमा औषधि र उपचार
नपाएको अवस्था छ । दुर्गममा अस्पताल र चिकित्सक नहुँदा स्थानीयले हेलिकोप्टरबाट
चार्टर गरेर उपचार गराउनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप उपलब्ध
हुनु र त्यसको प्रयोग समेत हुनुले महामारीबाट ज्यान जोगिन आश कर्णालीबासीले गरेका
छन् । पहिलो चरणमा सर्वसाधारणलाई खोप छैन । तर अब सरकारले चाँडै सर्वसाधारणका
लागि खोप ल्याउने तयारी गरिरहेको छ । आशा गरौं, सरकारले चाँडै खोप उपलब्ध गराउने
छ । सर्वसाधारणले सहज रुपमा खोप लगाउन पाएको खण्डमा यो महामारीलाई नियन्त्रण
गर्न सम्भव हुनेछ । अर्थात औषधि, खोप र उपचार प्रविधि सरल बनेमा कोरोना पनि सामान्य
रोगजस्तै हुनेछ । मुख छोपेर हिँड्नुपर्ने, परिवारबाट टाढा रहनुपर्ने र अर्थतन्त्र नै धरासायी
बनाउने यो संक्रमणलाई सजहै रुपमा जित्न सकिने छ ।

विश्वका शक्तिशाली देशलाई पनि महामारीले घुँडा टेकायो । वैज्ञानिकहरु नै संकटमा
परे । तर लामो प्रयास र मेहनतले खोप आविस्कार भयो । यसले हरेक चुनौतीको सामना गर्न
सम्भव छ भन्ने देखाएको छ । साथै नेपालले पनि महामारी र संकटमा कसरी व्यवस्थापन
गर्ने भन्ने सिकेको छ । आर्थिक रुपमा क्षति भोगे पनि देशमा पुनः गतिशिलताको संकेत
देखिएको छ । खोपको उपलब्धतासँगै अब आर्थिक क्षेत्र चलायमान बन्न थालेको छ ।
भौतिक विकासको गति अगाडि बढेको छ । बन्द रहेका शिक्षण संस्थाहरु खुल्न थालेका
छन् । उद्योगहरु चल्न थालेका छन् । रोजगारी खोसिएकाहरु काममा फर्कन थालेका छन् ।
समग्रमा भन्दा कोरोनाविरुद्धको खोप उपलब्ध भएसँगै यसले नागरिकमा उत्साह पैदा गरेको
छ ।

तपाईको प्रतिक्रिया