माटोको रोग पत्ता लगाउनुस, उपचारको व्यवस्था गर्छौं : मन्त्री केसी

सुर्खेतका तीन पालिकाको माटो जाँचिदै, जिआइएस नक्शा बनाईने


सुर्खेत, १४ माघ ।
सुर्खेतका तीन वटा पालिकाको माटो जाँच गरेर नक्शा बनाईने भएको छ । प्रधानमन्त्री कषि आधुनिकिकरण आयोजना अन्र्तगत पश्चिम सुर्खेतका बराहताल गापाको वडा नं. ६ र ७, पञ्चपुरी नपाको २,३, ४, ६, ८ र ९ र चौकुने गाउँपालिकाको वडा नं. ८ गरी तिनै पालिकाका नौ वडाका तरकारी पकेट क्षेत्र अन्र्तगतका जमिनको माटो जाँच गरिने पूर्व माटो विज्ञ इन्द्र बहादुर वलीले बताए । उनका अनुसार माटो जाँच गर्नका लागितरकारी पकेट क्षेत्रका सञ्चालकलाई माटो संकलन र जिपिएस प्रयोग गर्न बुधबार अभिमुखिकरण गरिएको हो । यिनै सञ्चालकले ल्याएको माटो एकीकृत प्रयोगशाला सुर्खेतमा जाँच हुनेछ । उक्त माटोको अवस्थाबारे जानकारी भइसकेपछि विभिन्न पालिका तथा अन्य सरोकारवाला निकायलाई माटो मलिलो बनाउन आवश्यक नीति तथा कार्यक्रम संचालन गर्न सहज हुने अभिमुखिकरण कार्यक्रमको उदेश्य छ । वलीका अनुसार आगामी असार मसान्तभित्र ती क्षेत्रको नक्सा तयार भइसक्नेछ ।

एकीकृत प्रयोगशाला सुर्खेतका प्रमुख सुरेश कुमार चौधरीले जाँचका लागि प्राप्त हुने माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास, पिएच, अम्लीयपन आदिको अनुसन्धान गरिने बताए । ‘यसबाट त्यहाँको माटोमा के को मात्रा घटि र बढि छ र कसरी त्यसलाई कम र बढि बनाउन सकिन्छ भन्ने कुराको हामीलाई जानकारी हुन्छ ।’ उनले भने, ‘त्यसबाटो उक्त माटोको उपचार गर्ने र माटोबाट बढि भन्दा बढि उत्पादन बढाउन मार्गदर्शन हुने हाम्रो अपेक्षा छ ।’ उनका अनुसार तीनै पालिकाका दुइ सय पचास भन्दा बढि नमूना माटोको जाँच गरिने भएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले माटो जाँच गरेर त्यसको उत्पादन बढाउन आवश्यक उपचार आवश्यक भएको बताइन । ‘तपाईहरु माटो जाँच गर्नुस । माटोलाई पहिलेकै उत्पादकत्व हुने योजना बनाउनुस ।’ मन्त्री केसीले भनिन्, ‘रोग थाहा भएपछि त्यसको उपचार गर्न सजिलो हुन्छ । हामी उपचार गर्न आवश्यक सहयोग गर्न, पालिकासँग समन्वय गर्न र आवश्यक नीति तर्जुमा गरि स्रोत व्यवस्थापन गर्न तयार छौं ।’

तपाईको प्रतिक्रिया