कर्णालीमा निर्वाचनको तयारी : गाउँमा मतदाता शिक्षा र नामावली अद्यावधिक

सुर्खेत, १३ माघ ।
सरकारले घोषणा गरेको आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक तयारी थालेको छ । आउँदो बैशाख १७ र २७ गते दुई चरणमा तोकिएको निर्वाचन कार्यतालिका अनुसार आयोगले कर्णालीमा पनि गतिविधि तीव्र पारेको हो । यही क्रममा आयोगले मतदाता शिक्षा कार्यक्रम र मतदाताको नामावली रुजु गर्न थालेको छ ।

निर्वाचन कार्यालयले पहिलो चरणमा मतदाता नामावलीे अद्यावधिक गर्ने, मतदाता नामावलीमा नाम बिग्रिएको भए सच्याउने, मतदाता नामावलीमा हुने दोहोरोपना तथा त्रुटि घटाउने, हालसम्म जिल्लामा संकलित मतदाता नामावलीलाई वैधानिकता दिने र अद्यावधिक मतदाता नामावली तयार गर्ने लगायतका काम गरिरहेको छ । जसका लागि आयोगको टोली गाउँमा पसेको छ । कर्णालीका दश वटै जिल्लामा निर्वाचन केन्द्रित गतिविधि सुरु भएको सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले जनाएका छन् ।

जसका लागि राजनीतिक दलहरुसँग छलफल तथा अन्तरक्रिया, मतदान केन्द्र, मतदान स्थलहरु थपघट र विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सुरु गरेका छन् । गाउँमै पुगेर मतदाताहरुको नामावलीमा भएका त्रुर्टी सच्याउने, मृत्यु भएकाहरुको नामावली हटाउने लगायतका गतिविधि गर्न थालिएको छ । नामावलीमा कुनै निर्वाचनको नाम एकभन्दा बढी स्थानमा समावेश भएकामा एक स्थानमा मात्र कायम गर्न निर्देशन दिने, प्रकाशित नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका व्यक्तिको वितरण स्थानीय पदाधिकारीबाट प्राप्त गर्ने, उजुरी परेको निर्वाचनलाई प्रमाणसहित सफाइको मौका दिने जस्ता कार्यक्रमहरु भइरहेको सम्बन्धित निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

निर्वाचन आयोग केन्द्रीय समितिको निर्देशनअनुसार निर्वाचन नामावली अद्यवधिक कार्यक्रम सरोकारवाला निकायहरुसँग गतिविधि तीब्र पारिएको हो । मतदाता नामावली प्रकाशन गर्ने, प्रकाशन भएका नामावलीमा रहेका त्रुटि सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने जस्ता विविध कार्यक्रमहरु अघि बढेको हो ।

थपिए मतदाता र केन्द्र
आगामी निर्वाचनमा कर्णाली प्रदेशमा मतदाता संख्या, मतदान केन्द्र र मतदान स्थल बढ्ने देखिएको छ । तथ्याङ्क अनुसार सुर्खेत १४ हजार आठसय ९९ जना, सल्यानमा सात हजार सात जना, दैलेखमा १५ हजार चारसय ७९ जना र कालिकोटमा आठ हजार एकसय २९ जना मतदाता थपिएका छन् । त्यस्तै मुगुमा एक हजार आठसय ५६ जना, हुम्लामा एक हजार एकसय ५४ जना, जुम्लामा तीन हजार चारसय ८८ जना, डोल्पामा एकहजार आठसय तीन जना, जाजरकोटमा ११ हजार आठसय ५४ जना र रुकुमपश्चिममा नौंहजार दुईसय तीन जना मतदाता थपिएका हुन् ।

योसँगै सुर्खेतमा कुल मतदाता संख्या दुई लाख १९ हजार चारसय ७६ जना, सल्यानमा एक लाख ४१ हजार दुई सय २० जना, रुकुमपश्चिममा ९३ हजार दुईसय ३५ जना, जाजरकोटमा ९५ हजार सातसय ९१ जना, डोल्पामा २० हजार सातसय ९२ जना, जुम्लामा ६२ हजार पाँचसय ४७ जना पुगेका छन् । त्यस्तै मुगुमा ३१ हजार आठसय ७१ जना, कालिकोटमा ६३ हजार ९० जना र दैलेखमा एकलाख ५५ हजार चारसय २३ जना मतदाता छन् ।

मतदाता संख्या बढेका कारण मतदान केन्द्र र मतदानस्थल बढ्ने देखिएको छ । यद्यपी मतदानस्थल र मतदान केन्द्रको अन्तिम टुङ्गो भने लागि सकेको छैन । मतदाताको संख्या हेरफेर तथा त्रुर्टी सच्याउने काम बाँकी रहेका कारण मतदाताको एकीक टुङ्गो लागि सकेको छैन । तर पा्ररम्भीक तथ्याङक अनुसार कर्णाली प्रदेशभर आधा लाखभन्दा बढी मतदाता संख्या बढ्ने अनुमान गरिएको छ ।

शैक्षिक संस्थामा मतदाता शिक्षा
निर्वाचनलाई सफल बनाउन र मताधिकार खेर जान नदिन निर्वाचन आयोगले हरेक जिल्लाहरुमा मतदाता शिक्षा सुरु गरेको छ । निर्वाचनमा मतदाताको सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफुले इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो । जसअन्तरगत विभिन्न क्याम्पस तथा स्कुलहरुमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ ।

कर्णालीका दश जिल्ला मध्ये अधिकांश जिल्लामा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भइसकेको छ । तर हुम्ला, डोल्पा र मुगुमा भने मतदाता शिक्षा कार्यक्रम सुरु हुन सकेको छैन । चिसो मौसमका कारण हिमाली जिल्लामा स्कुल तथा क्याम्पसहरु बन्द छन् । शैक्षिक संस्था संचालनमा नआएका कारण मतदाता शिक्षा कार्यक्रम सुरु गर्न ढिलाइ भइरहेको सम्बन्धित निर्वाचन कार्यालयहरुले जनाएका छन् । ति जिल्लामा शैक्षिक संस्थाहरु खुलेपछि निर्वाचन शिक्षा कार्यक्रम हुनेछ । हालसम्म सुर्खेत, सल्यान, रुकुमपश्चिममा र दैलेखमा विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भइसकेको छ ।

कालिकोट र जुम्लामा भने मतदाता शिक्षा कार्यक्रम सुरु भएको छैन । तर जाजरकोटमा भने निर्वाचन शिक्षा कार्यक्रम सम्पन्न भइसकेको निर्वाचन अधिकारी डिलबहादुर कार्कीले जानकारी दिए । आयोगका अनुसार कर्णालीका एकसय ५० भन्दा बढी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्नुपर्ने छ । त्यस्तै हरेक पालिकामा सहायक नाम दर्ता अधिकारीको कार्यालय स्थापना गर्न लागिएको छ । कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने र प्रकाशन भएका नामावलीमा रहेका त्रुटि सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने जस्ता विविध कार्यक्रमहरु गरिनेछ ।

तपाईको प्रतिक्रिया