सुर्खेतका सरकारी कार्यालयमा महिला नेतृत्व : बढ्दै आत्मविश्वास, हाँक्दै नेतृत्व

सुर्खेत, ११ फागुन ।
दीपा हमाल शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक हुन् । उनले यसअघि जिल्ला शिक्षा कार्यालय सुर्खेत र कालिकोटमा जिल्ला शिक्षा अधिकारी भएर जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । संघीयता अघि शैक्षिक तालिम केन्द्रको प्रमुख भइसकेकी हमालले हाल शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको नेतृत्व गर्दै आएकी छिन् । कर्णाली प्रदेशको समग्र शिक्षा क्षेत्रलाई सुधार गर्ने जिम्मा उनकै काँधमा छ ।

२०४६ सालदेखि शिक्षक पेशाबाट सरकारी जागिरमा प्रवेश गरेकी उनले जहाँ पुगिन्, त्यही क्षेत्रमा आफ्नो अब्बलता देखाइन् । विद्यालय निरीक्षक, जिल्ला शिक्षा अधिकारी र शैक्षिक तालिम केन्द्रको प्रमुख हुँदा कुशल नेतृत्व गरेकै कारण कर्णाली प्रदेश सरकारले उनलाई शिक्षा विकास निर्देशनालयको नेतृत्व सुम्पिएको हो । हमालले कर्णालीको समग्र शिक्षा क्षेत्रको नेतृत्व गर्न सक्छन् भन्ने विश्वास प्रदेश सरकारलाई छ ।

यस्तै लक्ष्मी खरेलप्रति पनि उस्तै विश्वास रहेको छ केन्द्र सरकारको गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतको । त्यही विश्वासका कारण खरेललाई विगत डेढ बर्षदेखि सुर्खेत कारागारको नेतृत्व सुम्पिएको छ । डेढ वर्षदेखि कारागारको २४ घण्टे डिउटी निभाउँदै आएकी छिन् । २०७० सालबाट निजामति सेवामा प्रवेश गरेकी खरेलले तत्कालिन क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा रहदा गरेको कुशल नेतृत्व क्षमताकै कारण उनलाई सरकारले कारागारको जस्तो संवेदनशील कार्यालयको नेतृत्व दिएको हो ।

हत्या, हिंसा र विभिन्न अपराधिक घटनाको दोषीलाई रेखदेख गर्ने जिम्मेवारी खरेलकै काँधमा छ । कारागारको सुरक्षा व्यवस्थालाई चुस्तदुस्त गराउनेदेखि र कैदीहरुलाई नयाँ जीवन जीउने कला सिकाउने जिम्मेवारी पनि उनकै काँधमा छ । कहिले मध्यराती त कहिले एकाविहानै दोषीहरुलाई कारागार चलान गर्नुपर्ने अवस्था आउँछ । यस्तो कार्यतालिकामा पनि खरेलले कुशलतापूर्वक कारागारको नेतृत्व गर्दै आएकी छिन् । यही कुसल नेतृत्व क्षमताकै कारण २४ घण्टे जस्तो कारागारको नेतृत्व प्रशासनले उनलाई सुम्पिएको हो ।

जिल्ला निर्वाचन कार्यालय सरकारको अर्काे महत्वपूर्ण निकाय हो । हरेक निर्वाचनमा दलहरुसँग सहकार्य गर्दै निर्वाचनलाई शान्तिपूर्ण र निस्पक्ष चुनाव गराउन जिल्ला निर्वाचन अधिकारीको महत्वपूर्ण भूमिका रहन्छ । त्यही भूमिकामा छन् निर्मला रेग्मी । २०६० सालमा शिक्षक हुँदै निजामति क्षेत्रमा आएकी रेग्मीले १५ वर्षको अवधिसम्म जिल्ला शिक्षा कार्यालय सल्यान, हुलाक कार्यालय सुर्खेत र प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा गरेको कुशल नेतृत्वकै कारण संघीय सरकारले उनलाई जिल्ला निर्वाचन कार्यालयको नेतृत्व दिएको हो ।

हमाल, खरेल र रेग्मी मात्रै होइनन्, । हजोआज क्षमतावान महिलाहरुले कार्यालयको प्रशासनिक नेतृत्वमा गर्न थालेका छन् । पुरुषको तुलनामा महिलाहरु पेशाप्रतिको इमान्दारिता र कर्तव्यनिष्ट छन् । कुनैबेला महिलाको क्षमता कमजोर हुन्छ, उनीहरुले कुनै पनि क्षेत्रको नेतृत्व गर्न सक्दैनन् भन्ने सोच हावी थियो । यही कारण महिलालाई कार्यालयको नेतृत्व गर्ने अवसर दिइन्नथ्यो ।

तर महिलाहरु घरको चुलो र चौकोमा मात्रै सिमित हुन्छन् भन्ने समाजको यही सोचलाई हमाल, खरेल र रेग्मीजस्ता महिलाहरुले कार्यालयको नेतृत्व गरेर गतिलो जवाफ दिएका छन् । महिलाहरु निजामित क्षेत्रमा होमिन थालेका छन् । ग्रामीण बस्तीमा पनि छोरीहरुलाई पनि स्कूल पठाउन थालिएको छ । बदलियो समय अनुसार महिलाहरु सामाजिक, राजनीतिक, आर्थिक र प्रशासनिक क्षेत्रको अग्रपंत्तिमा उभिन थालेका छन् ।


महिलाहरु जुन क्षेत्रमा उभिएका छन्, त्यो क्षेत्रमा आफ्नो अब्बलता देखाएका छन् । सामुदायिक विद्यालय, सामुदायिक वन मात्रै होइन, अचेल प्रशासनिक क्षेत्रको नेतृत्वमा पनि महिलाहरु नेतृत्व गर्न थालेका छन् । अत्ति संवेदनशिल र प्रशासनिक हिसावले निकै जोखिमपूर्ण कार्यालयमा पनि महिलाहरुले नेतृत्व सम्हालेका छन् । सन्तानको हेरचाहा, घरायसी कामधन्दा गर्नुपर्ने बाध्यताकाबिच महिलाले प्रशासनिक नेतृत्वमा आफूलाई अब्बल सावित गरेका छन् ।

‘अवसर र आत्मविश्वासले महिलालाई नेतृत्वमा पुरयाउँछ’
महिलाहरु आफै अग्रसर भएको खण्डमा प्रशासनिक नेतृत्व गर्ने अवसर प्राप्त हुने नेतृत्व तहमा पुगेका महिलाहरु बताउँछन् । ‘प्रशासनिक क्षेत्रको नेतृत्व गर्नु चुनौतीपूर्ण कार्य हो, तर प्रायः महिलाहरु चुनौती मोल्न तयार हुँदैनन’ शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दीपा हमाल भन्छिन्, ‘अवसर पाउन महिलाहरु आफै अग्रसर हुनुपर्छ ।’

प्राय महिलाहरुले घरायसी काम गर्नुपर्ने र नेतृत्वमा पुग्दा कहिलेकाँही अफिस समयबाहेक पनि समय दिनुपर्ने भएका कारण अधिकांश महिलाहरु नेतृत्व जान नचाहने उनको बुझाइ छ ।  त्यस्तै कामप्रति आत्मविश्वास, निरन्तरता र मेहनत भएको खण्डमा महिलाहरु पनि नेतृत्व तहमा पुग्न सकिने जिल्ला कारागार कार्यालय सुर्खेतका प्रमुख लक्ष्मी खरेलको भनाइ छ । ‘आत्मविश्वास विना सफलता सम्भव छैन’ उनी भन्छिन्, ‘तर नेतृत्व तहमा पुग्नको लागि आत्मविश्वास, कामप्रतिको निरन्तरता र मेहनत आवश्यक पर्छ ।’ जिम्मेवारीप्रतिको निरन्तरता र मेहनत गर्न सकेको खण्डमा महिलाहरुले पनि प्रशासनिक नेतृत्व तहमा पुग्ने उनको तर्क छ ।

यस्तै महिलाहरु नेतृत्व तहमा पुग्ने शिक्षा, सशक्तिकरण र अवसर हरुको खाँचो रहेको जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीको तर्क छ । ‘नेतृत्व तहमा पुग्नको लागि शिक्षा सबैभन्दा महत्वपूर्ण पाटो हो, तर सबै शिक्षित महिलाहरु नेतृत्व तहमा पुग्न सक्दैनन्’ उनी भन्छिन्, ‘महिलाहरुलाई नेतृत्व तहमा पु¥याउन सशक्तिकरण र अवसर दिनुपर्छ ।’

‘डेकेयर सेन्टर’ नहुँदा समस्या
सन्तानलाई जन्म दिनुपर्ने विषय महिलाहरु प्राकृतिक देन हो । झट्ट हेर्दा समान्य लागे पनि सन्तान हुर्काउनु एक चुनौतीपूर्ण कार्य हो । निश्चित अवधिसम्म बालबच्चालाई हुर्काउनुपर्ने बाध्यात्मक अवस्थाका कारण निजामति कर्मचारीले करिव तीन महिनासम्म सुत्केरी विदा पाउँछन् । तर तीन महिनाको अवधिमै बच्चा आमाको साथ विना बाँच्न सक्ने अवस्थामा पुग्दैन ।

बच्चालाई पटकपटक दुध खुवाउनुपर्ने र हेरचाह गर्नुपर्ने जस्ता कार्यका लागि आमाको साथ आवश्यक पर्छ । तर तीन महिनाभन्दा बढी सुत्केरी विदा पाउने व्यवस्था छैन । यही कारण हरेक अफिसमा स्तनपान कक्ष र सरकारी कार्यालय नजिकै डेकेयर सेन्टर अर्थात बच्चाबच्ची हेरचाह केन्द्र आवश्यक मानिन्छ । तर सुर्खेतमा भने डेकेयर सेन्टर छैनन् ।

सेन्टर अभावकै कारण निजामति क्षेत्रका महिला कर्मचारीलाई बच्चाहरुको हेरचाह र कार्यालयको जिम्मेवारी पूरा गर्न समस्या पर्दै आएको छ । महिला कर्मचारीहरुले कर्णाली प्रदेश सरकारले सुर्खेतमा एउटा डेकेयर सेन्टर बनाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।  चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले डेकेयर सेन्टर स्थापनका लागि दश लाख बजेट छुट्याएको छ । डेकेयर सेन्टर स्थापनका लागि हाल कार्यविधि बनाइरहेको शिक्षा विकास निर्देशक दीप हमालले जानकारी दिइन् । कार्यविधि बनेपछि समिति बनाएर डेकेयर सेन्टर सञ्चालनमा ल्याउने उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार