मालपोतका कर्मचारी प्रक्राउ प्रकरण : ‘मिटर ब्याजको रकम अशुल्न रावतले झुटो मुद्दा हाले’

चिन्तामणि कँडेल
सुर्खेत, ६ माघ ।
गत पुस २९ गते मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप साउँद पक्राउ परे । वीरेन्द्रनगर-६ का सौगात रावतले जग्गा कारोबारी (एजेन्ट) सन्तोष ठाकुरसँग मिलेर साउँदले आफूलाई थाहै नदिई आफ्नो जग्गा बिक्री गरेको रावतको आरोप छ । पक्राउ परेका कर्मचारी साउँद छानविनका लागि केहीदिनदेखि जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा छन् ।
जग्गा बिक्रीमा सहयोग गरेको आरोपमा लेखनदास अम्बरसिं कटुवाललाई पनि प्रहरीले छानविनका लागि पक्राउ गरेको छ । तर वास्तविक घटना भने फरक भेटिएको छ । रावतले मिटर ब्याजमा लगाएको ७० लाख रुपैयाँ अशुल्न मालपोतका कर्मचारी र आफूविरुद्ध झुटो मुद्दा हालेको ठाकुरको दाबी छ ।

मुख्य आरोपित ठाकुरले मिटर ब्याजको पैसा अशुल्न रावतले आफूलाई झुटो मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाएका छन् ।
‘मैले उहाँ (सौगात रावतबाट) ७० लाख रुपैयाँ लिएको थिएँ, पुस मसान्तसम्म तिर्ने सहमति थियो’ ठाकुरले टेलिफोनमा भने, ‘कारोबार नभएपछि पुसमा पैसा फिर्ता गर्न सकिनँ, पैसा अशुल्न उहाँले झुटो मुद्दा हाल्नु भएछ ।’ जग्गाको कारोबार गर्नका लागि ठाकुरले रावतबाट ७० लाख रुपैयाँ लिएका थिए । ७० लाखमध्ये केही रकम फिर्ता गरिसकेको ठाकुरले जनाए । ७० लाख जग्गा लिएवापत ठाकुरले ६ कट्टा जग्गा (हाल सौगातको नाममा रहेको कित्ता नं. ३३७० को २८५ बर्ग मिटर र कित्ता नं. ३३७१ को १०७५.२० बर्गमिटर र सहवीर कार्कीलाई बिक्री गरिएको ८०७ बर्ग मिटर जग्गा) सौगातको नाममा गरिदिएका थिए । ठाकुरले सहमतिका आधारमा रावत स्वयम् मालपोत र नापीमा उपस्थित भएर जग्गा बिक्री गरेको दाबी गरेका छन् ।
ठाकुरले अर्का जग्गा कारोबारी दिपक रजवारबाट लिएरको जग्गा रावतको नाममा पास गरिदिएको बताए । उक्त जग्गामा लगानी सन्तोष गरेका तर जग्गा भने रावतको नामा पास गरिदिएको अघिल्ला जग्गा धनी रजवारले पुष्टि गरेका छन् । सहमति अनुसार रावतबाट लिइएको ७० लाखको चलनचल्नी ब्याजसहित फिर्ता गर्ने र जग्गाको फाईदा रावत र ठाकुर दुबैले लिने सहमति भएको बताए । ठाकुरले पुस महिनामा कारोबार नभएका कारण रकम फिर्ता गर्न नसकेका जनाए । ठाकुरले रावतलाई जग्गा सहकारी वा बैंकमा राखेर लोन निकाल्ने र मिटर ब्याजको पैसा फिर्ता गर्ने प्रस्ताव गरेका थिए । तर रावतले ठाकुरको यो प्रस्ताव अस्विकार गरेपछि दुबै पक्षबीच कुरा बाँझिएको ठाकुरको भनाइ छ ।
‘मैले महंगो ब्याज रावतलाई बुझाउन सस्तो लोनमा जग्गा राखेर पैसा फिर्ता गर्छु भनेको थिएँ’ ठाकुरले भने ‘तर उहाँ (रावत) ले पावर र पैसा भएको भन्दै उल्टै मुद्दा हालेर फसाउन खोज्नु भएको छ ।’

ब्याज तिर्न सहज वातावरण नगराएको, पैसा र शक्तिका भरमा फसाउन खोजेको भन्दै आफूलाई सुर्खेतमा बस्ने वातावरण नभएको आरोपसमेत ठाकुरले लगाएका छन् । यता रावतले भने कर्मचारीसँगको मिलेमतोमा ठाकुरले थाहै नदिई जग्गा बिक्री गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा (मुद्दा दर्ता नं. २२०) पुस २९ गते ठगी मुद्दा हालेको बताएका छन् । आफू बास्तविक पीडित भएको भन्दै सम्बन्धित निकायमा मुद्दा दर्ता गराउँदासमेत प्रहरी सुर्खेतले आफूले दर्ता गराएको मुद्दाको कागजको प्रतिलिपीसमेत नदिनु, जग्गा खरिद गर्ने सहबिर कार्कीसहित अन्य दोषिहरुको खोजीमा सम्बन्धित निकायले ढिलासुस्ती गर्नुमा आफू असन्तुष्ट भएको गुनासो गरेका छन् ।

आरोपी सन्तोष ठाकुर र युगआह्वानबीच भएको टेलिफोन कुराकानी जस्ताको त्यस्तै ः

पत्रकार : सन्तोजी बोल्नु भएको हो ?
सन्तोष : हजुर सर ।
पत्रकार : रावत जग्गा प्रकरणमा तपाइँको नाम जोडिएको छ । समाचारका लागि लागि कुरा गरौँ भनेको ?
सन्तोष : हजुर ।
पत्रकार : जग्गा प्रकरणमा तपाइँले जग्गा धनीलाई थाहै नदिइ जग्गा अर्कैको नामको बिक्री गरिदिनु भयो भन्ने आरोप छ नी ?
सन्तोष : सर्वप्रथम जुन जग्गा कारोबारको कुरा छ नि । त्यो जग्गा मैले उहाँ (सौगात रावत) लाई धरौटी राखेर उहाँसँग पैसा लिएको हो ।
पत्रकार: कति पैसा लिनु भएको हो ?
सन्तोष: उहाँसँग मैले नगद र चेक गरेर लगभग ६० देखि ७० लाख रुपैयाँ लिएको हुँ । केही उहाँहरुलाई नै पैसा नगद र बैंकबाट फिर्ता गरिदिएको छु । खास भन्न खाजेको कुरा के भने पीडितले न्याय पाउनैपर्छ । उहाँहरुको पैसा तिर्न हामी तयार छौँ । केही छैन, तर न्यायमा सहज हुने वातावरण भएन । सधैभरी कामगरी राख्ने मान्छेलाई पावर र पैसाले नै दमन हुने हो भने के रह्यो र ? सधै यस्तै हो भने यसरी बाँच्नै सकिदैन । कहिलेसम्म हामी यसरी हिँड्ने ? बाँच्नै दिन्नन् भने त आत्महत्या पनि गर्नुपर्ने भयो के गर्नु त सर ? उनीहरुलाई बाँकी पैसा हामी दिन्छौँ । कसैको खाएर ठगेर माथि पुगौँ भन्ने सोचमा भएको भए अहिलेसम्म सुर्खेतमा धेरै माथि पुगि सकिन्थ्यो । कसैको पैसा खाने नियत होइन । उहाँहरुलाई हामी दिने पनि हो । पैसा दिइसकेपछि हाम्रो सम्पत्ति उहाँहरुसँग छ । उहाँहरुले पनि फिर्ता गर्नुपर्ने होला । एक करोड उहाँहरु भन्नुहुन्छ । सायद ब्याजसहित होला । ब्याज तिर्नुपर्छ ठिक छ ।
पत्रकार : ए ! वास्तवमा जग्गा धनी उहाँ (सौगात रावत) लाई बनाए पनि जग्गा तपाइँको होे ?
सन्तोष : हो, हामीले उहाँको नाममा राखेको हो ।
पत्रकार : भनेपछि नगद पैसा ब्याजे लिएर त्यो जग्गा उहाँ (सौगात रावत) को नाममा राख्नु भएको हो ?
सन्तोष : हो हो ।
पत्रकार : त्यो जग्गा फेरि अर्को मान्छे (सहवीर कार्की) को नाममा कसरी गयो ?
सन्तोष : उहाँ (सहवीर कार्की) को नाममा कित्ताकाट बनायौँ । महिना धेरै भइगो । पेलान धेरै हुँदै गएपछि कसरी संस्थामा राखेर हुन्छ कि त्यही मान्छेको नाममा राखेर हुन्छ कि ? पैसा उहाँ (रावत) हरुलाई दिने सम्झौतामा काम गरेको हो । अब पुस मसान्त कारोबार पुरा भएन । माघमा पैसाहरु कति जम्मा हुन्छ । अनि उहाँ (रावत) लाई बुझाउने कुरा थियो । ब्याज महंगो थियो । एक लाखकै ब्याजसहित बर्षमा दुई लाख हुन्थ्यो । सस्तो लोन निकालेर उहाँ (रावत) लाई पन्छाउन खोजेको । तर पन्छाउन खोज्दा उहाँ (रावत)ले विश्वास नमानेको क्रममा कसरी अशुल्ने वा छोड्ने भन्नेमा विषयमा जानुभो ।
पत्रकार : अनि त्यो जग्गा बिक्री गरी सहवीर कार्कीको नाममा जाने बेलामा हस्ताक्षर र औंठाछाप मेरो होइन भन्नुहुन्छ उहाँ (सौगात रावत) यो कुरा के हो ?
सन्तोष : मान्छे उहाँ कार्यालयको रेकर्डमा पनि त देखिनु भएको होला नि ? भएको/नभएको त भोली न्यायले देखाइहाल्छ ।
पत्रकार : वडा कार्यालयबाट सिफारिस ल्याएको, नापीबाट कित्ताकाट गरेको र राजीनामा सबैमा भएको हस्ताक्षर र औंठाछाप मेरो होइन, अरु कसैले नै गरिदिएको हो भन्नेकुरा गर्नु भएको छ ? ल्याप्चे लगाएको तपाइँ आफैले देख्नु भएको हो ?
सन्तोष : उहाँ (रावत) स्वयम हुनुहुन्छ । मालपोतमा पनि हुनुहुन्छ, नापीमा पनि हुनुहुन्छ ।
पत्रकार : ल्याप्चे कसले हान्यो राजीनामा कागजमा ?
सन्तोष : अनलाइन सिस्टममा उहाँले ल्याप्चे नहानेसम्म त प्रक्रिया अगाडि बढ्दै बढ्दैन त ?
पत्रकार : बढ्ने नबढ्ने भन्ने कुरा अलग रह्यो । उहाँ (रावत) ले पहिल्यै हानेको कायम होला भन्नुहुन्छ त ? तर त्यो जग्गा राजीनामा मिसिल लेखाउने बेलामा जग्गा दिने व्यक्तिले ल्याप्चे लगाउनुपर्छ । त्यतिबेला तपाइले देख्नु भएको थियो कि थिएन ? त्यो कसले हानेको हो ?
सन्तोष : उहाँ (रावत) स्वयम्ले रोहवरमा वकिल भएर ल्याप्चे लगाउनु भाछ ।
पत्रकार : उहाँ (रावत) आफैले ल्याप्चे लगाउनु भएको हो ?
सन्तोष : हो ।
पत्रकार : अनि वास्तविक हस्ताक्षर जो उहाँले प्रयोग गरिरहनुहुन्छ र मिसिलमा भएको हस्ताक्षर त फरक छ ? यो उहाँ (रावत) ले फरक हान्नु भएको भन्नुहुन्छ तपाइँ ?
सन्तोष : यो अब अहिले सुरुमा एउटा कुरा छ । अहिले यहाँ मिसिलको कुरामा धेरै फरक-फरक ! मलाइ पनि जानकारी नभएको कुरा निस्कन लागेको सर । म त अलमल छु ! पहिले एउटा कुरा थियो । काम गर्दा सुरुमा अहिलेको परिवेशमा धेरै फरक-फरक माहोल आइदियो के ?
पत्रकार:  अहिले उहाँ (रावत)ले गरेको भने के हो भने तपाइँ जग्गा धनी हुनुहोला ? विश्वासको आधारमा तपाइले उहाँ (रावत) लाई जग्गा नाममा राख्न दिनु भएको हो । तर त्यो जग्गा लिएको कोसँग हो ?
सन्तोष : दिपक रजवारबाट लिएको हो । उहाँ पनि जग्गाकै कारोबार गर्नुहुन्छ ।
पत्रकार : रजवारलाई जग्गा लिएपछि तपाइँले पैसा बैंकबाट दिनुभयो वा नगद ?
सन्तोष : नगद लिएको हो ।
पत्रकार : रजवारले जग्गा कसलाई बेचेको भन्ने छ ? पैसा कसको हो ?
सन्तोष : उहाँ (रजवार) लाई थाहा छ । हामीले काम गर्ने जग्गा उहाँ (रावत) को नाममा धरौटी राखेर यति पैसा लिएको हो । उहाँलाई बकैदा थाहा छ । जग्गा बेचेको त होइन नि ? (सहमति अनुसार धरौटी राखेर पैसा लिएको हो ।)
पत्रकार : बेचेको होइन भन्न मिलने न नि राजीनामा दिइ सकेपछि त ?
सन्तोष : कानूनको कुरा अगल रह्यो विश्वासको आधारमा भयो ।
पत्रकार : तपाइँले सौगात रावतबाट लिएको ७० लाख कति प्रतिशत ब्याजले बुझाउने सहमित थियो ? अथवा जग्गामै पाट्नरसिप हो के भनेर लिनु भएको थियो ?
सन्तोष : चलन चल्तीको ब्याज दिने र जग्गा उहाँको नाममा राखेबापत भोलीको दिनमा जग्गा बढेर फाइदा भयो भने उहाँहरुलाई पनि केही हेर्ने र ब्याज तिर्ने कुरा थियो । जग्गा सौगातको नाममा राजीनामा दिने दिपक रजवारले पैसा त सन्तोषले लगानी गरेको हो । सन्तोषले नै जग्गा रावतको नाममा हालिदे भनेको हो ।

तपाईको प्रतिक्रिया