जग्गाधनी आफैले जग्गा बेचेको खुलासा, औँठा छाप प्रमाणित हुँदै ?

चिन्तामणि कँडेल
सुर्खेत, ५ पुस ।
सुर्खेतमा केही दिनदेखि मालपोत कार्यालय सुर्खेतका कर्मचारीको मिलेमतोमा जग्गा धनीलाई नै थाहा नै नदिई जग्गा बिक्री गरेका समाचारले भाइरल भएको छ । तर बास्तविकता भने अर्कै रहस्य पाइएको छ । वीरेन्द्रनगर–६ का जग्गा धनी सौगात रावतले स्वयम् आफैले जग्गा बिक्री गरेको प्रमाण फेला परेको छ ।

जग्गाधनी रावत आफै जिल्ला मालपोत कार्यालयमा उपस्थित भई राजीनामा दिएको प्रमाण भेटिएको हो । मालपोत कार्यालय २०७७ असार ८ गते रावत आफैले जग्गा विक्री गरेको प्रमाण भेटिएको छ । नाम नखुलाउने सर्तमा कर्मचारीले दिएको जानकारी अनुसार रावतले मालपोत कार्यालय सुर्खेतको कम्प्युटर फाँटमा स्वयम् उपस्थित भई डिजिटल औँठा छाप, रुजु र स्थलगत फोटा खिचेर जग्गा राजीनामा गरेको मालपोत कर्मचारी स्रोतको दावि छ । जग्गाधनीकै औँठा छाप, दस्तखत हो वा होइन प्रमाणित गर्नका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा आवश्यक कागजात पठाएको छ ।

रावतको अनलाईन फोटो र आँैठा छाप हाल नेपाल सरकारले सुरु गरेको डिजिटल प्रविधिको सिस्टम प्रविधिमा सुरक्षित छ । तर जग्गा बिक्रीकर्ता रावतले भने आफूलाई थाहै नदिई जग्गा बिक्री गरेको भन्दै मालपोतका कर्मचारी विश्वरुप साउँदलाई पुस २९ गते साँझ आफ्नै गाडी लिएर प्रहरीलाई बुझाएका मालपोत कार्मचारीको भनाई छ ।

रावतले जग्गा विक्री गर्नका लागि असार ८ गते वडा नं. १३ को वडा कार्यालयबाट जग्गा राजीनामा स्विकृति पत्रको साथमा मालपोत कार्यालय पुगेका थिए । सोही दिन नै रावतले साविक जर्बुटा ३ (क) र कित्ता नं. ३१११ र १२३७.२० बर्ग मिटरको जग्गा मध्येबाट सहबिर कार्कीलाई ८०७ बर्ग मिटर कित्ता काट गरेर बिक्री गर्न स्विकृत दिएको प्रमाण भेटिएको छ ।

सहबीर कार्की साविक दैलेखको महाबु गाउँपालिका वडा नम्बर–३ बाँसी स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्छन् । रावतले फाष्टट्याकमार्फत असार ८ गते नै जिल्ला नापी कार्यालय सुर्खेतमा उपस्थित भई उल्लेखित कित्ताबाट ३१११ बाट २२६९ कित्ताबाट कार्कीलाई जग्गा बिक्री गरेको भेटिएको छ । उक्त जग्गा सुरुमा वीरेन्द्रनगर–१ कार्कीको नाममा नामसारी भएको पाइएको छ ।

मालपोत अभिलेखमा कार्कीको नाममा जग्गा पास हुँदा वीरेन्द्रनगर–४ का नारायण बुढा र वीरेन्द्रनगर–१ का चाँदनी वली साक्षी बसेको देखिन्छ । कार्कीका नाममा १० असार २०७७ पछि ६ कित्तामा बाँडेर अन्य व्यक्तिका नाममा नामसारी गरिएको छ । हाल उक्त जग्गा कित्ताकाट भई नियम अनुसार अन्य ६ जनाको नाममा नामसारी भइसकेको छ ।

बाँकी जग्गामध्ये कित्ता नं. ३३७० को २८५ बर्ग मिटर र कित्ता नं. ३३७१ को १०७५.२० बर्गमिटर भने रावतले आफ्नै नाममा राखेको देखिन्छ । यी सबै तथ्यहरुलाई आधार मान्ने हो भने जग्गा धनी सौगातले जानीबुझि जग्गा बिक्री गरेको प्रमाणित हुन्छ । रावत यसअघि सुर्खेतमा जग्गाको कारोबार गर्दै आएका व्यक्ति भएको मालपोत कार्यालयका कर्मचारी बताउँछन ।

मालपोतको सक्कल फाइल प्रहरीसँग
यता जग्गा खरिद बिक्रीको आधिकारीक फाइल जिल्ला प्रहरी कार्यालय सुर्खेत लिएको छ । आधिकारिता बुझ्ने भन्दै प्रहरीले जग्गाको राजीनामा सक्कल मिसिल नै लिएको हो । मालपोत कर्मचारीहरुले जग्गाधनीकै उपस्थितिमा राजिनामा गएको दावि गरेका छन् भने जग्गाधनीले आफुलाई जानकारी नै नदिएर मालपोत कर्मचारीको मिलेमतोमा जग्गा खरिद विक्रि भएको आरोप लगाएका छन् ।

प्रहरीले आइतबार अनुसन्धानको लागि भन्दै जिल्ला मालपोत कार्यालय सुर्खेत र नापी कार्यालय सुर्खेतबाट माग गरेको थियो । फाइल मागेपछि मालपोत कार्यालयले सक्कल फाइल नै प्रहरीलाई बुझाएको हो । मालपोतले सक्कल फाइल नै प्रहरीलाई बुझाउनु संकास्पद देखिन्छ । तर नापी कार्यालय सुर्खेतले प्रहरीलाई प्रमाणित प्रतिलिपि मात्रै उपलब्ध गराएको छ । मालपोत कार्यालयले पनि प्रमाणित प्रतिलिपि दिनसक्ने ठाउँ हुँदाहुँदै सक्कल फाइल प्रहरीको हातमा दिनुले घटना थप रहस्यमय बन्नसक्ने आँकलन गरिएको छ । यता सक्कल फाइल प्रहरीलाई दिएको विषयमा बुझ्न खोज्दा मालपोत कार्यालयले भने फोन सम्पर्क हुन सकेन गरेन् ।

कोरोनाको सन्त्रासमा जग्गा खरिदकर्ता र विक्रिकर्ताले माक्स प्रयोग गरेकाले जग्गाधनी सक्कली परेकी नक्कली स्पष्ट हुन गाह्रो भएको मालपोत कार्यालय फाँटवाला कर्मचारीहरुको भनाई छ । उक्त जग्गा खरिद, विक्रिको मिसिल, औठा छाप, फोटोदेखि सबै महत्वपूर्ण कागजात जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालयबाट नियन्त्रणमा लिएका कागजातको औँठा छाप स्वयंम जग्गाधनीको हो वा होइन प्रमाणित गर्नका लागि प्रविधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको प्रहरीको भनाई छ । विधि विज्ञान प्रयोगशालाको प्रमाणित रिपोर्ट आएपछि जग्गाधनी सक्कली वा नक्कली के हुन प्रमाणित हुने जनाइएको छ ।

जग्गा बिक्रीकर्ता रावत र जग्गा खरिदकर्ता कार्कीबीच भएको जग्गा लेनदेनमा जग्गा खरिदकर्तालाई किटान नै नगरी सोझै कर्मचारीलाई आरोप लगाउनुले पनि घटना रहस्यमय देखिन्छ । सर्वसाधारणले भने मालपोतले सक्कल फाइल प्रहरीलाई बुझाउँदा प्रहरी र आफूलाई थाहा नै नदिई जग्गा बिक्री गरेको दाबी गर्ने सौगात रावतबीच मिलेमतो भएको हुनसक्ने आँकल गरेका छन् । प्रहरी आर्थिक प्रलोभनमा परी मुद्धा बङ्गाउन सक्ने धेरैको अनुमान छ ।
मालपोतका कर्मचारी विश्वरुप साउँदलाई जग्गा धनी स्वयम रावतले नै पुस २९ गते साँझ आफ्नै गाडी लिएर प्रहरीलाई बुझाउनु पनि रहस्यमय देखिन्छ । सुर्खेतका एसपी राजेन्द्र भट्ट टेलिफोनमा बुझ्न खोज्दा आफूलाई पक्राउ परेको मिति ठाक्कै थाहा नभएको बताए । प्रहरीले थप अनुसन्धानका लागि भन्दै राजीनामा मिसिल लेख्ने लेखनदास अम्बरसिं कटुवाललाई समेत नियन्त्रणमा लिएको छ ।

मुद्धाको प्रकृति नै फरक
जग्गा कारोबार (एजेन्ट) सन्तोष ठाकुर, लेखनदास अम्बरसिं कटुवाल र मालपोत कार्यालय सुर्खेतका नासु विश्वरुप साँवदका नाममा ठगी मुद्धा दर्ता गरिएको छ । जग्गाधनी सौगात रावतका बुवा धनबहादुर रावतले आफ्नो जग्गा थाहै नदिएर झुक्याएर अर्कै व्यक्तिका नाममा पास गरेर ठगी गरेपछि मुद्धा दर्ता गरेको बताए । जग्गा खरिदकर्ता गर्ने व्यक्तिको नाममा समेत मुद्धा आक्रर्षित हुन्छ । तर जग्गाधनीले घटनामा मुछिन आउने सबैलाई कारवाहीको भागिदार नबनाउँदा थप रहस्यमय बनेको छ ।

जग्गा धनीलाई थाहै नदिई जग्गा खरिद–विक्रि गर्नु सानो घटना होइन । यदि कर्मचारीको मिलेमतोमा जग्गा कारोबार गरेको खण्डमा जग्गा कारोबारको मुद्धा सरकारीवादी मुद्धा हुन्छ । सरकारी छाप, फाईल, महत्वपूर्ण सरकारी कागजातको दुरुपयोग गरेको खण्डमा उक्त कार्यमा संलग्न वडा कार्यालय, नापी कार्यालय हुँदै मालपोत कार्यालयका कर्मचारीसम्म कारवाहीको भागिदार हुन्छन् ।

जग्गाको मिसिल लेखनदासदेखि जग्गा पास गर्ने कार्यमा संलग्न नापी र मालपोत कार्यालयका कर्मचारी बिरुद्ध मुद्धा लाग्छ । घटना सत्य भएको खण्डमा मुद्धाको प्रकृति जालझेली र झुक्याइएको कार्यको मुद्धा सरकारवादी हुन्छ । यदि घटना प्रमाणित भएको खण्डमा जग्गाको पासका लागि सिफारिस दिने वडा अध्यक्ष, वडा सचिव लगायत नापीका विभिन्न फाँटका कर्मचारी, मालपोत कार्यालयका विभिन्न फाँटका कर्मचारी छानविनमा तानिन्छन् । लेखनदास, जनप्रतिनिधिदेखि कारोबारमा संलग्न कर्मचारी कारबाहीमा पर्छन् । तर जग्गा बिक्रीकर्ता सौगात रावतले ठगी मुद्धामा मालपोतका कर्मचारी, मिसिल लेखनदास र जग्गा कारोबारी सन्तोष ठाकुरलाई ठगीको मुद्धा दायर गरेका छन् ।
जग्गा नामसारी गर्ने कार्यको मुख्य एजेन्ट वीरेन्द्रनगर–२ भुरेली बस्ने ३२ वर्षीय सन्तोष ठाकुरको खोजी भैरहेको छ । राजिनामा लिखत तयार गर्ने लेखनदास अम्बरसिंह कटुवाल र नासु विश्वरुप साँवत प्रहरी हिरासतमा छन् । सरकारी कागजात दुरुपयोग भएको प्रमाणित भएमा मालपोत कार्यालयका तत्कालिन प्रमुख लक्ष्मी शाही, कम्प्यूटर फाँटका सुनिल राना, रजिष्टे्शन फाँटका कृष्ण थापा र दिपेन्द्र श्रेष्ठ, मोठ जग्गा नामसारी शाखाका तिर्थ महतरा, सिलका ओम बहादुर गौतमदेखि नापी कार्यालयका कर्मचारी र कार्यालय प्रमुख, सिफारिस कर्ता वडा सचिवदेखि वडा अध्यक्षसम्म कारवाहीको भागिदार हुनेछन् ।

तपाईको प्रतिक्रिया