नेकपाका दुबै समूह पर्ख र हेरको नीतिमा, कर्णालीमा दुबै समूहले तत्काल कमिटी पुनर्गठन नगर्ने

सुर्खेत, ४ माघ ।

नेपाल कम्युष्टि पार्टी (नेकपा) दुई धारमा विभाजन भएपछि देशैभर एकले अर्कालाई जिम्मेवारीबाट हटाउने र आफ्ना नेतालाई जिम्मेवारी दिइरहेका छन् । तर कर्णाली प्रदेशमा भने प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह पर्ख र हेरको नीति अवलम्बन गरिरहेका छन् । पार्टी दुई खेमामा विभाजन भएसँगै केन्द्रदेखि वडातह सम्मका कमिटीहरुमा दुई धार छन् ।

कर्णाली प्रदेशमा भने प्रदेश, जिल्ला, स्थानीय तह र वडा कमिटीमा एकले अर्कालाई कारबाही गर्ने र नयाँ जिम्मेवारी दिने काम भएको छैन । प्रदेशमा केही जिल्ला अध्यक्ष तथा सचिवहरु एउटै समूहका छन् । तर सिंगो कमिटी नै एक छैन । तर पनि दुबै समूहले केन्द्रको सिको गर्दै कमिटीमा रहेकालाई कारबाही गर्ने र पुर्नगठन गरेका छैनन् । नेकपामा अहिले दुबै समूहले आफुलाई नै आधिकारिक भनिरहेका छन् । पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगमा मुद्दा विचाराधिन नै छ । आयोगले कुन समूहलाई आधिकारिकता दिन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन । ‘को–नेता कुन समूहमा छन् भन्ने प्रष्ट भइसकेको छ, तर पद पाएमा नेता नै अर्काे समूहमा जानसक्ने सम्भावन छ’ नेकपाका कर्णाली प्रदेश कमिटीका एक सदस्यले भने, ‘आयोगको निर्णय आएपछि मात्रै पार्टी कमिटीहरु पुर्नगठन हुन्छन् ।’ ति नेताका अनुसार शक्तिशाली नेताहरुले समूह फेरवदल गर्नसक्ने भन्दै दुबै समूहले कमिटी पुर्नगठनमा हतार नगरेका हुन् । दाहाल–नेपाल पक्षिय ति नेताका अनुसार नेता तानातानमा पर्नसक्ने भन्दै कमिटी पुर्नगठनमा ढिलाइ भएको हो । ‘उहाँहरु (ओली पक्ष) ले कमिटी पुर्नगठन गरेको खण्डमा हामी पनि कमिटी पुर्नगठन गर्न तयार छौँ’ ति नेताले भने, ‘तर आयोगको निर्णय नआउँदासम्म हतार गर्नुपर्ने अवस्था छैन ।’ दाहाल–नेपाल समूहले पूर्वमाओवादी र पूर्वएमाले समूहबाट आएकालाई मिलाएर कमिटीको जिम्मेवारी बाँडफाँड गर्ने तयारी गरेको छ । दाहाल–नेपाल समूहमा केही जिल्ला नेतृत्व साविककै कायम रहन देखिएको छ ।

पूर्वमाओवादी र एमालेको माधव नेपाल समूहका नेताहरु एक ठाउँमा उभिएका जिल्लामा जिल्ला नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्था छैन । यस्तै ओली समूहले आफूहरु नै आधिकारिक नेकपा भएको भन्दै पहिलेदेखि नै आफ्नो समूहका नेतालाई पहिले जिम्मेवारी दिने र रिक्त रहेका ठाउँमा पूर्वमाओवादी तथा नेपाल समूहकाबाट आएकाहरुलाई प्राथमिकता दिने तयारी गरेको छ । ‘हामी नै आधिकारिक नेकपा हो, तर केही व्यक्तिहरुले पार्टी छोडेर गएका छन्’ ओली समूहका एक नेता भन्छन्, ‘जिम्मेवारी छोड्नेहरुको ठाँउमा नयाँ साथीहरुलाई जिम्मेवारी दिइन्छ ।’ आधिकारिकता घोषणा गरेपछि धेरै नेताहरु आफ्नो समूहमा आउने भन्दै अहिले नै कमिटी पुर्नगठन उपयुक्त नभएको ति नेताको तर्क छ । ‘अदालतले आधिकारिकता घोषणा गरेपछि सबै नेता कार्यकर्ता हाम्रो समूहमा आउँछन्’ ति नेताले भने, ‘सबै साथीहरुलाई मिलाएर लानुपर्छ, अहिले नै कमिटी पुर्नगठन गर्न हतार छैन ।’

६ जिल्लामा दाहाल–नेपाल समूहको पुरानै नेतृत्व

कर्णाली प्रदेशका दश जिल्ला मध्ये ६ जिल्लामा दाहाल–नेपाल समूहको पुरानै नेतृत्व कायम रहने भएको छ । सुर्खेत, रुकुमपश्चिम, जाजरकोट, हुम्ला, मुगु र जुम्लामा जिल्ला अध्यक्ष र सचिव दाहाल–नेपाल पक्षमा लागेका छन् । ति जिल्लाहरुमा जिल्ला अध्यक्ष र सचिव परिवर्तन नहुने भएका छन् । सुर्खेतमा दाहाल–नेपाल समूहका धु्रवकुमार शाही, रुकुमपश्चिममा गोपाल शर्मा, जाजरकोटमा ढकवीर राना, हुम्लामा लालकेशर जैसी, मुगुमा सुरवीर बुढा र जुम्लामा विरबहादुर कुँवर अध्यक्ष छन् । त्यस्तै सुर्खेतमा दाहाल–नेपाल समूका कृष्ण जिसी, रुकुमपश्चिममा विमल पुन, जाजरकोटमा करवीर शाही, हुम्लामा दल रावल, मुगुमा धर्मजित शाही र जुम्लामा तिर्थबहादुर बुढा सचिव छन् । ति जिल्लामा जिल्ला कमिटमा अन्य सदस्यहरु मात्र थपघट हुनेछन् । बाँकी चार जिल्लामा भने यो समूहले जिल्ला नेतृत्व परिपूर्ति गर्नुपर्ने छ । सल्यान, कालिकोट, दैलेख र डोल्पामा भने दाहाल–नेपाल समूहले नेतृत्व चयन गर्नुपर्ने छ । त्यस्तै ओली समूहले सुर्खेत, कालिकोट, रुकुमपश्चिम, जाजरकोट, हुम्ला, मुगु र जुम्लामा जिल्ला अध्यक्ष र सचिव दुबै पद चयन गर्नुपर्ने छ । यस्तै दैलेख, डोल्पा र सल्यानमा जिल्ला कमिटी सचिव चयन गर्नुपर्ने छ ।

मुगुमा ओली समूहको ‘जिल्ला टिम’

ओली समूहले मुगुमा जिल्ला टिम गठन गरेको छ । ओली समूहले डम्बर रावलको नेतृत्वमा १३ सदस्यीय जिल्ला टिम गठन गरेको हो । तर उक्त कमिटीलाई भने जिल्ला कमिटी नभनेर जिल्ला टिम भनेर नाम दिइएको छ । जसमा डम्बर रावल संयोजक छन् । त्यस्तै लालबहादुर रावत, डिलबहादुर मल्ल, रुपबहादुर बुढा, परेगराज चौलागाईं, हस्तबहादुर शाही, डबल रोकाय, बलचन्द विक, अशोक लाल बुमी, छिरीङ पुटिक लामा, लालबहादुर मल्ल, बालकृष्ण लावड र लक्ष्मी चौलागाईं सदस्य तोकिएको छ । मुगुमा विभाजन अघिका जिल्ला अध्यक्ष र सचिव दुबै दाहाल–नेपाल समूहमा लागेका छन् । जिल्लामा पार्टीका कामकारबाही गर्ने नेतृत्व नभएपछि जिल्ला टिम गठन गरिएको हो ।

पुनर्गठनमा हतार छैन ः कँडेल

नेकपाको ओली समूहले भने तत्काल प्रदेशमा कुनै कमिटीहरु पुर्नगठन नगर्ने जनाएको छ । ‘यो प्रचण्डसहितको पार्टी हो, अहिले नै कमिटीहरु गठन गर्नुपर्ने अवस्था छैन’ पूर्वमन्त्री एवम् नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कँडेलले भने, ‘समय र परिस्थिति अनुकुल सबै कमिटीहरु पुर्नगठन हुन्छन् ।’ अहिले पुष्पकमल दाहाल सहितको नेकपा भएका कारण तत्काल कमिटीहरु पुर्नगठन आवश्यक नरहेको उनले बताए । ‘हामीलाई उहाँहरु (दाहाल–नेपाल समूह) जस्तो पार्टीका कमिटीहरु पुर्नगठन गर्नु हतार छैन’ उनले थपे, ‘नेता अहिले पनि लरबराइ रहेका छन्, यस्तो अवस्थामा कमिटीहरु पुर्नगठन गर्नु उपयुक्त हुँदैन ।’ तर केही जिल्लाहरुमा भने पार्टीको काम कारबाहीलाई नियमित गर्नेगरी जिल्ला टिम गठन गरिएको कँडेलले जनाए ।

तत्काल कमिटी गठन गर्दैनौं ः शर्मा

यस्तै दाहाल–नेपाल समूहले पनि कर्णालीमा तत्काल पार्टी कमिटीहरु पुर्नगठन नगर्ने जनाएको छ । ‘सबै जिल्लामा हाम्रो पक्षको नेतृत्व छ’ नेकपा कर्णालीका सचिव मायाप्रसाद शर्माले भने, ‘तत्काललाई साविककै जिल्ला नेतृत्वले नै पार्टीका नियमित काम गर्छ ।’ तत्काल जिल्ला कमिटी पुर्नगठन नगर्ने तर अध्यक्ष भएका जिल्लामा अध्यक्ष र सचिव भएका जिल्लामा सचिवले नै पार्टीका नियमित गतिविधि सञ्चालन गर्ने उनले बताए । ‘प्राय सबै जिल्लामा नेतृत्व नै हामीसँग छ, हामी कुनै पनि जिल्लामा नेतृत्वविहीन छैनौँ’ उनले भने, ‘अध्यक्ष भएको जिल्लामा अध्यक्ष र सचिव भएको जिल्लामा सचिवले नै पार्टी चलाउनु हुन्छ ।’

तपाईको प्रतिक्रिया