‘ओढारमा बास बसेर पनि जिम्मेवारी पूरा गरेँ’

हरेक पेशा र व्यवसाय अनुसार व्यक्तिले निर्वाह गर्ने भूमिका फरक–फरक हुन्छ । तर पाएको जिम्मेवारी पुरा गर्न पेशाअनुसार मेहन र परिश्रम गर्नुपर्छ । हरेक पेशामा आ–आफ्नै चुनौतीहरु आउँछन् । ति चुनौतीको सामना गरेर जिम्मेवारी पुरा गर्नु नै व्यक्तिको महानता हो । त्यस्तै कठिन समय र परिस्थितिसँग जुध्ने क्षमतावान र इमान्दार एक राष्ट्रसेवक कर्मचारी हुन् विनोद पराजुली । निजामति सेवामा पुगेपछि उनले केही रोचक तर निकै कष्टपूर्ण क्षणमा जीवनको बाजी थापेर जिम्मेवारी पुरा गरेका छन् । डोल्पाको शे–फोक्सुन्डो तालको गहिराइ नाप्दा होस् वा दार्चुला र धादिङमा मौसमी जलवायु केन्द्र स्थापना गर्दा उनले निकै कठिन समयमा सामना गरे । प्रस्तुत छ, उनै पराजुलीले कर्मचारीको जिम्मेवारी पुरा गर्दाका अनुभव र जीवन भोगाइमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश ः

सुखद् बाल्यकाल

विनोद पराजुलीको जन्म २०४१ साल पुस १ गते भएको हो । उनी बुवा तल्सीप्रसाद र आमा रमादेवी पुराजुलीका कान्छा सन्तान हुन् । उनको बाल्यकाल गोरखाको ग्रामीण बस्तीमा वित्यो । शिरान्चोक गाउँपापालिका–३ हर्नीको कृषक परिवारमा हुर्किए । कहिले गोठालो त कहिले घाँस दाउरा गर्थे । घरपरिवारलाई सघाउन मेलापात गर्नैपथ्र्याे । स्कुल छुट्टी हुँदा दिनभर र अन्य दिनमा साँझ विहान खेतीपातीको काम गर्थे । घरको कान्छो छोरा अभिभावकले जति माया गर्थे त्यतिकै काम पनि लगाउँथे । तर पनि बाल्यकाल सुखद् थियो । उनले सानोमा अफ्ठेरो र अभाव कहिलै भोग्नु परेन ।

गोल्डमेडलिष्ट बन्दाको खुशी

विनोद माध्यमिक तहमा मध्यम स्तरका विद्यार्थी हुन् । माध्यमिक तहसम्म कहिलेकाँही दोस्रो र तेस्रोसम्म हुन्थे । तर प्रथम कहिल्यै भएनन् । स्नातक र स्नातकोत्तर तहमा भने पढाइमा अब्बल भए । जलवायु विज्ञानमा स्नातकोत्तर गरेका उनी क्याम्पस प्रथम भए । २०६८ सालमा तत्कालीन राष्ट्रपति रामवरण यादवको हातबाट गोल्डमेडलिष्टको रुपमा सम्मानित भए । जुन समय अध्ययनको क्रममा सबैभन्दा खुशी मिलेको क्षण हो । गाउँकै तत्कालीन सरस्वती निम्न प्राथमिक विद्यालयबाट कखरा सुरु गरेका पुराजुलीले २०५८ सालमा माध्यमिक तहको पढाइ पुरा गरे । उनले कक्षा ४ देखि १० सम्मको जनता माध्यमिक विद्यालय आँपपिपलबाट पुरा गरेका हुन् । एसएलसीपछि काठमाडौँबाट उच्च शिक्षा अध्ययन गरे । उबेला एसएलसीमा राम्रो अंक ल्याउने विद्यार्थीले विज्ञान विषय पढ्नुपर्छ भन्ने मान्यता थियो । उनले पनि विज्ञान विषयमै उच्च शिक्षा हाँसिल गरे । त्रिचन्द्र क्याम्पसबाट आइएसी र वीएसी पुरा गरे । त्रिभुवन विश्वविद्यालयको विज्ञान संकाय अन्तरगत जल तथा मौसम विज्ञान विभागबाट जलवायु विषयमा स्नातकोत्तर अध्ययन पुरा गरेका छन् ।

अनि अमेरिकाको यात्रा रोकियो


स्नातकोत्तर तहको अध्ययन सकेपछि पराजुली विदेश जाने सोचमा थिए । अमेरिका पुगेर पीएचडी गर्न उद्देश्यले जीआई (पीएचडी गर्नुभन्दा पहिले पढ्नुपर्ने विषय) अध्ययन गरे । तर अमेरिकामा पुगेर पीएचडी गर्ने धोको पुरा भएन । जीआईको अध्ययन गरे । परीक्षा दिएका थिए । तर रिजल्ट नआउँदै उनी निजामति कर्मचारी बन्ने अवसर प्राप्त गरे । लोकसेवा आयोगले २०६७ सालमा जल तथा मौसम विज्ञानमा लोकसेवाले कर्मचारी माग्यो । दुबै पदमा परीक्षा दिए र दुबै पदमा उत्तिर्ण भए । तर रिजल्ट पहिले आएकाले जल विज्ञानविद् भएर निजामति सेवा सुरु गरे । जल तथा मौसम विज्ञान कार्यालय काठमाडौँबाट निजामति क्षेत्रमा प्रवेश गरेका पुराजुलीले आठ बर्ष काठमाडौँमै विताए ।
२०७६ देखि २०७७ कात्तिकदेखि सुर्खेतमा विताए । २०७६ सालमा सुर्खेत आउँदा तत्कालिन क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सरुवा भइसकेको थियो । २०७५ साल असोजको मन्त्रीपरिषद बैठकले सुर्खेतको हावापानी कार्यालय र नेपालगञ्जको कर्णालीबेशीन कार्यालय खारेज गरेको थियो । सरकारले सुर्खेत र नेपालगञ्जको कार्यालयलाई मर्ज गरेर कोहलपुरमा जल तथा विज्ञान मौसम विज्ञान कार्यालय स्थापना गर्ने निधो गरेको थियो । तर सहजताका कारण करिव दुईवर्ष सुर्खेतकै कार्यालयबाट सेवा प्रवाह भयो । गएको कात्तिक १ गतेदेखि कर्णाली, बबइ र महाकाली हेर्नगरी कोहलपुरमा जल तथा विज्ञान मौसम विज्ञान कार्यालय स्थापना गरिएको छ । पराजुलीले सोही कार्यालयको नेतृत्व गर्दै आएका छन् ।

जुनदिन उनी रातमा अफिस गए…

२०७१ सालभन्दा अघि नेपालमा बाढी पूर्वानुमानको काम भएको थिएन । तर बर्षेनी बाढीका कारण धनजनको ठूलो क्षति हुन्थ्यो । पराजुलीलाई बाढीको पूर्वानुमान गरेर धनजनको क्षति न्यूनिकरण गर्ने सकिन्छ भन्ने लागेको थियो । तर उनी एक्लैले चाहेर त्यो सम्भव थिएन । बाढी पूर्वानुमान शाखामा कार्यरत रहँदा ०७१ देखि केही साथीहरु मिलेर नेपालमै बाढीको पूर्वानुमानको अध्ययन गरे । पराजुलीले नेतृत्व गरे । बाढीको पूर्वानुमान अध्ययनमा सफल भए । तर रातीमा बाढी आउन सक्ने भएका कारण २४ घण्टे सेवा सुरु गर्नुपर्छ भन्ने लाग्यो । जुन कामको सुरुवात उनी आफैबाट गरे । २०७२ साल असार १ गते नेपालमा २४ घण्टे बाढी पूर्वानुमान सेवा सुरु भयो । पहिलोदिन अर्थात असार १ गते उनीे डिउटी गर्न रातमा अफिस गए । त्यस दिनदेखि नेपालमा तीन दिन सम्मको बाढीको पूर्वानुमान अध्ययन गरिदै आएको छ । सूचनालाई गाउँ स्तरसम्म पु¥याउन एसएमएस सेवादेखि अनलाइन सम्मका सञ्चारका माध्यमबाट जल तथा मौसम सम्बन्धीको सूचना दिइदै आएको छ ।

ज्यानको बाजी थापेको क्षण

समय सधै एकनासको हुँदैन । समयअनुसार हरेक पेशामा उतारचडाव आइ नै रहन्छ । तर पेशाअनुसार भोगाइ फरक हुन्छ । जागिरको दौरानमा पराजुलीले दुईपटक कठिन क्षण भोगेका छन् । चमेलिया नदीमा बाढीको पूर्वानुमान गर्नु थियो । जुन समुहको नेतृत्व गर्दै उनी दार्चुला पुगे । तर बाढीको पूर्वानुमानका लागि केन्द्र राख्न भनिएको ठाउँमा पुग्न सहज थिएन । त्यही केन्द्र स्थापना गर्दा उनले निकै कठिन समय गुजारे । गाउँदेखि धेरै टाढा केन्द्र स्थापना गर्नु थियो । त्यही समय उनले दुईदिन जंगलमा बास बसे । टेन्ट विछ्याएर बास बसेका थिए । तर हावाले टेन्ट उडाइ दियो । त्यसपछि उनीहरु ओढारमा पुगे । जंगलमा बाघ र भालुको डर थियो । भालुको आक्रमणबाट बच्न दुई रात ओढारमै रात विताए । त्यस्तै २०७५ सालमा डोल्पाको शे–फोक्सुन्डो तालको गहिराइ नाप्दा पनि उस्तै कठिन समय विताउनु प¥यो । विहान ६ बजे नै तालमा पसेको पराजुलीसहितको अध्ययन टोली राती आठ बजेसम्म तालमै रहनु प¥यो । हावाको बेगका कारण १२ बजेदेखि राती ८ बजेसम्म तालमै बस्नु प¥यो । त्यो दिन उनलाई बाँचेर फर्कन्छु भन्ने लागेको थिएन । त्यस्तै धादिङमा मौसमी केन्द्र राख्दा पनि ओढारमा बसेर समय विताउनु परेको थियो । जागिरकै सिलसिलमा पराजुलीले करिव १० वर्षको अवधिमा नेपालको ७१ जिल्लामा पुगिसकेको छन् । पूर्वको ताप्लेजुङदेखि, सोलुखुम्बुहँदै पश्चिमको दार्चुलासम्म पुगे । हाइड्रोपावर क्षेत्रमा विभिन्न नदीको जलबायु सम्बन्धी अध्ययन गरे । अवकासपछि गाउँमै पुगेर समाज सेवामा रमाउने उनको चाहना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार