झाडापखालाबाट जोगाउन ‘रोटा खोप’ लगाइँदै

अमर सुनार ।

दैलेख, ४ माघ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्लाभरका एक वर्ष मुनिका ६ हजार दुई सय बालबालिकालाई पहिलो पटक रोटा भाइरस बिरुद्धको खोप दिने तयारी गरेको छ । झाडापखालाबाट जोगाउन जन्मेको ६ देखि १० हप्ता उमेर समूहका बालबालिकालाई दुई पटक खुवाउने योजना बनाइएको खोप अधिकृत थीरप्रसाद रेग्मीले बताए ।

यो खोप प्रत्येक पटक डेढ मिलिलिटरीका दरले झोल औषधि हो । बीसीजी, डीपीडी, पोलियो, पीसीभी, दादुरा लगाए जसरी बाह्रांै खोपको रुपमा खुवाइने रोटा भाइरस बिरुद्धको औषधि जिल्लाका २ सय ५२ वटा नियमित खोप केन्द्रमा पठाई सकिएको छ ।

जिल्लाका ११ वटै स्थानीय तहका ७ हजार बालबालिकालाई नियमित खोप केन्द्रमा दिइने रोटा भाइरस बिरुद्धको खोप लगाउने विधि र यसको फाईदा विषयमा स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए । रोटा भाइरस बिरुद्धको खोप र कोरोना संक्रमणको त्रासले प्रभावित भएको नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा जिल्लाका ११ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई दुई चरणमा तालिम दिइएको जनाइएको छ ।

खोपको ढुवानी तथा भण्डारण र खोप कार्यक्रम सञ्चालनको योजना गराउन पहिलो चरणमा पुस २६ गतेदेखि २८ गतेसम्म नारायण नगरपालिका, भगवतीमाई, नौमूले, महाबु र गुराँस गाउँपालिका माघ १ देखि ३ गतेसम्म दोश्रो चरणमा चामुण्डाबिन्द्रासैनी, डुंगेश्वर, आठबीस, दुल्लू नगरपालिका, भैरबी गाउँपालिकाका स्वास्थ्य प्रमुखहरुको सहभागिता थियो ।

अघिल्लो वर्ष चैतको ११ गतेदेखि चार महिना लामो लकडाउन, त्यसपछिको निशेषधाज्ञाले दैलेखमा नियमित खोपको प्रगतिमा करिव ३० प्रतिशत कमी आएको खोप अधिकृत रेग्मीले जानकारी दिए । बालिबालिका लगाउनुपर्ने सबै खोप लगाउन पूर्ण खोप कार्यक्रम पनि भएको यस पटक तीन दिनको कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

पहाडी भूभाग भए पनि सबै ठाउँमा यातायात पहुँच पुगेको, सामाजिक चेतनाको स्तर पनि सकारात्मक रहेको र सेवा प्रवाहमा स्वास्थ्य संस्थाहरुको पहल पनि राम्रै रहेकोले दैलेखमा खोप कार्यक्रम प्रभावकारी रहेको वाटर एड प्रोजेक्टका श्रोत व्यक्ति बिशाल भण्डारीले बताए । वाटर एड प्रोजेक्टले नेपाल सरकारको परिवार स्वास्थ्य महाशाखा र कर्णाली प्रदेश सरकारको सरसफाई प्रवद्र्धन कार्यक्रमलाई नियमित खोप कार्यक्रम र सरसफाई सचेतना कार्यक्रमलाई सघाउदै आएको छ । यो तालिमले स्वास्थ्य संस्थाहरुलाई पूर्ण खोप योजना बनाउन नयाँ विधि र ज्ञान दिएको नौमूले गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भूपेन्द्र शाही अनुभूति सुनाए ।

बालबालिकालाई भ्यागुते रोग, धनुष्टङ्कार, क्षयरोग, पोलियो, दादुरा सरुवा रोगका विषाणु तथा जीवाणुको संक्रमणबाट जोगाउन र प्रतिरोधात्मक क्षमता बढाउन जन्मेदेखि १५ महिनाभित्र ७ पटक स्वास्थ्य संस्था पुगेर निशुल्क खोप लगाउन सकिने गरी नेपाल सरकारले नियमित खोप सञ्चालन गर्दै आएको छ । सुरुमा स्वास्थ्यमा बालबालिका जन्मने वित्तिकै बीसीजी, दोश्रो छ हप्ताको हुँदा पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेपाटाइटिस (पहिलो मात्रा), तेश्रो १० हप्ता भित्र पोलियो, पीसीभी, डीपीटी, हेपाटाइटिस (दोश्रो मात्रा), चौथो १४ हप्तामा पोलियो, एफआईपीभी, पीसीभी, हेपाटाइटिस (तेश्रो मात्रा), पाँचौं चाहिं नौ महिनाको हुँदा पीसीभी (तेश्रो) र दादुरा–रुवेला (पहिलो मात्रा), छैटौं खोप १२ महिनाको पुगेको बेला जापानिज इन्स्फलाइटिस र अन्तमा सातौं पटक स्वास्थ्य संस्थामा पुगेर दादुरा–रुवेलाको दोश्रो तथा अन्तिम खोप लगाइन्छ ।

यी सबै खोपहरु पूरा गरिएपछि मात्र बालबालिकाहरुको स्वास्थ्यमा प्रतिरोधात्मक क्षमता बढ्ने चिकित्सकहरुको भनाई छ । पहिलोमा खोप छुटेको भए दोश्रो पटक थप्न पनि सकिन्छ तर निर्धारिता समयमा खोप छुटे स्वास्थ्यमा प्रतिकुलता आउने भएकोले खोपको मात्र पूरा गर्नुपर्ने दैलेख अस्पतालका डा. जीना सापकोटाको सुझाव छ ।

तपाईको प्रतिक्रिया