माग्दा परिवारले दिएनन् अनि भागेर विवाह गरे

जीवन पनि रथ जस्तै हो । रथ चल्न दुई पांग्रा चाहिन्छ । जीवन चलाउन पनि जीवन साथीको आवश्यकता हुन्छ । दुई पांग्राले एकै साथ रथलाई गुडाए जस्तै बलवीर सुनार र शुकला विश्वकर्माको जीवन पनि सँगसँगै गुडिरहेको छ । जीवन साथीको सहाराविना जीवन अधुरो हुन्छ । एक्लै बिताएको जीवनभन्दा जीवनसाथीसँग बिताएको जीवन कयौं गुणा फरक हुन्छ । यस्तै फरक जीवन जिउने अविलाशामा बलवीर पनि जीवनसाथीको खोजीमा थिए । पढेलेखेकी र आफुलाई बुझ्ने जीवनसाथीको खोजीमा रहेका बलवीरले खोजे र रोजेजस्तै जीवनसाथी पनि पाए ।

बुवाले नै केटी हेरिदिन थालेका थिए

बलवीर सुनार २३ वर्षका थिए । जागिर र पढाइको शिलशिलामा बिहेको लागि केटीतिर ध्यान गएन । तर उनका बुबाले भने गाउँमा केटी खोज्न थालिसकेका थिए । बुबाले केटी धेरै हेर्न थालेपछि उनले पनि अब बिहे गर्ने उमेर भएछ क्यारे भन्ने सोचे । उनका भाइबहिनीको उनकोभन्दा पहिले विहे भइसकेकोले पनि उनका बुबाले अब छोराले विहे गर्दैन भन्ने सोचे । त्यतिबेलाको समयमा सानै उमेरमा विहे गर्ने चलन भएकाले छोरो २३ वर्ष पुगिसक्यो अब विहे गर्दैन भन्ने कुराले उनको बुबालाई सताएका कारण पनि घरबाट खर काट्न गएका उनका बुबा केटी हेरेर आएँ भन्न घरमा आइपुग्थे ।

बुबाको बुहारी ल्याउने सपना साकार पार्नका लागि उनले आफ्नो चिनेको एकजना दाईसँग बिहे गर्नको लागि केटी खोज्न आग्रह गरे । उनलाई फेरि पढेलेखेकी केटी चाहिएको थियो । त्यस समयमा दलित समुदायबाट धेरै पढेलेखेको केटी पाउन कठिन नै थियो । उनले चिनेको दाइले बर्दियामा एकजना केटी छ भनेर देखाउन लगे । उनी हेर्न गए र केटीको बुबा आमासँग कुरा पनि गरे । तर, केटीका बुबाआमाले दैलेख टाढा हुन्छ छोरी दिन्नौं भनेपछि उनी रित्तो हात घर फर्किए । उनी हेर्न गएको केटी अरु कोही नभएर शुकला विश्वकर्मा थिइन् ।

अनि शुकलाले ठेगाना दिइन्…

बलवीर घर फर्कदा शुकलाले कपीमा आफ्नो घरको ठेगाना लेखेर दिएकी थिइन् । सुनारले हार भने मानेका थिएनन् । जसरी पनि शुकलालाई नै विहे गर्ने हो भन्ने मनमा अठोठ लिइ सकेका थिए । शुकला पढेलेखेकी थिइन् । त्यति बेला शुकलाले एसएलसी दिएकी थिइन् ।
शुकलाले लेखेर दिएको ठेगानाको अक्षरले सुनारलाई मोहित बनायो । उनी दैलेखमा अफिस जान भनेर हिँडेका थिए । आधिबाटोमा पुगेपछि गोजीबाट एउटा कागज निकालेर हेरे । जसमा थियो शुकलाले लेखेर दिएको आफ्नो घरको ठेगाना । उक्त ठेगाना लेखिएको अक्षरले बलवीरलाई यति मोहिन बनायो कि उनी अफिस जान छोडेर आधि बाटोबाटै बर्दिया पुगे । शुकलालाई विवाहका लागि फकाउन । शुकलालाई उनले खुब फकाए । शुकला पनि संस्थामा काम गर्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । बाटोमा नै सुनारले शुकलालाई फकाएपछि शुकला सुनारसँग विवाह गर्न तयार भइन् । उनीहरूले २०५४ सालमा भागी विवाह गरे ।

छोरी र बुहारी हुँदाको अनुभव

भागेर विवाह गरेपछि केही समय सुकलासँग माइती रिसाए । तर बाबुआमाको मन न हो, आफ्ना सन्तानसँग धेरै समय रिसाएर बस्न सक्दैनन् । शुकलाका बाबुआमाले पनि शुकलालाई माफ गरिदिए । तराईमा बसेकी शुकला पहाडमा विहे गरेर आउँदा सुरुका दिनमा उनलाई निकै कठिन भयो । उनले छोरी र बुहारी हुँदाको धेरै फरक हुने अनुभव पनि लिइन् । पाँच भाइबहिनी मध्ये घरकी कान्छी छोरी सबैको माया ममतामा हुर्किएकी शुकलालाई घरकी जेठी बुहारी भएर जिम्मेवारी सम्माल्न सुरुमा गाह्रो नै भयो ।

उनलाई सबैभन्दा घरको काममा पानी लिन जाँदा गाह्रो लाग्ने गथ्र्यो । घरदेखि आधा घण्टा ओरालो हिँडेर पानी लिन जानुपर्ने आउँदा उकालो हिँडेर आउनुपर्ने हुँदा पानी लिन जाँदा शुकला कति पटक त रोएकी पनि थिइन् । विवाहपछिका दिनमा उनी घरमा धेरै समय बसिनन् । उनले विहेपछि सीएमए पढिन् । एचए पनि पढिन् । र लोकसेवाबाट नाम पनि निकालिन् । नाम निकालेपछि उनले सिम्ताको आग्रीगाउँ स्वास्थ्यचौकीमा अहेबको रूपमा काम गरिन् । अहिले भने उनी मैनतडाको हेल्थपोष्टमा अहेवको रुपमा काम गर्छिन् ।


आमाले छोड्दाको पीडा

बलवीर ६ वर्षको थिए । घर राम्रैसँग चलेको थियो । दुई दम्पत्तीको साथमा एक्लो सन्तानको रूपमा रहेका बलवीर सुनारको परिवार सुखीसाथ जीवन बिताइरहेको थियो । एकदिन अचानक सुनारका बुबाले कान्छी आमा ल्याएपछि सुनारको जीवनमा केही समय त अँध्यारो नै भयो । परिस्थिति यस्तो आयो, सुनार कि त आमासँग बस्नुपर्ने भयो कि त बाबुसँग बस्नुपर्ने भयो । बाबुआमा मध्ये एउटालाई रोज्नुपर्ने अवस्थामा सुनारले बुबालाई नै रोजे । किनकी उनलाई पढ्न लेख्न र उनको हरेक आवश्यकता पूरा बुबासँग बस्दा सहज हुने भएकाले उनी बुबासँग नै बस्ने निर्णय गरे । जुन समयमा बाबुआमा दुवैको मायाको आवश्यकता थियो, त्यही उमेरमा बाध्यताले उनलाई आमाको साथ छोडेर बुबासँग बस्नुप¥यो । बुबाले कान्छी आमा ल्याए पनि सुनारलाई कान्छी आमाले कहिल्यै आमाले गर्ने मायाको महसुसको कमी हुन भने दिइनन् । उनले बाबुआमा दुवैको माया उत्तिकै पाए ।

बाल्यकाल

पिता गोपी सुनार र माता आइती सुनारको कोखबाट २०३१ सालमा डाँडापराजुल दैलेखमा जन्मिएका बलवीर सुनारको बाल्यकाल केही दुःख अनि केही सुखसँग बित्यो । अरुले बिताएको बाल्यकाल जस्तो सुखमय भने उनको बाल्यकाल वितेन । खेल्ने रमाउने उमेरमा बाबुआमासँग अलग भएर बस्नु पर्दाको पीडा उनलाई मात्र थाहा छ । उनी १० वर्षको हुँदा उनकी कान्छी आमा जम्मा १६ वर्षकी थिइन् । त्यतिबेला उनका बुबाले सुन बनाउने काम गर्थे । उनले बुबाको साथ कहिल्यै छोडेनन् । बाल्यकालमा कान्छी आमा पाउँदा र आफ्नी आमा आफूबाट टाढा बस्दाको पीडाले पनि उनको पढाइ त्यति राम्रो थिएन । आफू एक्लो छोरा भए पनि कान्छी आमाबाट ६ जना भाइबहिनी जन्मिएपछि सुनारको दिन घरमा भाइबहिनीहरूको रेखदेख र घरको काममा नै बित्यो । उनले कक्षा पाँचसम्म डाँडापराजुलकै स्कुलमा पढे । कक्षा ६ देखि एसएलसी पास भने अवलपराजुल दैलेखदेखि गरे । एसएलसी पास गरेपछि उनी उच्च शिक्षा पढ्न सुर्खेत आए । सुर्खेत आएर पढ्ने अवधी उनको एकवर्ष मात्र थियो । उनका बुबाले सुर्खेत बसेर एक वर्षमा जागिर नखाए पढाउन नसक्ने भनेका कारण सुनारले दिनरात नभनी मेहेनत गरेर १० महिने सीएमए पढे । १० महिने कोर्ष सकेर उनले स्थायी जागिर नै खाए । उनको बुबाले दिएको एकवर्षको म्याद नसकिदैं उनले बुबाको हातमा जागिरको लागि नियुक्ति थमाइ दिए । उनले भने, ‘बुबाले कान्छी आमा ल्याए पनि मलाइ भने कहिल्यै विभेद गर्नुभएन, सधैं अगाडि बढ्नको लागि साथ र हौसला दिइराख्नुभयो त्यसैले त म सफल भएँ ।’

उनले सिएमए पढेर सके पछि जागिरको शिलशिला दैलेख देखि सुरु गरे । उनले १० वर्षसम्म विभिन्न जिल्लाहरूमा रहेर काम गरे । जागिरको शिलशिलामा पनि उनले पढाइ भने छोडेनन् । उनले पोल्टिकल साइन्स र हेल्थ एजुकेशनममा डिग्री पास पनि गरे । १० वर्ष जागिर गरेपछि उनले फेरि लोकसेवाबाट नाम निकाले र जिल्ला शिक्षा कार्यालय सुर्खेतमा तीन क्षेत्रको विद्यालय निरीक्षिकको रूपमा पनि काम गरे । अहिले उनी सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख हुन् । यस्तै पिता लालवीर विश्वकर्मा र माता वली विश्वकर्माको कोखबाट २०३४ सालमा सल्यानमा जन्मिएकी शुकलाको पाँच वर्षपछिको बाल्यकाल भारतमा बित्यो । उनको बुबा भारतमा काम गर्ने भएकाले सबै परिवारसहित भारतमा गए । शुकलाले कक्षा १ देखि कक्षा ६ सम्म भारतमा नै पढिन् । कक्षा सातबाट भने उनको परिवार बर्दियामा आएकाले बर्दिया ककौरा त्रिभुवन माविबाट एसएलसी पास गरिन् ।

एकअर्काेको प्रशंसा

बलवीरलाई सरसफाइमा धेरै ध्यान दिने शुकलाको बानी मन पर्छ । उनी भन्छन्, ‘उनको सरसफाइमा ध्यान दिने बानी र खानपिनमा धेरै केयर गर्ने, कसैसँग पनि ठूलो स्वरले नबोल्ने बानी मनपर्छ ।’ त्यस्तै शुकलालाई पनि बलवीरको केही काम गर्छु भनेपछि त्यो काम गरेरै छोड्ने बानी मनपर्ने गर्छ । शुकलालाई कहिलेकाँही केही काम गर्नुस्भन्दा काम अलि समयपछि मात्र गर्ने बानी भने बलवीरले हटाइ दिए हुन्थ्यो जस्तो लाग्छ ।

जन्मदिनमा सरप्राइज

यो जोडी एकअर्काको जन्मदिन र विवाह गरेको दिन आउँदा पहिला नमनाए पनि अहिले भने छोराहरूले मनाइ दिने र सरप्राइज दिने गर्छन् । परिवारमा बसेर रमाइलो गर्ने गर्छन् । जो जोडी दुवै जना काममा व्यस्त हुने भएकाले घुम्न गएका छैनन् । तर, दसैं र तिहार बिदामा भने दसैंमा घरमा र तिहारमा माइतीमा गएर रमाइलो गर्ने गर्छन् । उनीहरूका अनुसार दाम्पत्य सम्बन्ध दिगो बनाउनको लागि एकअर्काेबीच विश्वास चाहिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार