‘बाल्यकालमै शिक्षक बन्ने योजना बुनेको थिएँ’

‘हुने विरुवाको चिल्लो पात’ भने झैं टिकाराम सुवेदी पनि बाल्यकालदेखि नै पढाइमा राम्रै थिए । गाउँमा जन्मिए पनि पढाइमा उनी मेहेनत गर्थे । गाउँमा मेलापात, घाँस र दाउरा गर्दै आफ्नो पढाइलाई अगाडी बढाएका सुवेदीले बाल्यकालदेखि नै धेरै पढेर शिक्षक बन्ने सपना बुनेका थिए । जो व्यक्ति निरन्तर रुपमा मेहेनत र परिश्रम गरेर अघि बढ्छ, त्यो व्यक्ति नै भविष्यमा सफल हुन्छ । सुवेदीले पनि बाल्यकालदेखि देखेको भविष्यको योजना सफल बनाए । उनी शिक्षक भएरै छोडे । अहिले उनी सुर्खेतको जनजागृती मावि दमारका प्रधानाध्यापक हुन् ।

रमाइलो बाल्यकाल

पिता दिपबहादुर सुवेदी र माता बालकुमारी सुवेदीको कोखबाट विस. २०२८ सालमा साविकको कुनाथरी पन्चायत हाल बराहताल गाउँपालिकाको वडा नम्बर ८ मा जन्मिएका टिकाराम सुवेदीको बाल्यकाल रमाइलोसँग वित्यो । बाल्यकालमा उनी पढाइसँगसँगै साथीहरुसँग खेल्न पनि खुब मन पराउथे । उनको स्कुलमा दुई महिनासम्म वर्खे विदा हुन्थ्यो । त्यो समयमा उनी साथीहरुसँग गाईगोठ बस्न जाने गर्थे । घरको कामसँगसँगै पढाइमा उनको बाल्यकाल वित्यो । निकै रमाइलो हुने गथ्र्यो साथीहरुसँग खेल्दा । उनी बाल्यकालमा गम्भीर स्वभावका थिए । धेरै नबोल्ने र बालेपछि भनेको कुरा हुनैपर्ने जिद्दी स्वभावका थिए ।

शिक्षा आर्जन

उनको पढाइ कुनाथरीको सरस्वती प्राविबाट सुरु भएको हो । उनले उक्त विद्यालयमा कक्षा १ देखि ३ सम्म पढे । पछि उनले जनज्योती मावि बड्ढीचोरमा कक्षा ६ र ७ पढे । कक्षा ८ देखि भने उनले अम्मरज्योती मावि नेवारेमा पढेका हुन् । उनले एसएलसी नेवारे स्कुलबाट नै उर्तिण गरेका हुन् । आइएडदेखि एमएडसम्मको पढाइ भने उनले वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा पढेका हुन् ।

गीत र संगितमा रुची

सुवेदी बाल्यकालदेखि नै गीत गाउने गर्थे । उनलाई नाचगान भनेपछि अरु केही चाहिदैन्थ्यो । गाउँघरमा हुने पुजाविवाहमा उनी पुगेकै हुन्छन् । अहिले पनि पुजाविवाह हुँदा गाउँमा उनलाई निम्तो भन्न कसैले पनि छुटाउँदैनन् । उनी कक्षा तीनमा पढ्दा पहिलो पटक स्कुलमा सरले उनलाई गीत प्रतियोगितामा भाग लिन लगाएका थिए । प्रतियोगितामा प्रथम भएर पाँच रुपैयाँ पुरस्कार पाउँदा उनी मक्ख परे । त्यसपछि झन् गीतसंगितमा उनको रुची बढ्दै गयो । सानैदेखि उनी रेडियोमा गीत सुनेर त्यस्तै शैलीमा गीत गुनगुनाउने गर्थे । रेडियोमा सुनेको गीत त्यस्तै गरी गाउने पनि गर्थे । गीतसंगितमा रुची पनि थियो र पढाइमा पनि । उनले संगितलाईभन्दा बढी समय पढाइमा दिए । उनले गीत गाएर धरै ठाउँमा प्रथम भएर पुरस्कारसमेत पाएका छन् । संगितको क्षेत्रमा लागेका उनी २०६४ सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका महासचिव भए । उनी प्रतिष्ठानको संस्थापक सदस्य पनि हुन् ।

जागिरको सुरुवात

विस २०४८ सालदेखि उनको जागिरको सिलसिला सुरु भयो । उनले सरस्वती मावि चेपाङबाट पढाउन सुरु गरेका हुन् । नेपाली विषय पढाउने सुवेदीले उक्त विद्यालयमा साढे दुईवर्ष पढाए । पछि उनी जनजागृती मावि दमारमा सरुवा भएर आए । २०५३ सालदेखि जनजागृती मावि दमारमा उनी संस्थापक प्रधानाध्यापक छन् । उनले उक्त विद्यालयका २४ वर्षदेखि निरन्तरण रुपमा अध्यापन गराउनुका साथै प्रधानाध्यापकको जिम्मेवारी पनि निर्वाह गर्दै आइरहेका छन् । उनको समाजसेवा गर्ने पनि रुची पनि छ । नेपाल रेडक्रस सोसाइटी कुनाथरीको सभापतिसमेत भएका थिए । उनी अहिले नेपाल शिक्षक संघ सुर्खेतका सचिव पनि हुन् ।

बाल्यकालको योजना

सुवेदीको परिवारका अन्य सदस्यहरु पनि शिक्षक नै भएकाले उनको बाल्यकालदेखि नै भविष्यमा शिक्षक नै बन्नुपर्छ भन्ने सोच बनि सकेको थियो । उनका दाईहरु शिक्षक थिए । घरको वातावरण नै शिक्षा भएपछि उनले अन्यक्षेत्र पनि छ भन्नेतिर कहिल्यै ध्यान दिएनन् । भविष्यमा म पनि शिक्षक नै बन्ने हो भन्ने योजना बनाइ सकेका थिए । त्यसैले पनि उनी शिक्षक पेशामा नै आवद्ध भए । उनले शिक्षण पेशामा लागेर हजारौं लाखौं विद्यार्थीको भविष्यलाई उज्यालोको बाटोतर्फ दोहो¥याएका छन् । उनलाई विद्यार्थीका अभिभावकले पनि धेरै माया गर्छन् । विद्यार्थीहरुसँग साथीको जस्तै व्यवहार गर्ने शिक्षक भएर पनि होला २४ वर्षदेखि एउटै विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीमा छन् ।

भावी योजना

उनको भविष्यको योजना भनेको समाजसेवा गर्ने हो । जागिरबाट रिटायर भएपछि जीवनको अन्त्यसम्म समाजसेवामा लाग्ने उनको योजना रहेको छ । हुन त उनले शिक्षण पेशामा लागेर पनि अहिले समाजसेवा नै गरिरहेका छन् । तर पनि जागिरभन्दा बाहिर रहेर अन्य क्षेत्रमासमेत उनको समाजसेवा गर्ने रहर छ । विद्यालयको हकमा भने उनी भन्छन्, ‘विद्यालयमा तीन वर्षे प्राविधिक शिक्षा पढाउने योजना रहेको छ ।’ विद्यालयको भौतिक निमार्ण भइरहेका छन् र आगामी दिनहरुमा पनि यस्ता काम गर्ने उनको योजना रहेको छ । विद्यार्थीलाई प्राविधिक शिक्षा पढाएर सटिफिकेट सँगसँगै नगदसमेत लिएर घर जाने व्यवस्था गर्ने उनको भविष्यको लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया