माघ पर्वमा रुपान्तरणको आवश्यकता

मानबहादुर चौधरी “पन्ना”
थारु कल्याण कारिणी सभा, सुर्खेतका सल्लाहकार

१.विषय प्रवेश :
नेपाल एउटा विविध भाषा संस्कृति रहनसहन भएको बहुजाति, बहुसाँस्कृतिक, बहुभाषिक मुलुक हो । हाल नेपालमा १२५ भाषा एवम् १२९ वटा जातजाति रहेको मुलुक भएकोले हरेक जातजातिको फरक फरक संस्कृतिहरु रहेका छन् । थारुहरु नेपालको तराई र भित्री तराई कञ्चनपुरदेखि झापासम्म २४ जिल्लामा बसोबास गरेको पाइन्छ । नेपालमा जनसंख्याका दृष्टिकाले थारु जाति चौथौ स्थानमा पर्दछ । वि.स.२०६८ को सरकारी तथ्याङ्कअनुसार ५.७७ प्रतिशत करिब १५,२९८७५ सङ्ख्याले थारु भाषा प्रयोग गर्दछन् भने सुर्खेतमा थारुहरुको जनसंख्या ६८९० रहेको छ । हरेक जातिको चाडपर्व,लवाइ खवाइ, बोली भाषा, संस्कार समग्र संस्कृतिमा नै भिन्नता हुन्छ ।

चाडपर्व मानव समाजलाई चौकस र चम्पन गराउँछ । साँस्कृतिक सम्पदामा थारुहरु अति नै सम्पन्न छन् । विविध जातजातिमध्ये थारु एउटा अलग जातिको रुपमा पहिचान दिने जाति हो । आफ्नै खालको भाषा, धर्म, कला, संस्कृति, सामाजिक रीतिरिवाज रहेका छन् । जस्तै, गुरही, फगुई, होरी, धुरिया गुरै,अष्टिम्किी, डस्या, डेवारी, समाचकेवा, जितिया पावैन आदि विविध चाडपर्वहरुमध्ये माघ एक महत्वपूर्ण महान पर्व हो । यस पर्वलाई थारुहरुले माघ, माघी, माघे सक्रान्ति, तिला सक्रान्ति, खिचरा समेत भनिन्छ । थारुहरुको सवभन्दा ठूलो पर्व भएकोले स्थान विशेषअनुसार फरक फरक ढङ्गले मनाउने गर्दछन् । यो पर्वलाई नयाँ वर्षको रुपमा, उन्मुक्ति दिवसको रुपमा, सद्भाव र मेलमिलापको रुपमा तथा नाचगान खुशीयाली मनाई दाजुभाइ, दिदीबहिनी,कोशेली उपहार प्रदान गर्ने आदि विविध रुपमा मनाउने चलन छ । यो पर्वमा ढुमरु गीत, डफ गीत, मघौटा नाच जस्ता विभिन्न नाच नाच्ने पनि गरिन्छ ।

२. माघ पर्वको तयारी :
माघ पर्व मनाउनका लागि कम्तिमा एक महिना अगाडिदेखि नै तयारी सुरु हुन्छ । जसमा अनदिको जाँड बनाउने, रक्सि, काठ दाउरा, पात टिप्ने दुना टपरी गाँस्ने,तेल पेल्ने आदिको जोहो गर्ने गरिन्छ । माघ पर्वको तयारीलाई निम्नलिखित बुँदामा देखाइएको छ :

१. माछा मार्नेः यस पर्वमा अनिवार्य माछा पकाइने भएकाले पहिले पहिले पौषको अन्तिमतिर २७, २८ गते नै माछा मार्छन् ।

२. चामलको पिठो पिसाउने : माघ पर्वमा ढिक्री अनिवार्य भएकाले माघे संक्रन्तिको दुई चारदिन अगाडि नै सकेसम्म नयाँ धानको चामलको पिठो पिसाएर ठिक्क बनाएर राखिन्छ ।

३. अन्य परिकारको लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने : यो पर्वमा ढिक्री लगायत अन्य परिकार तरुल, गैँजी, खिचरी, खरिया आदि सबै व्यवस्था गरिन्छ ।

४. जिता मार्ने : पुस महिनाको अन्तिम दिनलाई जिता मर्ना दिन भनिन्छ । यस दिन सुँगुर, बंगुर काटेर मासुको व्यवस्था गरिन्छ । माघ १ गतेका दिन कुनै पनि काटमार गर्नु हुन्न, रगत देखाउनु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ । यही अन्तिम दिन राति बरघरको घर गाउँका सबैै जना जम्मा भएर आँगो ताप्दै ढुमरु गीत गाउने, डफ बजाउने गर्दछन् ।

५. माघ लहान : माघ १ गतेका दिन नजिकको नदी, घाट, कुवामा भाले बासेको पहिलो प्रहरसँगै नुहाउन जाने गरिन्छ । नुहाउन जाँदा फुल लोहोटा तामाका सिक्का, चामलको टिका टेपरामा लिएर जानुपर्छ । तामाको सिक्का लिई नदीमा नुहाइसके पछि जल देवतालाई फुल अपर्ण गरी चामलको टिका लगाउने, घाटमै दाजुभाइसँग टिका लगाई एकआपसमा ढोग गरी घर फर्किन्छन् । टिका नदी घाटमै लगाइन्छ ।

६. निस्राउ छुट्याउने (कहर्ना ): नुहाइसके पछि सबै पुरुषहरु घरमा आएर निस्राउ कहार्ने गर्दछन् । निस्राउ खास गरेर चामल, उरुद (मासको दाल), नुन छुट्टाछुट्टै भाडामा तिन पटक वा पाँच अँजुली झिकेर छुट्याइन्छ । यो पुस्ताअनुसार अलग अलग भाडामा राखिन्छ । यसरी छुट्याएको कोसेलीमा थप गरी आफ्ना चेलीबेटीलाई माघी देवानीको दिनमा पुर्याउने गरिन्छ ।

७. ढ्वाग स्यावा लाग्ने : निस्राउ कहर्ना सकेपछि घरको सबैभन्दा जेठो पुरुष वा महिलाबाट आफुभन्दा पाका ठुला व्यक्तिहरुलाई ढ्वाग स्यावा लाग्ने गरिन्छ । त्यसपछि बनाइएका विभिन्न परिकारहरुसँगै खानपिन सुरु हुन्छ ।


८. निस्राउ दिन जाने : माघ २ गतेका दिन निस्राउ दिन जाने प्रचलन छ । माघ पर्वको भोलि पल्ट माघी दिवानी भनिन्छ ।

९. माघ पर्वमा साँस्कृतिक गतिविधि : यस पर्वमा विभिन्न भाकामा मघौटा नाच नाच्ने, गीत गाउने आआफ्नो उमेर समुहअनुसार झुण्ड बनाइ नाचेर गाउँमा रौनकता थपिएको हुन्छ । नाचमा पैंसा लुटाउने, घरघरमा नाच्न जाने प्रचलन हुन्छ ।

१०. घरायसी कामकाज गर्ने : जस्तै गढुरिया छान्ने, घरमा उमेर पुगेका छोराछोरीको विवाह गर्ने कि नगर्ने, कमैया बस्ने कि नबस्ने वा राख्ने कि नराख्ने घरको लेनदेन बारे छलफल, साहु महाजनसँगको कारोबार आदि विविध विषयमा माघकै दिन गरिन्थ्यो ।

११. सामूहिक काम गर्ने : सामुहिक कामकाजका लागि तेश्रो दिन गाउँमा बखेरी बसेर बरघर्या, अग्घ्वा छान्ने, गाउँको साझा कुल्वा, बेठ बेगारी, सार्वजनिक कामको लागि योजना बनाउने, साझा भुइभुह्यार गुरुवा, केसौका आदि निधो गर्ने, छारा गर्ने कि नगर्ने आदि समसामयिक विषयमा छलफल गरेर टुङ्गो लगाइन्थ्यो ।

माथि उल्लिखित माघ पर्व मनाइने तौरतरिकामा अहिलेको वर्तमान समयमा व्यापक परिवर्तन आएको छ । सबै जातजातिको संलग्नता समावेशिताका कारण परम्परगत मनाउने प्रचलनमा फरकपन देखिएको पाइन्छ । हरेक गाउँमा आफ्ना देवी देउतालाई पूजापाठ गराउने गुरुवा केसौका छान्ने प्रचलन भए पनि आजभोलि गुरुवाको अभावमा भुइ भुइह्यार पुजिन छोडिसकेका छन् । थारुहरुको प्रथाजनित बरघर प्रणाली कानुनी मान्यता नपाउदा गाउँको बरघर छान्ने ठाउँमा सरकारले अब टोल संस्थाको अध्यक्ष छान्ने तरिकामा बदलिदिएको छ । थारुहरुक धार्मिक सम्पदाको मर्मत सुधार गरिनु पर्नेमा भग्नावशेष भएको देखिन्छ । तसर्थ माघले नयाँ पुस्तालाई नयाँ जोश जाँगर उमङ्ग दिन सक्नुपर्छ । सरकारले हरेक जातजातिको कला संस्कृति र पहिचानलाई मर्न दिइजु हुँदैन ।

हरेक जातिको चाडपर्वको आ–आफ्नै खालको महत्व गरिमा रहेको हुन्छ । समयको परिवर्तनसँगै चाडपर्व मनाउने तौरतरिकामा फेरबदल हुनु स्वभाविक हो । हिजोको जस्तो आज अवश्य छैन । समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनैनिक परिवर्तनले चाडपर्व मान्ने मनाउने तरिकामा धेरै भिन्नता आएको हुन्छ । तथापी आफ्ना पूर्खाहरुले मनाउदै आएको संस्कृतिको मौलिकतालाई भुल्नु हुँदैन । संस्कृति हाम्रा पूर्खाहरुको अमूल्य निधि हो । आजभोलि नयाँपुस्तामा आफ्नो भाषा संस्कृतिप्रति लगाव देखिदैन यो सबैको चिन्ता र चासोको विषय हो । थारुहरुले मनाउने माघ पर्वसम्बन्धी महोत्सव कुनै कार्यक्रमको आयोजना गरि मनाउनु सकारात्मक हो तर आधुनिकताका नाउँमा तडकभडक गर्नु उचित होइन ।

यसरी हाम्रा पुर्खाहरुले तल्कालीन समयमा माघ पर्व परम्परागत मनाए पनि हाल वर्तमान समयमा अब माघकै दिन एउटा नयाँ जोश जाँगर उमङ्ग लिएर समाज र संस्कृतिलाई नयाँ उचाइमा पुर्याउन जरुरी छ । हिजोको दिनमा छोरा छोरीलाई कमैया कम्लहरी लगाउने अर्काको दास बनाउने जुन परम्परा थियो त्यसको ठाउँमा अव साँस्कृतिक रुपान्तरण हुन जरुरी छ । राज्यले समेत कमैया कम्लहरी मुक्त घोषणा गरेको दुई दशक बितिसक्यो ।

त्यसैले थारु बुद्धिजीवि, समाजसेवी, अधिकारकर्मी, राजनीतिककर्मीहरु अब थारुहरुलाई परम्परागत सोच र पुरातन शैलीबाट परिवर्तन गरि राज्यको हरेक निकायमा पहुच पुर्याउन सके माघको उन्मुक्ति दिवस मनाएको सार्थक हुने थियो । अबको माघ पर्वको योजनामा छोराछोरीलाई समयानुसारको शिक्षादीक्षा दिने, आत्मनिर्भर बनाउने योजनामा बदलिनुपर्छ । शिक्षा, स्वास्थ्या, रोजगार,आर्थिक, सामाजिक, साँस्कृतिक एवम् राजनैतिक, क्षेत्रमा पछि पारिएका थारु समुदायलाई सरकार राजनीति दल थारुहरुको हक अधिकारलाई कुण्ठित गरिनु हुन्न । आफ्नो हक अधिकारका लागि आन्दोलन, विद्रोह गर्दा उन्मुक्ति दिबसको रुपमा मनाइने माघीमा कैयो निर्दोष थारु नेताहरु आजीवन जेल चलान हुनुले सिंगो थारु समुदायको माघ पर्वलाई नै खल्लो महसुस गराएको छ । यसप्रति सरकारको ध्यान जान जरुरी छ ।

माघ पर्व आफैमा एकता, मेलमिलाप, सद्भाव,सहिष्णुताको पर्व हो । हामी स्वयम् थारुहरु पनि यस पर्वको असल मौलिकपनलाई जिवन्त राख्दै माघकै दिन घर फाट्ने, छोराछोरीलाई कमैया कम्लहरी बनाउने, अत्याधिक मदिरा सेवन गर्ने, चाडपर्वमा जाँड खानै पर्छ भन्ने सोचबाट फेरिएर बदलिदो समयको मागअनुसार संस्कृतिलाई परिमार्जन गर्न नसके संस्कृति नै धरापमा पर्न सक्छ । आफ्ना रीत चलनअनुसार देवी देवतालाई चढाइने रक्सि जाडलाई सीमित गरी सेवनमा न्यूनीकरण ल्याउन सक्नुपर्दछ । तसर्थ अबको वैज्ञानिक युग सुहाउदो संस्कृतिमा रुपान्तरण गरिनुपर्छ ।

सामाजिक सहिष्णुता तथा आपसी समझदारीको विकास गराउने माघको आफ्नै खालको महत्व रहेको छ । सबल एवम् सक्षम नयाँ नेतृत्वको चयन गर्ने सुअवसरको प्रदान गर्ने, प्रजातान्त्रिक तरिकाबाट गाउँका सबैको सहभागितामा विकासको योजना बनाइने,सामाजिक संस्कार साँस्कृतिक कार्यबाट आफन्त इष्टमित्रहरु विचको सम्बन्धमा पनि प्रगाढ हुने जस्ता माघ पर्वका असल गुणले सबै जातजातिलाई असल सकारात्मक विचार प्रदान गर्दछ ।

४. निष्कर्ष :
माघी पर्व थारुहरुको राष्ट्रिय महान पर्व हो । यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता, मेलमिलाप, आपसी व्यवहारलाई मर्यादित, सम्मानित, आदरणीय र आतिथ्यपूर्ण बनाउने असल पाठ सिकाउँछ । सरकारले पनि यस पर्वलाई थारुहरुको महान पर्वको रुपमा मान्यता दिएकोले माघी पर्वको महत्व गरिमा बढेको छ । आजको परिवर्तनशील युगमा समाज संस्कृतिलाई पनि विज्ञानको सापेक्षतामा अगाडि बढाउदै मौलिक असल पक्षको जर्गेना गर्न जरुरी छ । वर्तमान समयमा थारु समुदाय पनि विभिन्न पेशा, व्यवसाय, रोजगार आदि विविध क्षेत्रमा व्यस्ततताका कारण औपचारिक रुपमा मात्र मनाएको पाइन्छ । यो पर्वमा सरकारले १ दिनको मात्र बिदा दिने भएकाले राम्रोसँग मनाउन पनि नभ्याउने हुँदा कम्तिमा थारु कर्मचारीलाई ३ दिनसम्मको बिदा दिनु पर्ने माग उठेको पाइन्छ । यद्यपि हामी सबै थारु बुद्धिजीवि, कर्मचारी, व्यवसायी, विद्यार्थी, किसान सबै सरोकारवालाहरु यस पर्वको महत्व र गरिमालाई मध्यनजर गरी पर्वलाई मर्यादित बनाउदै जानुपर्ने आजको आवश्यकता हो । (लेखक : थारु समुदायकाे नियमित खाेज अनुसन्धानकर्ता हुनुहुन्छ ।)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार