सुर्खेत, १ माघ ।
दैलेखको आठबीस नगरपालिका वडा नं. एक सात्तालाका वडा अध्यक्ष पर्वसिंह विश्वकर्माले अंग्रेजी शिक्षक नियुक्ति हुनुपर्ने भन्दै आन्दोलन गरिरहेको समयमा विद्यार्थीहरुलाई अभद्र व्यवहार गर्दै गाली दिएका छन् । २०७६ साउन देखि लक्ष्मी माध्यमिक विद्यालयमा मावि अंग्रेजी राहत शिक्षक पद खाली भएका कारण विद्यार्थीहरुले तत्काल अंग्रेजी शिक्षक नियुक्त गरी पठनपाठन सुरु गर्न भन्दै विद्यालय प्रशासन, वडा कार्यालयलगायतका सरोकारवाला निकायलाई दबाब दिन गरिएको आन्दोलनमा वडाअध्यक्ष विकले मुखै फोडेर विद्यार्थीलाई गाली दिएका हुन ।
लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा नौ र दशमा मात्रै १८३ जना विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् । उनीहरुले अंग्रेजी शिक्षक नहुँदा आफूहरुको भविष्य बर्बाद हुने भन्दै विद्यालयमा तालाबन्दी गरेका थिए भने वडा सरकारलाई सुनाउन वडा कार्यालयमा गइ शान्तिपूर्ण रुपमा नारावाजी गरेका थिए ।
अघिल्लो वर्षको साउन देखि यहाँका विद्यार्थीले अंग्रेजी विषय पढन पाएका छैनन् । कक्षा दशमा परिक्षा दिइ उत्तीर्ण भएका विद्यार्थीहरुले अन्यत्र गएर ट्यूसन कक्षाको सहारा लिनुपरेको थियो । सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी उपे्न्द्र थापाले नेपालप्रेससँग भने, बारम्बारको तालाबन्दी, आन्दोलन पश्चातपनि कसैले पनि विद्यार्थीको माग सम्वोधन गर्न चाहेनन् । गत वर्ष शिक्षक चाहियो भनेर विद्यार्थी आन्दोलित भएपनि प्रहरी बोलाएर ताला तोडिएको थियो ।
उनले सार्वजनिक ओहोदामा बसेका र विद्यालयका पदेन विव्यस अध्यक्षले मुखै छोडेर गाली दिएको आफूहरु निरीह हुनुपरेको बताए । अध्यक्ष मात्रै होइनन्, कार्यपालिका सदस्य कमला थापाले पनि आज गाली गर्नु भएको छ । उनले भने, के विद्यार्थीले अंग्रेजी पढन पाउनुपर्छ किन शिक्षक व्यवस्था नगरेको हो भनेर प्रश्न गर्न नपाउने ? उनले कक्षा नौ र दशमा एक पाठ पनि अंग्रेजी नपढाइएको बताए ।
विद्यालयका प्रधानाध्यापक कुश्माखर आचार्यले नेकपाको आन्तरिक लडाईका कारण विश्वय गठन नहुँदा समस्या भएको बताए । उनले शिक्षा नियमावली अनुसार अंग्रेजी शिक्षकको विज्ञापन गरौं भन्दा वडा अध्यक्षले नमानेको बताउँदै अबको केहि दिनमा नै अभिभावक भेला बोलाई विव्यस गठन गर्ने र विद्यार्थीका माग सम्वोधन गर्ने प्रतिबद्धता जनाए ।
गत वर्ष हामीले विव्यस गठन गरेका थियौं । नेकपाका दुइ, काँग्रेसका दुइ र मनोनित दुइ गरी छ जना विव्यस सदस्यमा चयन भएका थिए । ती मध्ये वडा अध्यक्ष पदेन सदस्य भए । तर राजनीतिक खिचातानीले गर्दा हामीलाई शिक्षक नियुक्ति गर्न समस्या भयो । उनले भने, प्रशासनीक रुपमा मेरो कुनै पनि गल्ती छैन । शिक्षा नियमावली अनुसार म चलेको छु । नचलेको भेटिएमा कारवाही भोग्न तयार छु ।
वडा अध्यक्ष पर्वसिंह विश्वकर्मालाई यसबारेमा प्रश्न सोध्दा आफ्नो चरित्र हत्या गरेको बताए । बाहिरका मानिस आएर वडा कार्यालयमा जिन्दावाद र मुर्दावादको नारा लगाए । आन्दोलन गरे विद्यालयमा गर्नुस । वडा कार्यालयमा नगर्नुस भनेर मैले भनेको हो । उनले भने, शिक्षक नियुक्ति गर्ने मेरो अधिकार होइन ।
स्थानीय, वडा सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । मेरो बारेमा अर्नगल कुरा गर्ने, मलाई गाली गर्ने काम गरे । उनले शिक्षक नियुक्ति गर्ने आफूसँग अधिकार नभएको बरु विव्यस गठन गरौं भन्दा विद्यालयका प्रधानाध्यापकले नमानेको बताए । पूर्णबहादुर थापा नै अध्यक्ष हुनुपर्छ भनेर प्रअले निर्णय नै गर्न माननु भएन । उनले भने, अनि अहिले सामाजिक सञ्जालको दुरुपयोग गरेर म माथि चरित्र हत्या गर्ने काम भएको छ । म एक दुइ दिनमा नै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिन्छु ।
युग संवाददाता । । १ माघ २०७७, बिहीबार १७:२८