सुर्खेत, २८ पुस ।
गएको पुस १५ गते डोल्पामा एकैपटक पाँच जनालाई कोरोना संक्रमण देखियो । संक्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखियो । तर संक्रमितमध्ये दुई जनाको अवस्था निकै जटिल बन्यो । संक्रमण पुष्टि भएको तीन दिनपछि अर्थात पुस १८ गते अस्पतालले संक्रमितलाई सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध ग¥यो । संक्रमित ठूलोभेरी नगरपालिकाका ६० वर्षे वडाध्यक्ष र ५४ बर्षे शिक्षकलाई काठमाडौँ पु¥याउन आफन्तहरुले ६÷६ लाख रुपैयाँमा हेलिकोप्टर नै चार्टर गर्नुप¥यो ।
तर हेलिकोप्टरबाट काठमाडौं लगिए पनि संंक्रमित शिक्षकले कोरोनालाई जित्न सकेनन् । उनको उपचारकै क्रममा काठमाडौंमा मृत्यु भयो । डोल्पाका कोरोना फोकलपर्सन ठेकबहादुर गुरुङका अनुसार वडाध्यक्षको अवस्था भने सामान्य बन्दै गएको छ । संक्रमितलाई काठमाडौं रिफर गर्नुको कारण भने भेन्टिलेटर र आइसीयु सेवा नहुनु हो । ‘दुबै जनाको अवस्था निकै जटिल थियो, जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं पठाएका हौँ’ गुरुङले भने, ‘अस्पतालमा आइसीयू र भेन्टिलेटर सेवा छैन, जटिल संक्रमितहरु बाहिरै नै पठाउनुपर्छ ।’
यस्तै शुक्रबार मात्र हुम्लाको सिटिजन बैंक शाखाका कार्यरत दुई जनामा कोरोना संक्रमण देखियो । कर्मचारीलाई कोरोना देखिएपछि बैंकले आफ्नो सेवा बन्द ग¥यो । तत्काल संक्रमित कर्मचारीलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखियो । २५ वर्षे कोरोना संक्रमितलाई भेन्टिलेटर र आइसीयूमा राखियो । तर रिकभर हुन सकेन । अवस्था दिन प्रतिदिन नाजुक बन्दै गयो । संक्रमण पुष्टि भएको चार दिनपछि अर्थात सोमबार मात्र अस्पतालले संक्रमितलाई बाहिर लैजान सुझाव दियो । ‘२५ वर्षे संक्रमितलाई स्वास्वप्रश्वासमा निकै समस्या थियो, तीनदिन भेन्टिलेटर र आइसीयूमा राखेर उपचार गर्दा पनि सम्भव भएन’ जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले भने, ‘यहाँ उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरेका हौं ।’
हुम्लामा उपचार सम्भव नभएका संक्रमितलाई काठमाडौं पु¥याउन आफन्तहरुलाई हम्महम्मे प¥यो । अन्ततः सिटिजन बैंकले हेलिकोप्टर नै चार्टर गरेर संक्रमितलाई काठमाडौं लग्यो । संक्रमितको उद्दारमा के कति खर्च लाग्यो भन्ने एकीन जानकारी भने जिल्ला जनस्वास्थ्य कार्यालयसँग छैन । ‘हामीले रिफर मात्रै गर्ने हो, बाहिर उपचार गर्दा संक्रमितले नै हेलिकोप्टर चार्टर गर्नुपर्छ’ प्रमुख सिंहले भने, ‘६÷७ लाख नदिँदासम्म हेलिकोप्टर आउँदैनन्, काठमाडौँ लैजान त्यति नै खर्च हुन्छ ।’ पछिल्लो डोल्पा र हुम्लामा जटिल प्रकृतिको हरेक कोरोना संक्रमितको उपचारका लागि हेलिकोप्टर चार्टर गर्नैपर्ने बाध्यता छ । डोल्पामा अस्सिजन र विद्युत अभावका कारण आइसीयू र भेन्टिलेटर सेवा सञ्चालन हुन सकेको छैन ।
कोरोना महामारी जस्तो संकटपूर्ण अवस्थामा पनि प्रदेश सरकार र स्थानीय तहले संक्रमितको उद्दारका लागि कुनै पहल गर्न सकेका छैनन् । प्रदेश सरकारले जटिल प्रकृतिका संक्रमितको उपचारका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान, सुर्खेतको प्रदेश अस्पताल र रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई कोरोना अस्पतालका रुपमा विकास गरेको छ । हरेक जिल्ला अस्पतालमा भेन्टिलेटर र आइसीयूको जडान गरेको छ । तर दक्ष स्वास्थ्यकर्मी र आवश्यक पूर्वाधारको व्यवस्था नहुँदा कोरोना संक्रमितलाई हेलिकोप्टर चार्टर गरेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ । कोरोना महामारीमा संक्रमितले हेलिकोप्टर चार्टर गरेर उपचार गराउँदा पनि स्थानीय तह र प्रदेश सरकारले उपचारमा समन्वय गर्न सकेका छैन ।
कोरोना संक्रमितको उपचारका लागि प्रदेश र स्थानीय तहमा लाखौैँ बजेट छ । कोरोना संक्रमितको उपचारका लागि पूर्वाधार व्यवस्थापनमा प्रदेश सरकारसँग डेढ अर्ब बजेट छ । पूर्वाधारबाहेक कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि थप ८७ करोड ४१ लाख बजेट छ । कर्णालीका जटिल प्रकृतिका संक्रमित भने लाखौँमा हेलिकोप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं जान बाध्य छन् । स्थानीय तहमा पनि करोडौँ कोरोना संक्रमितको उपचारका लागि करौडौँ बजेट छ । तर बजेट भएर पनि पहुँच बिहीन संक्रमितले आफ्नै खर्चमा उपचार गराउनुपर्ने बाध्यता छ ।
मन्त्री रावललाई काठमाडौं लगियो
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई पनि उपचारका लागि काठमाडौं लगिएको छ । आइतबार कोरोना संक्रमित भएका मन्त्री रावललाई स्वासप्रश्वासमा समस्या आएपछि काठमाडौं रिफर गरिएको हो । विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार मन्त्री रावललाई थप उपचारका लागि सोमबार नै काठमाडौं पठाइएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्मर खड्काले जनाए ।
मन्त्री रावलका स्वकीय सचिव नन्दबहादुर रोकायाले पनि स्वास्थ्यमा जटिलता देखिएपछि मन्त्री रावललाई उपचारका लागि काठमाडौं लगिएको बताए । प्रेस विज्ञप्ति जारी गर्दै रोकायाले उपचार मन्त्री छिट्टै कर्णालीवासीको सेवामा खटिने उल्लेख गरेका छन् । मन्त्री रावलको उपचार काठमाडौंको ह्यान्स अस्पतालमा भइरहेको छ । उनी खत्तरामुक्त रहेको मन्त्रीको सेवामा खटिएका अशोक भण्डारीले जानकारी दिए ।
‘सबै संक्रमितलाई काठमाडौं लिएर उपचार गर्न सकिदैन’
कर्णाली प्रदेश सरकारले भने जटिल प्रकृतिका सबै कोरोना संक्रमितलाई काठमाडौं लिएर उपचार गर्न सम्भव नभएको जनाएको छ । ‘प्रदेशमै सुविधा सम्पन्न अस्पतालहरु छन्, प्रदेश सरकारले जटिल विरामीलाई कोरोना विशेष अस्पतालमै निशुल्क उपचार गराउँछ । तर काठमाडौँ पु¥याउन सक्दैन’ कर्णाली प्रदेश सरकारका प्रवत्तासमेत रहेकी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘म थप सुरक्षित हुन्छ भनेर काठमाडौं जानु व्यक्तिको स्वतन्त्रताको विषय हो ।’ काठमाडौंका जस्ता सुविधासम्पन्न अस्पताल प्रदेशमा नभएका कारण खर्च बेहोर्ने व्यक्तिहरु थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं जाने गरेको उनका भनाइ छ । आर्थिक रुपमा विपन्न र काठमाडौं लिनैपर्ने संक्रमितको सन्दर्भमा भने सम्बन्धित अस्पतालको सिफारिसमा प्रदेश सरकारले सहयोग गर्ने प्रदेश सरकारले जनाएको छ ।
युग संवाददाता । । २८ पुष २०७७, मंगलवार १२:५५