सम्पादकीयः टिपर दुर्घटना न्युनिकरण

सवारी साधनको दुर्घटना न्युनिकरणमा धेरै चुनौती छन् । त्यसमा पनि पछिल्ला दिनमा टिपरका कारण हुने दुर्घटना बढेका छन् । अहिल सडकमा निस्कदा टिपरकै आतंक छ । अर्थात टिपरका कारण सडकमा कतिवेला कसको ज्यान जाने हो, कुनै ठेगान छैन । आफूले होसियारी अपनाउँदा पनि टिपरका कारण सडकमै धेरैले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर र सुर्खेत मुख्यगरी प्रभावित बनेको छ । पछिल्लो केही महिनाको अवधिमा मात्र वीरेन्द्रनगरमा भएका दुर्घटनाले पनि टिपर कति असुरक्षित छन् भन्ने देखाएको छ । सडकमा हिँडिरहेका सर्वसाधारणदेखि मोटरसाइकलमा सवार यात्रु नै असुरक्षित छन् । टिपरले ठक्कर दिएर सर्वसाधारणको ज्यान लिन थालेका छन् । यसकारण पनि पछिल्लो समय टिपर आतंक नै छ भन्दा हुन्छ । तर पनि यसको रोकथाम र दुर्घटना न्यूनिकरणमा कसैले गम्भिर भएर चासो भने दिएका छैनन् । अब पनि यसबारे गम्भिर बनेर समिक्षा गर्दै आवश्यक समाधानका उपायहरुको खोजी नगर्ने हो भने अवस्था थप जटिल बन्ने देखिन्छ ।

टिपरका कारण बढी दुर्घटना हुनुमा केही पक्षहरु छन् । मुख्य कारण भनेको टिपरको गति तीव्र हुनु नै हो । सडकमा आवश्यक्ताभन्दा बढी गतिमा गुड्ने टिपर, तिनका चालकको लापरबाही नै दुर्घटनाको मुख्य कारण हो । अर्कोतर्फ चालकले पनि लापरबाही गर्ने गरेको घटनाले पुष्टी गरेका छन् । सामान ढुवानीमा प्रयोग हुने टिपरका चालकमा धेरै पैसा कमाउने लोभले पनि दुर्घटना बढेका छन् । जति धेरै टिप सामान ढुवानी गर्नसक्यो, त्यति नै रकम कमाउने होडबाजीले पनि सडकमा टिपरका चालकहरुको दादागिरी नै छ । यसले पनि दुर्घटनाको दरलाई बढाएको छ । यसकारण पनि यदी टिपरलाई यही गतिमा छाड्ने हो भने दुर्घटना न्यूनिकरण गर्न सकिदैन । यसका लागि अब स्थानीय प्रशासन र प्रहरीले आवश्यक कदम चाल्नैपर्ने हुन्छ । अब टिपरका कारण हुने दुर्घटना रोक्न र त्यसलाई न्यूनिकरण गर्नका लागि टिपर संचालनमा टाइमकार्ड लागू गर्नुपर्ने हुन्छ । अर्थात कुनै निश्चित समयमा तोकेर मात्र टिपरलाई सडकमा गुड्न दिनुपर्ने हुन्छ ।

दुर्घटना अकस्मात हुने हो । अझ भनौं नागरिकमा हुने सचेतनाको कमी र जिम्मेवार व्यक्तिको लापरबाहीका कारण यस्तो समस्या दोहोरिने गरेका छन् । अब सडकमा देखिएको टिपरको आतंक रोक्न र सुरक्षित सडक बनाउने हो भने तत्काल टिपर संचालन गर्ने कुनै समय तोक्नै पर्दछ । अझ भनौं राती आठ बजेदेखि विहान पाँच बजेसम्मको समयमा मात्र मालवाहक टिपर चलाउन पाउने नियम बनाउनु आवश्यक छ । मानिसहरुको भिडभाड कम हुने समयमा मात्र टिपर संचालन गर्ने हो भने दुर्घटना रोक्न सम्भव छ । यसका लागि अब जिल्ला प्रशासन कार्यलय र सरोकारवालाहरुले छलफलमार्फत सहमति गर्नै पर्दछ । यसो भएमा मात्र सडक सुरक्षित बन्नेछन् भने नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था रोक्न सम्भव हुनेछ । नागरिकको ज्यानभन्दा ठूलो अरु केही पनि हुनै सक्दैन ।

तपाईको प्रतिक्रिया