ताजा खबर
  

सम्पादकीयः कृषिमा लगानी

नेपाल कृषिमा निर्भर छ । तर पनि कृषिको उत्पादनबाट भने आत्मनिर्भर हुन सकेको छैन । अहिले पनि देशका अधिकांश परिवारको मुख्य पेशा कृषि नै हो । खेतीपाती गरेरै धेरैले पेट भर्दछन् । तर पनि कृषिबाट नागरिकले आफ्नो जीवनलाई उच्चस्तरको बनाउन सकेका छैनन् । सरकारी तथा गैरसरकारी निकायले कृषिप्रधान देश भन्दै गर्व नै गरिरहेका छन् । तर राज्यले कृषिको क्षेत्रमा जती लगानी गर्नुपर्ने हो, सोही अनुसारको लगानी गर्न सकेको छैन । किसान अन्नदाता हुन् । किसानले उत्पादन गर्न छाड्ने हो भने अवस्था के होला ? खेतबारीमा अन्न उब्जनी हुन छाडेमा भोक कसरी मेटाउने ? यस्ता गम्भिर प्रश्नहरु अहिले पनि उब्जिएका छन् । आज विश्वका धेरै मुलुकमा कृषिमा प्रविधि भित्रिएको छ । किसानलय थोरै लगानीमा पनि धेरै उत्पादन गरिरहेका छन् । तर पनि हाम्रो देशमा किसानको लगानी र समय मात्र खेर गइरहेको छ । समयअनुसारको ज्ञान, सीपर प्रविधि नहुँदा उतपादन नै अपेक्षा अनुसार हुन सकेको छैन ।

किसानलाई आत्मनिर्भर बनाउने हो भने कृषिमा सरकारी लगानी बढाउनु पर्दछ । किसानलाई मुख्य समस्या भनेका सिचाइँको अभाव, मल र विऊ नपाउनु र सरकारी अनुदान पनि बाठाटाँठाहरुले मात्र पाउनु नै हो । खेती गर्ने समयमा किसानले मल र विउ पाउँदैनन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । त्यतिमात्र होइन, सरकारले दिने अनुदानमा पनि किसानको पहुँच नै हुँदैन । अर्कोतर्फ किसानले उत्पादन गरे पनि त्यसको बजारीकरणमा समस्या छ । यस्ता कारणले गर्दा आज किसानले दुख अनुसार उत्पादन गर्न सकिरहेका छैनन् । अर्कोतर्फ व्यवसायीक रुपमा किसानलाई अगाडि बढाउने कार्यक्रमहरुको पनि अभाव छ । गुजराका लागि मात्र खेती गर्ने संस्कार नतोडेसम्मम अवस्था यस्तै रहने देखिन्छ । यसकारण पनि अब स्थानीय, प्रदेश र संघ सरकारले किसान र कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने हुन्छ । पछिल्लो समय कर्णालीमा प्रदेश सरकारले किसानको पक्षमा केही कार्यक्रमहरु संचालन गर्न लागेको देखिन्छ ।


प्रदेश सरकारले किसानलाई आत्मनिर्भर बनाउनकै लागि व्यवसायीक खेतीका लागि बैंकको ऋण ंिलदा लाग्ने ब्याजमा अनुदान दिने प्रक्रिया सुरु गरेको छ । वास्तवमा किसानका लागि यो लाभदायीक नै हो । अर्कोतर्फ जिल्ला तहमा पनि सिचाइँ कुलो र अगानिर्क खेतीमा पनि बजेट लगानी गर्न लागेको छ । यसले किसानलाई राहत ने मिल्नेछ । सरकारले गर्ने लगानी वास्तविक किसानले पाउने गरी सरकारी संयन्त्रहरुले अब काम गर्नै पर्दछ । आज पनि सामान्य किसानले राज्यले दिने सेवाको बारेमा जानकारी नै नपाउने अवस्था छ । यसकारण पनि राज्यले मात्र होइन, निजी क्षेत्रले पनि किसानको जीवनस्तर उकास्नका लागि लगानी गर्नुपर्ने हुन्छ । यसका लागि अब कृषिको आधुनिकिकरण, उन्नत बीउ, समयमै मल र सिचाइँको व्यवस्थापन अनिवार्य छ । यसतर्फ सरकारको ध्यानाकर्षण हुन जरुरी छ । अनिमात्र हामी कृषिमा आत्मनिर्भर हुन सक्छौं ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार