प्रधानमन्त्रीको कदम संघीयता समाप्त पार्ने खेल : जनार्दन

अमर सुनार
दैलेख, २६ पौष ।
नेपाल कम्यूनिष्ट पाटी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्मा (प्रभाकरण) ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संघीयता समाप्त पार्ने उद्देश्यले आएको बताएका छन् । प्रतिगमन विरुद्ध शनिवार दुल्लूमा आयोजित बिरोधसभा कार्यक्रममा उनले अव समानुपातिक प्रतिनिधित्वको व्यवस्था हटाउने प्रधानमन्त्रीले छलफल चलाएको विषयबाट बिदेशीको इसारा देश चलाउन खोजेको प्रष्ट्याए ।

नेता प्रभाकरले संसद विघटनपछि प्रधानमन्त्री ओली नागरिक समाज, आमसञ्चार र पार्टीबाट समेत एक्लिएर पुंगो बनेको बताए । उनले प्रधानमन्त्रीले आफूखुशी संसद विघटन गर्न सक्ने स्वच्छाचारिता अन्त्यको लागि पनि संसद पुनस्र्थापना जरुरी रहेको र यसमा अदालतप्रति भरोसा रहेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीको सरकार र सपना पानी पोका मात्र भएको बताए । उनले भने ‘बढीमा तीन महिनाभित्र पानीको पोका फुट्नेछ अनि उहाँ निद्राबाट व्युँझिएर पछुताउनु हुनेछ ।’ नेकपाका केन्द्रीय सदस्य कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले पार्टी एकतापछि देश विकास र जनताको समृद्धिको अभियान लिनुपर्नेमा पार्टी, सरकार र जनभावना विपरित प्रधानमन्त्रीका गतिविधि बढी रहेका कारण प्रतिगमन विरुद्ध आन्दोलन गर्नु परेको बताए ।

दैलेख क्षेत्र नं. २ का साँसद एवं नेकपा केन्द्रीय सदस्य राजबहादुर बुढाले प्रधानमन्त्रीले ओलीले पार्टी एकता बिरुद्ध गुटको भेला गर्ने, राजनीतिक दल विभाजनको अध्यादेश ल्याउने जस्ता एकता बिरोधी कदमका कारण पार्टीमा नेताहरुले सचेत गराएको प्रष्ट पारे ।  त्यसबखत नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य एवं प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले राष्ट्रपति विद्यादेबी भण्डारीले राष्ट्रप्रमुखको जिम्मेवारी बिर्सेर प्रधानमन्त्रीले जे ल्याउनुहुन्छ त्यही स्वीकृत गरिदिने कारिन्दा शैलीले पनि संविधानको भावनामा चोट पुगेको बताइन् ।

कार्यक्रममा प्रदेशसभाका सदस्यद्वय अम्मरबहादुर थापा, सुशील थापा, नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य टेकबहादुर खाँण, कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाही, अनेरास्ववियूका सचिव सुरेश पराजुली लगायतले प्रधानमन्त्रीले संसद विघटनपछि घटनाक्रम र नेकपा कार्यकर्ताको दायित्व विषयमा बोलेका थिए ।

संघीय व्यवस्थाको कार्यान्वयन, समृद्ध नेपाल र सुखी नेपाली जस्ता थुपै्र सपनाहरु साँचेर झण्डै दुई–तिहाई बहुमत जनमत पाएको बेला दलभित्र आफ्ना कार्यशैलीप्रति प्रश्न उठेकै विषयमा प्रधानमन्त्रीले अटात संसद विघटन र अराजनैतिक क्रियाकलाप बिरुद्ध उनी संसदीय दलको नेता भएको दलका कार्यकारिणी कमिटीको बहुमत समूह आन्दोलनमा छ ।

प्रधानमन्त्रीले संसद विघटनपछि प्रदेश र स्थानीय तहहरु पनि खारेज गरिदिने धम्की दिएको विषयमा नागरिक समाज, आमसञ्चार र राजनीतिक दलहरु पनि उनको क्रियाकलाप र अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिगमनको आन्दोलन चलिरहेको छ । नेकपाको औपचारिक विभाजन नभए पनि पहिलेदेखि केपी ओली समूहमा रहेका मध्ये आफू सम्वद्ध समूह छोड्न नसक्ने भनी त्यही लागेको देखिन्छ तर दैलेखमा एकीकरण अघि कमजोर ठानिएको तत्कालिन नेकपा एमाओवादीमा पुरानो एमालेको माधव नेपाल समूह थपिएपछि अहिले प्रचण्ड–नेपाल समूह दरिलो देखिएको छ ।

नेकपाका २ समूह विभाजित देखिए पनि असमन्जस्यता देखिएको छैन । तर पनि प्रचण्ड–नेपाल समूहले जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम तय गरेकै दिन आइतवार (पुुस २६ गते) ओली समूहले सदरमुकाममा जनसभा गर्ने जनाएका छ ।

तपाईको प्रतिक्रिया