राजकुमारीलाई माग्न खेमराज घरमै गए

मायाले संसार चलेको छ । माया विना सायद सबैको जीवन अधुरो र अपुरो जस्तै हुन्छ । घरपरिवारमा, साथीभाई र सबैमा माया त हुन्छ नै । तर जन्मदिने बाआमाभन्दा पनि बढी माया गर्ने सम्बन्ध भनेको जीवन साथीको हो । जो कोही जोडीले पनि विवाहपछि आफ्नो जीवनसाथीलाई नै बढी माया गर्छन् । त्यसैले त जन्मघर, माइती, साथीभाई सबैलाई छोडेर नयाँ सम्बन्ध गाँस्न पुग्छन् महिलाहरु । त्यही मायाले विर्साइदिन्छ माइतीघरको सम्झना । यस्तै आपसमा माया गर्ने जोडी हुन् खेमराज देवकोटा र राजकुमारी पाण्डे । यो जोडी वैवाहिक सम्बन्धमा जोडिएको १२ वर्ष भइसकेको छ ।

मागी विवाह

खेमराज देवकोटा विवाहका लागि केटी हेर्दै थिए । त्यतिकैमा उनका भिनाजुले नाता पर्ने बहिनी छ भनेर देखाउँछु भन्दै लगे । उनका भिनाजुले राजकुमारीलाई देखाउन लगे । खेमराजका भिनाजु राजकुमारीको नाताले दाई पर्थे । उनले राजकुमारीलाई देखेपछि पहिलो नजरमा नै मन पराए । दुवैले एकअर्काेलाई त देखे । तर एकआपसमा कुराकानी भने भएन । उनीहरुले २०६६ साल माघ महिनामा दुवैले एकअर्कालाई देखेका थिए । एकअर्कालाई देखेपछि राजकुमारीले खेमराजलाई घरमा माग्न आउनुपर्छ भनिन् । उनले माग्न आउनै पर्ने अडान राखेपछि खेमराज बुवालाई लगेर फागुनको ७ गते माग्न गए । विवाह अघि एकअर्काको बानी व्यवहारका बारेमा केही थाहा थिएन । एकपटक मात्र भेटेका उनीहरुको घरपरिवार राजी भएपछि २०६६ साल चैत १० गते मागी विवाह भयो ।

छोरी र बुहारी हुँदाको अनुभव

राजकुमारीलाई विवाहपछि छोरी र बुहारी हुनुको फरक अनुभव केही भएन । विवाहको दिनमा भने उनलाई नरमाइलो लागेको थियो । काँ जादै छु ? कोसँग जाँदै छु ? भन्ने भएको थियो । तर विवाह छि भने उनलाई घरमा बस्नु परेन । विवाह गरेको आठ दिन मात्र उनी घरमा बसिन् । त्यसपछि भने उनी वीरेन्द्रनगरमा आइन् । उनीहरुलाई घरपरिवारले पनि सहयोग गरे । श्रीमान्को माया र सहयोगले गर्दा राजकुमारीलाई छोरी र बुहारी हुनुको फरक अनुभव पाइनन् ।

बाल्यकाल कस्तो थियो ?

सुर्खेतको हिलेखालीमा वि.स. २०४२ सालमा जन्मिएकी राजकुमारी पाण्डेको बाल्यकाल दुखद् नै वित्यो । उनको पुख्र्यौली घर भने जुम्ला थियो । उनी अघिका दुई दाजुको मृत्युपछि उनका बुवाआमा सुर्खेत आएका थिए । उनी अघिको एक दिदीको पनि मृत्यु भयो । अब उनको एक दिदी मात्र छन् । राजकुमारी कान्छी छोरी हुन् । उनलाई बुवाआमाले गर्भमा हुँदैदेखि छोरा हो भनेर राजु नाम राखिदिएका थिए । पछि छोरी जन्मिएपछि पनि उनलाई घरमा राजु नै भनेर बोलाउथे । अहिले पनि सबले उनलाई राजकुमारीभन्दा पनि राजु भनेर बोलाउने गर्छन् । बाल्यकालमा उनी स्पष्ट बोल्ने स्वभावकी थिइन् । सबैसँग स्पष्ट बोल्ने मनमा कुरा नराख्ने उनको अहिले पनि त्यस्तै स्वभाव छ ।
छवि प्रावि कालागाउँमा कक्षा पाँचसम्म पढेकी उनले कक्षा ६ देखि एसएलसी पास भने जन माविबाट गरिन् । उनले कक्षा ११ र १२ पनि जन माविबाटै उर्तिण गरेकी हुन् । राजकुमारी तीन वर्षदेखि आईएमई लाइफमा सिनियर एजेन्सी मानेजरको रुपमा काम गर्दै आइरहेकी छन् । खेमराज देवकोटाको जन्म वि.स. २०४४ सालमा सुर्खेतको पश्चिम गुटुमा भएको हो । उनको बाल्यकाल भने कालिकोटमा वित्यो । उनी दुई वर्षको हुँदा उनको हजुरआमाले कालिकोट लगेपछि उनको बाल्यकाल त्यही नै वित्यो । कालिकोट मान्मको जन जीवन माविबाट एसएलसी उर्तिण गरेका उनले कक्षा ११ र १२ जन माविबाट उर्तिण गरे । त्यसपछि उनले २४ महिने भेटनेरी पनि पढे ।

सम्बन्धमा विश्वास चाहिन्छ

यो जोडीका अनुसार दाम्पत्य सम्बन्ध दिगो बनाउन एकअर्कामा विश्वास चाहिन्छ । विहेअघि एकअर्कालाई राम्रोसँग नबुझेका यो जोडी विवाहपछि एकअर्कालाई राम्रोसँग बुझे । त्यसैले पनि एकअर्कालाई विश्वास गर्छन् । एकअर्काको भावनाको कदर गर्दा सम्बन्धमा खटपट नहुँने उनीहरुको भनाइ छ । उनीहरुका अनुसार सम्बन्धमा विश्वास र समझदारी हुन आवश्यक हुन्छ ।

उपहार साटासाट

यो जोडीको जन्मदिन र विवाहउत्सव घरपरिवारमा मात्र मनाउने गर्छन् । उनीहरुको दुई छोरी छन् । छोरीसँग सल्लाह गरेर एकअर्काको जन्मदिनमा गिफ्ट दिने पनि गर्छन् । धेरै ठुलो नमनाए पनि परिवारमा सामान्य रुपमा जन्मदिन र विवाह उत्सव मनाउने गर्छन् ।

प्रशंसा

यो जोडीले विवाह अघि एकअर्काेलाई राम्रोसँग बुझ्न पाएका थिएनन् । विवाहपछि नै एकअर्काेको बानी व्यवहार बुझेका यो जोडीले एकअर्काेको प्रशंसा भने खुलेरै गर्छन् । राजकुमारीलाई खेमराजको आफु रिसाएको समयमा फकाउने बानी मनपर्ने गर्छ । दुवैमा कहिले काँही सामान्य झगडा भए पनि राजकुमारी अलिबढी रिसाउने गर्छिन् । उनी रिसाएको बेलामा खेमराजले नै फकाउने गर्छन् । यस्तै खेमराजलाई पनि राजकुमारीको कसैसंग नडराउने, निडर बानी मन पर्ने गर्छ । उनले गर्न खोजेको काम सम्पन्न गर्ने उनको बानी मनपर्ने गर्छ ।

विवाह र प्रेम

उनीहरुका अनुसार विवाह दुई घरपरिवारलाई एकआपसमा जोड्ने सम्बन्ध हो । केटा र केटी मात्र नभएर दुई परिवारबीचमा मित्रता गाँस्ने सम्बन्ध विवाह हो । आफ्ना सम्बन्ध त सधै आफ्ना हुन्छन् । तर नचिनेको मान्छेलाई आफ्नो मान्नु र जन्मदिने बुवाआमालाई भन्दा बढी माया गर्नु र माया हुने नै विवाह सम्बन्धमा हो । प्रेम पनि विवाहसंगै जोडिने कुरा हो । एकअर्कामा प्रेम नभए विवाह हुँदैन । त्यसैले विवाह र प्रेम एकअर्काका परिपुरक हुन् ।

तपाईको प्रतिक्रिया