सुर्खेत, २४ पुस ।
घटना ः १
गएको साउन २८ गते सुर्खेतमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परे । विप्लव समूहका जिल्ला कमिटी सदस्यहरु कर्णबहादुुर बिसी र सहवीर महरलाई भेरीगंगा–९ जहरेबाट प्रहरीले पक्राउ ग¥यो । उनीहरुको साथबाट विभिन्न निर्माण व्यवसायी तथा कन्ट्रक्सनहरुलाई चन्दा रकम माग गरिएको पत्रहरु, रकम असुल गरेका अर्धकट्टी र दस्तावेजहरु बरामद भएका थिए ।
घटना ः २
यस्तै गत भदौ १६ गते सल्यानको कालिमाटी गाउँपालिका –६ जलजलाबाट विप्लव समूहका दुई जना कार्यकर्ताहरु पक्राउ परे । जनप्रतिनिधि र व्यापारीसँग चन्दा मागेर आतंकित तुल्याएको सूचना प्रहरीलाई प्राप्त भयो । सूचना अनुसार नै प्रहरीको विशेष गस्ती तथा अनुसन्धान (अप्रेशन) चलायो । विप्लवका भेरी कर्णाली व्यूरो सदस्य तथा सुर्खेत जिल्लाको चिङगाड गाउँपालिका वडा नं. २ निवासी ५० वर्षीय महेश भनिने आइते विक र सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. २ निवासी ४२ वर्षीय तिलकबहादुर वली जलजलाबाट पक्राउ परे ।
घटना ः ३
गएको शनिबार मात्र कालिकोटबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना कार्यकर्ता पक्राउ परे । प्रहरीको विशेष अप्रेशनमा नरहरीनाथ गाँउपालिका–९ लालुका ३६ बर्षे दुर्गबहादुर बोहोरा र जाजरकोट भेरी नगरपालिका–२ का पदमबहादुर पुन पक्राउ परे । उक्त क्षेत्रलाई विप्लव समूहले आफ्नो पकड रहेको क्षेत्र अर्थात आधार इलाका दाबी गरेको छ । प्रहरीले बोहोराको घरमा लुकाइ राखेको अवस्थामा अर्धनिर्मित बन्दुक एक थान, प्रेसरकुकर एक थान, जेवाले एक वटा, डेटोनेटर २४ थान, सकेट नौ थान, गन्धक एक किलो, सोडा आधा केजी, चार्ज व्याट्री एक थान, व्याट्री कनेक्सन लगायत थुप्रै विस्फोटक पदार्थ नियन्त्रणमा लिइएको जनाएको छ ।
माथि उल्लेखित घटनाहरु केवल प्रतिनिधिमुलक मात्र हुन् । पछिल्लो समय कर्णाली प्रदेशमा विप्लव समूहप्रति प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । विप्लव समूहले गएको मंसिरमा मोरंगंका शिक्षकको हत्या गरेपछि प्रहरीले कर्णाली प्रदेशमा पनि विशेष अप्रेशन सुरु गरेको हो । यद्यपी विशेष अप्रेशनबारे प्रहरीले बताउन चाहँदैन । ‘कर्णाली नै विप्लव समूहको आधार इलाका हो, गाउँगाउँमा विप्लवका कार्यकर्ताहरु छन्’ एक प्रहरी अधिकारी भन्छन्, ‘मोरंगमा विप्लवले शिक्षकको हत्या गरेपछि कर्णालीमा पनि सुरक्षा सतकर्ता बढाइएको छ ।’ ति प्रहरी अधिकारीका अनुसार अहिले विप्लवका कार्यकर्ता खोज्न सादा पोशाकमा गाउँगाउँमा प्रहरी परिचालन भएका छन् ।
‘दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेदेखि नै विप्लव समूहप्रति प्रहरीले निगरानी बढाउन थालेको हो’ ति प्रहरी अधिकारीले भने,‘मोरंगमा शिक्षकको हत्यापछि कर्णालीमा प्रहरीले गाउँमा पनि नियमित गस्ती गरिरहेको छ ।’ अघिल्लो वर्ष पुस ६ गते गाउँपालिकाका अध्यक्ष शाहीलाई घरबाटै अपहरणमा परेका थिए । विप्लव कार्यकर्ताले उनलाई मध्यराती घरबाटै अपहरण गरेर कालिकोट पु¥याएका थिए । प्रहरीले अध्यक्ष शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिका–१ छाती भन्ने ठाउँको जंगलबाट उद्दार गरेको थियो । दुई बर्षअघि विप्लवले चन्दा आतंक मच्याउन थालेपछि स्थानीय जनप्रतिनिधिले सुरक्षा मागसमेत गरेका थिए ।
तर पछिल्लो समय भने कर्णाली प्रदेशमा विप्लवका ध्वंसात्मक गतिविधि भएका छैनन् । तर विप्लवका कार्यकर्ता पक्राउ गर्नेक्रम भने रोकिएको छैन । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै कर्णाली प्रदेशभर विप्लवका ३२ जना कार्यकर्ताहरु पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता मधाव श्रेष्ठले जानकारी दिए ।
मुद्दा खेप्दै विप्लवका तीन कार्यकर्ता
राज्यविरुद्ध विभिन्न अपराध गरेको भन्दै प्रहरीले विप्लव समूहका तीन जना कार्यकर्तालाई मुद्दा चलाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार रुकुमपश्चिमबाट प्रक्राउ परेको एक जना र कालिकोटबाट पक्राउ परेका दुई जना गरी तीन जनालाई मुद्दा चलाइएको छ । उनीहरुलाई शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । पछिल्लो ६ महिनामा प्रहरीले कर्णालीका ३२ जना कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार सल्यानमा नौ जना, रुकुमपश्चिममा सात जना, सुर्खेत र जुम्लामा चार जना, कालिकोटमा तीन जना, डोल्पामा दुई जना, दैलेख र मुगुबाट एक÷एक जना विप्लवका कार्यकर्ताहरु पक्राउ परेका थिए ।
पक्राउ परेका मध्ये सल्यानका आठ जना, रुकमुपश्चिम, सुर्खेत र जुम्लाका चार÷चार जना, डोल्पाका दुई जना, दैलेख, कालिकोट र हुम्लाका एक÷एक जनालाई आवश्यक अनुसन्धानपछि छाडिएको छ । उनीहरुलाई संगठित अपराध, राज्यविरुद्धको अपराध, बम विष्फोट, ज्यान मार्ने, हत्या, अभद्र व्यवहार र आगजनीमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको थियो । तर दोषी प्रमाणित हुन नसकेपछि ति कार्यकर्ताहरुलाई छोडिएको प्रहरीले जनाएको छ । तर रुकुपश्चिमका दुई, मुगु र सल्यानका एक÷एक जनालाई भने पुर्पक्षका लागि कारागार चलान गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सह–प्रवक्ता श्रेष्ठले जनाकारी दिए । सरकारले विप्लव समूह ध्वंशात्मक गतिबिधीमा संलग्न भएको भन्दै गएको २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको हो ।
‘उच्च निगरानी बढाएका छौँ’
कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि विप्लव समूहका गतिविधिबारे उच्च निगरानी बढाएको जनाएको छ । ‘कर्णाली प्रदेशलाई विप्लव समूहले सुरक्षित क्षेत्र ठानेको देखिन्छ, त्यही कारण पनि हामीले यहाँ शान्ति सुरक्षामा खलल हुन नदिन उच्च निगरानी बढाएका छौं’ कर्णाली प्रदेशका प्रहरी प्रमुख (डीआइजी) वसन्तकुमार पन्तले भने, ‘विप्लव समूहले आफ्नो आधार इलाका भनेको स्थानमा नियमित रुपमा संयुक्त गस्ती गर्दै आएका छौँ ।’ उनकाअनुसार सुगम क्षेत्रमा नेपाल प्रहरीले एक्लै र दुर्गम जिल्लामा नेपाल प्रहरी रसशस्त्र प्रहरीले संयुक्त रुपमा गस्ती गरिरहेको छ । प्रहरीका अनुसार कालिकोट, डोल्पा, हुम्ला र मुगु जिल्लामा संयुक्त रुपमा गस्ती बढाइएको हो । त्यस्तै सुर्खेत, सल्यान, जाजरकोट, रुकुमपश्चिम र दैलेखमा नेपाल प्रहरी एक्लैले नियमित गस्ती गर्दै आएको छ । त्यस्तै जिल्ला सदरमुकाम, बजार क्षेत्र र नाकाहरुमा पनि प्रहरीले साधा पोशाकमा पनि निगरानी बढाएको छ । तर दुर्गम बस्तीमा नियमित गस्ती गर्नु प्रहरीका लागिसमेत चुनौतिपूर्ण छ । दुर्गम बस्तीमा प्रहरी तत्काल पुग्न पुग्न नसक्ने भएका कारण विप्लव समूहले आफ्ना गतिविधिहरु गर्नसक्ने प्रहरीको भनाइ छ ।
युग संवाददाता । । २४ पुष २०७७, शुक्रबार १३:३९