स्वदेशमै व्यवसाय गरे विदेश जानै पर्दैन

व्यवसायीक रुपमा सफल हुन औपचारिक पढाइ नै हुनुपर्छ भन्ने हुँदैन । तर व्यक्तिमा मेहेनत, परिश्रम गर्ने इच्छाशक्ति हुन जरुरी छ । जब व्यक्तिमा कुनै काम गर्ने इच्छाशक्ति भयो भने त्यो व्यक्ति अवश्य सफल हुन्छ । यस्तै धेरै दुख र संघर्ष गरेर व्यवसायमा सफल भएका व्यक्ति हुन् दलबहादुर कसेरा । उनले औपचारिक रुपमा १ कक्षा पनि पढेका छैनन् । तर व्यवसायमा भने उनी धेरै अघि बढेका छन् । व्यवसायमा धेरै माथी पुग्न सफल भएका छन् । सानो लगानीमा ओम ग्रील उद्योग सञ्चालन गरेका उनले अहिले उद्योगमा ६ जनालाई रोजगारी पनि दिएका छन् । आजको जम्काभेटमा उनै कसेरासँग हाम्रा सहकर्मी गीता थापाले कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंशः

रमाइलो बाल्यकाल

सुर्खेतको लेकवेशी नगरपालिका अन्तर्गत साटाखानीमा विस २०३२ सालमा जन्मिएका दलबहादुर कसेराको बाल्यकाल रमाइलोसँग नै वित्यो । बाल्यकालमा साथीहरुसँग खेल्न उनलाई औधी रमाइलो लाग्ने गथ्र्यो । उनी स्कुल जान्छु भन्दै बाटोमा साथीहरुसँग खेलेर दिन विताउने गर्थे । उनी बाल्यकालमा चुलबुले र चकचके स्वभावका थिए । बाटोमा बसेर साथीहरुसँगै केटी जिस्काउने कामहरु गर्न उनलाई साह्रै रमाइलो लाग्थ्यो ।

स्कुल नै पुगेनन्

उनी बाल्यकालमा घरदेखि स्कुल त जान्थे । तर स्कुलसम्म कहिल्यै पुगेनन् । साथीहरुसँग मिलेर बाटोमा नै खेल्ने र केटी जिस्काउने गर्थे । उनी भन्छन्, ‘पहिला स्कुल गएर के हुन्छ र ? भन्ने लाग्यो र साथीहरुसँग बाटोमा खेल्ने र केटी जिस्काउनतिर लागियो, अहिले धेरै पछुतो लाग्छ ।’ पढाइको महत्व उनले अहिले बुझेका छन् । पहिले नपढेर बाआमालाई ठगे जस्तो लाग्थ्यो । उनलाई तर आफैलाई ठगेका उनी बताउँछन् । नपढेकामा अहिले उनी धेरै पछुतोमा छन् । बाल्यकालमा घरका सदस्यकोभन्दा पनि साथीहरुको बढी माया लाग्थ्यो उनलाई । उनै साथीहरुको लहलहीमा लागेर उनी स्कुल नै गएनन् । उनी घरबाट त स्कुल जाने भन्दै हिँड्थे । तर स्कुल पुग्थेनन् । १० वर्षसम्म उनले घरमा बाआमालाई स्कुल जान्छु भनेर ढाँटेका थिए । उनी आफुले नपढेको भए पनि आफ्ना छोरा छोरीलाई भने पढाइरहेका छन् । उनी भन्छन्, ‘मैले त मेरो पढाइ विगारँ,े तर छोरा छोरीलाई जति सक्छन् पढाउँछु ।’ पहिले नपढेको सजाय उनी अहिले पाइरहेको बताउँछन् । कहीँकतै जाँदा पनि पढाइकै कुरा आउँदा उनलाई । धेरै पछुतो लाग्ने गर्छ ।

व्यवसाय सुरु


उनले ९ वर्ष अघिदेखि व्यवसाय सुरु गरेका हुन् । ओम ग्रील उद्योग नौ वर्षदेखि एरिचोकमा सञ्चालन गर्दै आइरहेका छन् । आफुले नपढेको भए पनि उनले पढेलेखेका साथीभाईहरुसँग हिसाव राख्न लगाउँछन् । सुरुमा उनले चार लाखबाट व्यवसाय सुरु गरेका थिए । अहिले महिनामा तीन लाखसम्मको कारोबार गर्ने गर्छन् । उनी भन्छन्, ‘मलाइ राम्रोसँग आफ्नो नाम लेख्न आउँदैन र त मैले आफ्नै ठाउँमा यतिको व्यवसाय गर्न सकेको छु भने पढेलेखेका युवा लागे भने कति गर्न सक्लान् ।’ उनी युवाहरुलाई विदेश गएर आफ्नो समय खेल नफाल्न पनि आग्रह गर्छन् । सानो लगानीमा पनि धेरै प्रगति गर्न सकिन्छ भन्ने उदारणिय पात्र बनेका छन् कसेरा ।

बाल्यकालको योजना केही थिएन

कसेराको बाल्यकालमा भविष्यमा केही न केही बन्छु वा गर्छु भन्ने केही योजना थिएन । उनलाई बाल्यकालमा पढ्न नगएको र बाआमालाई ठगेको याद अहिले आउँछ । बाल्यकालमा भविष्यको योजना बनाएको भए उनी पढ्न जान्थे अहिले अझै धेरै प्रगति गर्थे होला । उनी भन्छन्, ‘मैले त्यसरी भविष्यको योजना बनाएको भए सायद म पढ्थे होला, यो क्षेत्रमा होइन अझै ठुलो क्षेत्रमा हात हाल्थे अझै सफल व्यक्ति बन्न सक्थे । तर बाल्यकालमा साथी भए सबै पुग्छ भन्ने ठाने अहिले सजाय पाइरहेको छु ।’

भावी योजना

कसेराले सफल व्यापारीहरुको लिस्टमा पर्न सफल भएका छन् । उनले ओम ग्रील उद्योग सञ्चालनमा ल्याएर उद्योगमा ६ जनालाई अहिले रोजगारी दिइरहेका छन् । उनले भने, ‘म नपढेको भए पनि मैले ६ जनालाई उद्योगमा रोजगारी दिइरहेको छु ।’ उनको भावी योजना व्यवसायलाई अझै बढाएर धेरैलाई रोजगारी दिनु रहेको छ । विभिन्न स्थानमा उद्योगलाई सञ्चालन गरेर धेरै युवालाई रोजगारी दिने उनको मुख्य उद्देश्य रहेको छ । पढेलेखेका युवाहरु विदेश जाँदा उनलाई दुख लाग्ने गर्छ । आफ्नो देश, ठाउँमा गर्न सके जे पनि हुने र मेहेनत गर्न सके सफल हुने उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार