दुल्लु नगरपालिकामा राजश्व भुक्तानी अनलाइन प्रणालीबाट

सुर्खेत, २३ पुस ।

दैलेखको दुल्लु नगरपालिकाले अनलाइन भुक्तानी प्रणालीबाट राजश्व संकलन गर्ने भएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र हुने राजश्वको असुली कार्य अनलाइन भुक्तानी प्रणालीबाट गर्न लागेको हो । यसका लागि नगरपालिका र इ सेवा फोन पे प्रालिसँग बिहिबार सम्झौता भएको छ । नगरपालिकाका तर्फबाट नगरप्रमुख घनश्याम भण्डारी र कम्पनीका आधिकारिक प्रतिनिधी युवराज विष्टबीच सम्झौता भएको हो ।

नगरपालिकाका सेवालाई अनलाइन प्रणालीमा आवद्ध गराउन राजश्व भुक्तानी प्रणालीलाई समेत समावेश गरिएको नगरप्रमुख भण्डारीले बताए । उनले नागरिकले घरबाटै राजश्व भुक्तानी गर्न सहज बनाउनका लागि प्रविधिको प्रयोग गरिएको बताए ।

यस्तै, दुल्लु नगरपालिकाले वडा तथा नगरपालिका कार्यालयबाट प्राप्त गरिने सिफारिसलाई अनलाइन प्रणालीमा मार्फत प्रदान गर्ने भएको छ । नगरपालिकाले ‘सिफारिस’ नामक सफ्टवेयर निर्माण गरि तत्कालै कार्यान्वयनमा ल्याउन लागेको नगरप्रमुख घनश्याम भण्डारीले बताए । ‘सिफारिस’ सफ्टवेयर सञ्चालनमा आए पश्चात नगरपालिकाका नागरिकले आवश्यक फारमहरु अनलाइन प्रणाली मार्फत भरेर चाहिएको सिफारिस प्राप्त गर्न सक्नेछन् भने त्यसबापतको राजश्व इ सेवा फोन पे मार्फत भुक्तानी गर्न सक्ने छन् ।

दुल्लुखबरबाट साभार ।

तपाईको प्रतिक्रिया