ताजा खबर
  

सम्पादकीयः महिलामा लगानी

महिलामाथि विभेद रोकिएको छैन । मानव सबै बराबर हुन् । तर पनि हाम्रा कतिपय सोच, चिन्तन, संस्कार र अशिक्षाका कारण महिलालाई समान अवसर दिइएको छैन । न राजनीतिमा समान पहुँच छ, न त अवसरमा । महिलालाई केवल दोस्रो दर्जाको नागरिकजस्तै व्यवहार भइरहेको छ । अपवाद बाहेक महिलाले निर्णय प्रक्रियामा सहभागिता जनाउन पाए पनि अर्थपूर्ण सहभागिता हुन सकिरहेको छैन । पछिल्ला राजनीतिक आन्दोलन र परिवर्तनले महिलालाई आरक्षणको व्यवस्था गरेको छ । तर देशको नेतृत्व गर्ने दलहरुले नै आरक्षणमा तोकिएको मापदण्ड अनुसार महिलाको सहभागिता नै गराएका छैनन् । राजनीतिक उच्च तहमा नै महिलाहरु उपेक्षामा छन् । यस्तो अवस्थामा देशका दुरदराजमा महिलाको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । ग्रामीण क्षेत्रमा अहिले पनि महिलाहरु घरभित्रै सिमित छन् । पुरुषहरुको अधिनमा बस्न बाध्य छन् । आर्थिक स्रोतमा निर्णय गर्ने अधिकार नहुँदा उनीहरु परिवारबाटै हिंसामा पर्ने अवस्था छ । आज धेरै महिलाहरु परिवार र समाजबाट नै तिरस्कृत हुनु परेको छ ।

छोरीलाई धेरै नपढाउने । सानैमा विहे गरिदिने । र बुहारी बनेपछि उनीहरुलाई सम्पत्तिको अधिकार नहुने समस्या बढ्दो छ । यसले एकातिर महिलालाई परनिर्भर बनाएको छ भने सामाजिक सोचले पनि महिलालाई थप बाझ बहन गर्नुपर्ने बाध्यता छ । यसले महिलाहरु मानसिक र शारिरिक पीडाहरु सहन बाध्य छन् । आर्थिक अवस्था कमजोर भएका कतिपय महिलाहरु सन्तानको पालनपोषण गर्न नसक्ने अवस्थामा छन् । यसैको परिणाम आज धेरै बालबालिकाहरु शिक्षाको अवसरबाट बञ्चित बनेका छन् । उचित स्याहार नपाएकै कारण बालबालिकाहरु विभिन्न कुलतमा फस्ने गरेका छन् । यसको मूल कारण भनेको महिला आत्ननिर्भन नबन्नु नै हो । जबसम्म महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्दैनन्, तबसम्म समाज र परिवार बलियो हुन सक्दैन । यसकारण पनि राज्यले अब महिलाको आर्यआर्जन र सीप विकासमा लगानी गर्नुपर्ने हुन्छ । यस्तै विभिन्न सामाजिक संस्थाहरुले पनि महिलाको क्षेत्रमा लगानी गर्न आवश्यक छ ।


महिला भनेका आमा हुन् । आमा सक्षम र आत्नर्भिर भएमा सन्तानको पनि अवस्थामा सुधार आउँछ । यसकारण सरकारी तथा गैरसरकारी निकायले अब मुख्य रुपमा आधा धर्ती ओगट्ने महिलाहरुको क्षमता विकास र शसक्तिकरणमा लगानी गर्न जरुरी छ । उनीहरुमा लगानी भएको खण्डमा उनीहरु सक्षम र क्षमतावान बन्न सक्छन् । यसले उनीहरु एक्लै भएको अवस्थामा पनि आफू र परिवारलाई नेतृत्व गर्न सक्षम हुनेछन् । पुरुषले सहयोग नगरेर अलपत्र छाडेको अवस्थामा पनि महिलाले आफूलाई सही रुपमा स्थापित गर्न सक्ने अवस्था निर्माण गर्नु आजको आवश्यकता हो । यस्तै राजनीतिक र सामाजिक रुपमा पनि उनीहरुलाई उत्प्रेरित गर्दै अगाडि बढाउनेतर्फ राज्यका संयन्त्रहरु क्रियाशिल हुनु पर्दछ । यसले मात्र समग्र महिलाको अवस्थामा सुधार, आत्मनिर्भर, नेतृत्व तहमा पहुँच, अर्थपूर्ण सहभागिता र निर्णय प्रक्रियामा सहभागि गराउन सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार