मन्त्रीहरु नै गए प्रचण्ड–नेपाल समूहमा, कर्णालीमा ओली समूहलाई धक्का

सुर्खेत, २२ पुस ।

तत्कालिन एमाले हुँदा कर्णाली प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीको बाहुल्यता थियो । केन्द्रदेखि जिल्ला तहसम्म ओली समूहकै दबदवा थियो । तर २०७४ सालको संघ र प्रदेश सभाको निर्वाचनसँगै पूर्वमाओवादी र एमालेबीच चुनावी एकता भयो । चुनावी एकतापछि पनि ओली समूहकै दबदबा तोडिएन । प्रदेशसभामा ओली समूहले १२ सिट प्राप्त गर्दा माधवकुमार नेपाल समूहले आठ सिट मात्रै पायो । प्रदेश सभामा ओली समूहको बाहुल्यता भएकै कारण सुर्खेतबाट निर्वाचित सांसद यामलाल कँडेल संसदीय दलको नेतामा निर्वाचित भए ।

मुख्यमन्त्री हुने आशमा प्रदेश सभामा झरेका नेपाल समूहका सांसद प्रकाश ज्वालाले आफ्नै दलभित्र बहुमत जुटाउन सकेनन् । अन्नतः उनी मुख्यमन्त्रीको दौडबाट पछाडि हटेका थिए । तर तत्कालिन मोआवादीसँगको पार्टी एकतासँगै ओली समूह केही कमजोर भयो । तर प्रदेश सरकार र जिल्लासम्म ओली समूहकै दबदवा रह्यो । प्रदेश सरकारमा ओली समूहले तीन मन्त्री पाउँदा नेपाल समूहले एउटा मात्रै मन्त्री पायो । एकता प्रक्रियामा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र प्रचण्ड समूहले अध्यक्ष र जिल्ला संयोजकमा भागबन्डा गरे ।

यसमा माधव समूहलाई घाटा भयो । तर पार्टी विभाजनपछि भने कर्णालीमा ओली समूहलाई धक्का लागेको छ । अर्थात पछिल्लो समय आफ्नै कोटाबाट मन्त्री र सांसद बनेकाहरुले नै ओली समूहलाई छाडेका छन् । सांसददेखि मन्त्री सम्मले साथ छाडेपछि ओली समूहले पनि कमजोर बनेको महशुस गरेको छ । पूर्वएमालेबाट सांसद बनेका प्रदेशसभा सदस्य पदमबहादुर रोकायले ओली समूह परित्याग गरेसँगै जुम्लामा ओली समूहलाई धक्का पुगेको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री एवम् नेकपा हुम्लाका पार्टी सचिव दल रावल प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेसँगै हुम्लामा ओली समूह कमजोर बनेको छ ।

मन्त्री बुढाले ओली समूह परित्याग गरेपछि डोल्पामा भने प्रचण्ड–नेपाल समूहलाई राहत मिलेको छ । यद्यपी ओली समूहले पदको लोभ देखाएका मन्त्री र सांसदलाई अर्को समूहले ताने पनि त्यो दिर्घकालीन नभएको प्रतिक्रिया दिएको छ । अहिले पदसँग साटिएका व्यक्तिहरु कुनै पनि बेला आफ्नो समूहमा आउने र निर्वाचनपछि कर्णालीमा आफूहरु नै बलियो हुने ओली समूहको दाबी छ ।

‘निर्वाचन गर्नुको विकल्प छैन’

संघीय सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापाले देशलाई दुर्घटनाबाट बचाउन नयाँ निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले देशलाई दुर्घटनाबाट बचाउन र राजनीतिक स्थायित्वका लागि निर्वाचन गर्नुको विकल्प नरहेको बताएका हुन् । ‘बदलिंदो राजनीतिक घटनाले देश दुर्घटनामा फस्ने खतरा छ’ मन्त्री थापाले भने, ‘देशलाई दुर्घटनाबाट बचाउन अब निर्वाचन नै एकमात्र विकल्प हो ।’ देशले ताजा जनमत माग गरेको बताउँदै उनले चुनावमा जानुका विकल्प नरहेको तर्क गरे ।

उनले भने, ‘राजनीति शास्त्रको सिद्धान्तअनुसार सरकार वा प्रणाली संकटमा प¥यो भने जनतामाझ जानुपर्छ, अहिले हाम्रो सरकारले चालेको चुनावमा जाने कदम अग्रगामी छ ।’ आगामी निर्वाचनमा नेकपाका दुई समूहबीच एकता हुनसक्ने उनको भनाइ छ । ‘हाम्रो पार्टी विधिवित रूपमा फुटेको छैन’ मन्त्री थापाले भने, ‘आगामी निर्वाचनमा हामी एक भएर जनतामाझ जानसक्ने सम्भावना पनि छ, नभए कार्यगत एकता पनि हुनसक्छ ।’ नेकपाभित्रको आन्तरिक विवादले देश नै दुर्घटनामा फस्ने खत्तरा बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको उनको तर्क थियो । ‘प्रधानमन्त्रीले संसद विघटन गरेर देशलाई दुर्घटनाबाट बचाउनु भयो’ उनले भने, ‘संसद विघटन गर्नु सरकारको अग्रगामी कदम हो ।’

मन्त्री बुढाले पनि छोडे ओली समूह

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले पनि ओली समूह परित्याग गरेका छन् । ओली समूहबाट मन्त्री बनेका मन्त्री बुढाले मंगलबार मात्रै ओली समूह परित्याग गरेको सार्वजनिक घोषणा गरेका हुन् । ‘पार्टी एकताको अन्तिम चरणमा दुर्भाग्यवश विभाजनको भयानक अवस्थामा पुगेको छ’ मन्त्री बुढाले प्रेश विज्ञप्ति जारी गर्दै भनेका छन्,‘यस दुःखद् घडीमा नेपाली कम्युनिस्ट आन्दोलनलाई सफल र एकीकृत बनाउन मैले प्रचण्ड–नेपाल समूह रोजेको छु ।’ योसँगै कर्णाली प्रदेश सरकार पूर्णरुपमा सुरक्षित बनेको छ । यसअघि ओली समूहका सामाजिक विकास मन्त्री दल रावल र जुम्लाबाट निर्वाचित प्रदेश सांसद पदमबहादुर रोकाया पनि प्रचण्ड–नेपाल समूह प्रवेश गरिसकेका छन् । ओली समूहका दुई मन्त्री र एक सांसदलाई आफ्नो पक्षमा तानेपछि कर्णाली प्रदेश सरकार पूर्ण सुरक्षित बनेको हो । अब प्रदेश सभामा मुख्यमन्त्री शाहीको पक्षमा पूर्ण बहुमत जुटेको छ । उनी दाहाल–नेपाल समूहका हुन् ।

मुख्यमन्त्रीको पक्षमा बहुमत जुटैसँगै तत्कालका लागि प्रदेश सरकार पनि सुरक्षित बनेको छ । कर्णाली प्रदेश सभामा रहेका नेकपाका ३३ जना सांसदमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना र ओली समूहमा सभामुख राजबहादुर शाहीसहित ११ जना सांसद छन् । कुल ४० सदस्यीय प्रदेश सभामा २१ जना सांसदको समर्थन भएमात्र सरकार सुरक्षित हुन्छ । तर मुख्यमन्त्री शाहीको पक्षमा २२ जना सांसद पुगेका हुन् ।

जिल्ला दौडाहामा ओली समूह

ओली समूहले कर्णाली प्रदेशमा जिल्ला दौडाहा अभियान सुरु गरेको छ । पार्टी कार्यकर्ता आफ्नो पक्षमा पार्न ओली समूहले जिल्लामा भेला तथा आमसभा गर्न लागेको हो । प्रदेशमा हुने आमसभा तथा अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन खानेपानी मन्त्री एवम् ओली पक्षिय कर्णाली प्रदेश इन्चार्ज मणिचन्द्र थापा कर्णाली आएका छन् । उनले मंगलबार मात्रै ओली समूहले जाजरकोटमा आयोजना गरेको कार्यकर्मलाई सम्बोधन गरेका छन् । आज (बुधबार) नै मन्त्री थापाले दैलेखमा हुने सभालाई सम्बोधन गर्नेछन् । मन्त्री थापा जिल्लामा पनि अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् । कर्णालीमा केही कमजोर देखिएको ओली समूहले आफ्नो पक्षमा कार्यकर्ता तान्ने प्रयास गरिरहेको छ ।

तपाईको प्रतिक्रिया