सम्पादकीयः विकासमा ध्यान देऊ

राजनीतिको मुल उदेश्य जनताको सेवा हो । सैद्धान्तिक रुपमा जेसुकै भए पनि राजनीतिले जनताको भावनालाई सम्बोधन गर्नु पर्दछ । अर्थात राजनीति विकासका लागि हुनु पर्दछ । तर नेपालमा यो सम्भव भएको छैन । विकासका लागि राजनीति हुनुपर्नेमा विकासमा राजनीति बढ्दो छ । यही कारण देशमा विकासको गति सुस्त छ । त्यसमा पनि कर्णालीको अवस्था कमजोर छ । प्रदेश सरकार गठन भएपछि कर्णालीले विकासमा काँचुनी फेर्ने अपेक्षा गरिएको थियो । अहिले पनि अधिकांश नागरिकमा यो आकाँक्षा कायमै छ । विकास र समृद्धिको नारा दिएर दलहरुले चुनाव जिते । प्रदेशमा त दुई तिहाइभन्दा बढी बहुमतका साथ नेकपाले सरकार पनि बनायो । सरकार गठन भएपछि समृद्ध कर्णाली, सुखारी कर्णालीबासीको नारा पनि लाग्यो । तर पछिल्लो अवस्था हेर्दा राजनीतिक दल, सांसद र मन्त्रीहरुको ध्यान विकासमा होइन, सरकारमा पुग्ने । कसरी मन्त्री बन्ने, कसरी कुर्ची जोगाउने र कसरी कुर्चीबाट हटाउने भन्नेमै केन्द्रीत भएको देखिन्छ ।

जनताका लागि काम गर्ने र विकासका लागि नेतृत्व गर्ने नेताहरुको प्रतिबद्धता जनताले भुलेका छैनन् । तर निर्वाचन भएको चार वर्ष पुग्नैलाग्दा पनि निर्वाचित जनप्रतिनिधि र सरकारले काम गर्न सकेनन् । यतिबेला त झन् सरकारको ध्यान कसरी आफ्नो कुर्ची बचाउने भन्नेमा छ । नेकपाको विभाजनसँगै प्रदेशमा पनि सरकार फेरबदल गर्ने चर्चाहरु सुरु भएका छन् । एउटा पक्षले अर्को पक्षलाई कमजोर बनाउने खेलहरु सुरु भएका छन् । यसले पनि विकास निर्माणमा नेतृत्वको ध्यान गएको देखिदैन । सबै शक्ति आफ्नै सहकर्मीविरुद्ध प्रयोग गर्ने, आफु सत्तामा टिकिरहने र सत्तामा कसरी पुग्ने भन्नेमा सांसद र मन्त्रीहरु लागेका छन् । यसले यी नेताले कुर्ची त पाउलान् । सरकारको स्वाद पनि चाख्लान् । तर सर्वसाधारणले विकासको उपभोग गर्न पाउने अवस्था छ त ? कर्णालीको गरिबी, भोक र अभावविरुद्ध संघर्ष गर्न कसम खाएका यी नेताहरुको ध्यान त्यसमा छ त ? आज राजनीतिमा एउटा गम्भिर प्रश्न उठेको छ ।

राजनीति आफ्ना लागि होइन । राजनीतिक कुर्चीका लागि होइन । राजनीति कुर्ची जोगाउनका लागि मात्र होइन । र राजनीति अर्कालाई कमजोर बनाउने खेल मात्र होइन । राजनीति त विकास निर्माणको योजना संचालन गरी नागरिकलाई बढीभन्दा बढी सेवा तथा सुविधा दिनेतर्फ केन्द्रीत हुनु पर्दछ । तबमात्र नागरिकले राजनीतिबाट अर्थात नेतृत्वबाट लाभ लिन सक्छन् । विकास कसले गरेको हो भन्दा पनि विकास कसले गर्ने भन्ने प्रतिस्पर्धा हुनु पर्दछ । फरक नेता वा दलले गरे पनि त्यो विकास जनाताकै लागि हो । विकासमा प्रतिस्पर्धा हुनु पर्दछ । ताकी नागरिकले सहज रुपमा भौतिक सुविधाहरुको पनि उपभोग गरुन । जबसम्म राजनीति विकासका लागि हुँदैन, तबसम्म दल र तिनका नेताले दिने आश्वासन केवल झुटा मात्र हुनेछन् । जनताले सधै पत्याउन सक्ने अवस्था रहदैन । यसकारण पनि अब राजनीतिक नेतृत्वले विकासमा ध्यान दिनु पर्दछ ।

तपाईको प्रतिक्रिया