डोल्पाबाट उद्दार गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेत, २० पुस ।

डोल्पाबाट उद्दार गरी काठमाडौं लगिएका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । उपचारको क्रममा काठमाडौँ स्थित ह्याम्स अस्पतालमा उनको मृत्यु भएको हो । ह्याम्स अस्पताल स्रोतका अनुसार सिटी स्क्यान गर्दा मस्तिष्कमा रक्तसंचालन नभएको पाइएको थियो ।

उनको स्वास्थ्यमा सुधार नभएपछि पुस १८ गते शनिबार दिउँसो १२ बजे उनको निधन भएको हो । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । स्वास्थ्य सेवा कार्यालय, डोल्पा स्रोतका अनुसार मृतक शिक्षक आँधीखोला गाउँपालिका ५ स्याङ्गजा निवासी ५१ वर्षीय पुरुष हुन् ।

उनको दुनै डोल्पामा स्वाब संकलन भई पुस १४ गते प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट कोभिड १९ संक्रमण पुष्टि भएउको थियो । पृष्टि भएकै दिनदेखि होम आइसोलेसनमा बसेका उनलाई पुस १६ गते दिउँसो टाउको दुख्ने, वान्ता आउने तथा चक्कर लाग्ने समस्या भएपछि डोल्पा जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उनी मधुमेह, उच्च रक्तचाप, युरिक एसिडको दीर्घ रोगी भई औषधि सेवन गरिरहेको र विगतमा मुटुको अपरेसन गरेका विरामी हुन् । उनी कर्णाली प्रदेशका कोभिड १९ को संक्रमण पुष्टि भई मृत्युहुनेमा सत्ताइसौं मृतक रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया