घुस प्रकरणमा वडाध्यक्ष र प्रधानाध्यापक नियन्त्रणमा

दैलेख ।

शिक्षक नियुक्तिका लागि लिइएको परीक्षामा घुस लिएको आरोपमा दीप मावि पिपलकोटका प्रधानाध्यापक पदम सिजापती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आलेमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


परीक्षामा घुस लिएको परीक्षार्थीहरुबाटै खुलेपछि सोधपुछको लागि प्रहरीमा ल्याएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई दैलेखले शनिवार सदरमुकाममा सञ्चालन गरेका ४ वटा विद्यालयका शिक्षक छनौटको लिखित परीक्षा मध्ये दिप मावि पिपलकोटका मावि तहको अंग्रेजी विषयको एक जना राहत शिक्षक पदको परीक्षामा घुसको आरोप लागेको हो ।

नौमूले गाउँपालिकाको कालिका मावि चेप्टे टिमुरेको प्रावि दरबन्दीमा एक जना, भैरबी गाउँपालिकाको पुष्पलाल आवि गैरासरुको प्रावि राहत एक जना, भैरबीकै मनमोहन प्रावि डाँडापारीको प्रावि राहत शिक्षक र दीप मावि पिपलकोटको मावि राहत शिक्षक पदमा इकाईले शनिवार सदरमुकाममा सञ्चालन गरेको थियो ।

इकाई कार्यालयका अनुसार कालिका मावि चेप्टे टिमुरेका लागि सहभागी ६ जना र मनमोहन प्रावि डाँडापारीको प्राविको राहत शिक्षकमा ५ परीक्षार्थी मध्ये एक जना पनि उत्तीर्ण नभएका, पुष्पलाल आवि गैरासरुको प्रावि राहत शिक्षक पदको परीक्षामा सहभागी ५ जना मध्ये १ जना र दीप मावि पिपलकोटको मावि राहत शिक्षक पदमा प्रतिस्पर्धी ४ जना मध्ये १ जना उत्तीर्ण भएका थिए ।

विवाद आएको दीप मावि पिपलकोट र एक सय पूर्णांकको पहिलो पत्र बस्तुगत परीक्षामा ५० अंक ल्याउन नसकेका कारण एकै जना उत्तीर्ण हुन नसकेका दुई विद्यालयको परीक्षा प्रक्रिया रोकिएको र पुष्पलाल आवि गैरासरुमा प्रावि राहत शिक्षक पदमा विषय बिज्ञहरुले दोश्रोपत्रको परीक्षा लिई शिवप्रसाद खनाल उत्तीर्ण हुनुभएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापाले दीप माविको परीक्षामा घुस प्रकरणमा मोसिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएको तर इकाई कार्यालयको कुनै संलग्नता नरहेको र सबै परीक्षाहरुमा शिक्षक सेवा आयोगको मापदण्ड पालना गरिएको बताउतुभयो ।

घुस प्रकरणमा दीप मावि पिपलकोटका प्रधानाध्यापक सिजापती र विव्यस अध्यक्ष एवं आठबीस नगरपालिका–५ का वडाध्यक्ष आलेमगरको अलवा तेश्रो व्यक्तिको समेत संलग्नता देखिएकोले आरोपितको खोजी र थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।

परीक्षामा अनियमिता विषयमा जिल्ला प्रशासनले हेर्ने भए पनि एक वर्ष भन्दा बढी कैद सजाय हुने अनियमिततालाई जिल्ला अदालत वा नगद लेनदेन भएको पुष्टि भएमा प्रहरीले नै अख्तियार दुरुपयोग आयोगमा पठाउन सक्ने कानूनी व्यवस्था छ ।

विद्यालयका शिक्षकका लागि हुने सबैजसो परीक्षामा बढी रकम दिनेलाई उत्तीर्ण गराउने गरिएको पटकपटक गुनासो आइरहने भए पनि गत वर्ष यस्तै अनियमितता डुंगेश्वर गाउँपालिका–५ का वडाध्यक्ष एवं पिपलचौतारा माविका विव्यस अध्यक्ष टेकबहादुर भण्डारी बिरुद्ध अख्तियारले कारवाही गरेको थियो । यो दोश्रो घटना हो ।

शिक्षक नियुक्तिमा पटकपटक अनियमितता हुने गरेकोेले पहिलेका नियुक्तिहरुमा पनि खोजबिन हुनुपर्ने अनेरास्ववियूका सहसंयोजक हेमन्त दशौंदीको प्रतिक्रिया छ । नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य प्रभा सिजापतिले पालिका र समन्वय इकाईले मोलमोलाईमा गरेको कारण यस्ता बिकृतिले झाँगिएको टिप्पणी गर्नुभयो ।

‘राहत समेत सबै शिक्षकको नियुक्ति शिक्षक सेवा आयोगले मात्रै गर्ने गरे घुस प्रकरण रोकिने योग्य व्यक्तिले अवसर पाउने अवस्था आउन सक्छ, नेपाल शिक्षक संघले भन्दै गरेको तर सरोकारवालाहरु चुप बसेका छन् ।’ नेपाल शिक्षक संघका जिल्ला सभापति कृष्णबहादुर थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया