जसले बाल्यकालको रहर पूरा गरिन्

व्यक्तिका इच्छाहरु अनेक हुन्छन् । तर सबै इच्छा पुरा हुँदैनन् । केहीकेही इच्छाहरु यस्ता हुन्छन्, जो पुरा नहुँदासम्म जीन्दगी नै अधुरोजस्तो लाग्छ । आफ्नो इच्छा पुरा गर्न व्यक्तिले जस्तोसुकै त्याग गर्न तयार हुन्छन् । यस्तै एउटा इच्छा थियो डम्मरकुमारी रोकायको पनि । उनलाई बाल्यकालदेखि निजामति कर्मचारी बन्ने इच्छा थियो । जुन इच्छा पुरा गर्न उनले माध्यमिक तहको शिक्षकको स्थायी जागिर नै छोडिन् । अंग्रेजी विषयको मान सम्मानको कुनै कमी थिएन । तलवभन्दा ११ हजार बढी दुर्गम भत्ता थियो । ट्यूसन पढाएर पनि थप आम्दानी गर्न सकिन्थ्यो । तर निजामति कर्मचारी हुने सपना पुरा गर्न उनले सबै त्यागिन् । खाइपाइ आएकोभन्दा कम तलव सुविधामा काम गर्न राजी भइन् । प्रस्तुत छ, उनै रोकायाको जीवन भोगाइ र निजामतिको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश ः

सुखद् बाल्यकाल

प्रायः किसान परिवारको जीवन संघर्षपूर्ण हुन्छ । त्यसमा पनि छोरीहरुले त मेलापात नगरेर सुखै पाइदैन । मेलापातका कारण कतिपयले पढ्नलेख्न पाउँदैनन् । स्कुल गए पनि मेलापात गर्दागर्दै पढाइ बिग्रन्छ । तर डम्मरकुमारी रोकायको जीवनमा भने त्यो लागु भएन । सामान्य मेलापात त गरिन् । तर अन्यले जस्तो मेलापात गर्नु परेन् । किनकी उनका बुवाआमा छोरीको भविष्यप्रति निकै सचेत थिए । बुवा हरिलाल र आमा धनरुपाले कखरासमेत पढेका थिएनन् । तर पढाइको महत्व शिक्षित व्यक्तिभन्दा हजारौ गुणा बढी बुझेका थिए । ‘छोरी तिमीले पढेर सरकारी जागिर खानुपर्छ’ उनलाई आमाबुवाले सधै यस्तै भन्थे । यही उत्प्रेरणाले उनले पढाइको महत्व बुझिन् । बाल्यकालमै घरमा पढ्ने वातावरण पाइन् । विस २०४० साल साउन १० गते वीरेन्द्रनगरको ईत्राममा जन्मिएकी डम्मरकुमारीको बाल्यकाल सुखद् रह्यो ।

पढाइमा सधैं सफल

किसान परिवारका महिलालाई मात्रै होइन, अन्य पेशाका महिलाहरुले पनि घरायसी काम बढी समय दिनुपर्छ । जसकाकारण अध्ययनको लागि प्रायः महिलाहरुले समय व्यवस्थापन गर्न सक्दैनन् । विवाहपश्चात बालबच्चा हुर्काउनेदेखि बुहारीको भूमिका निभाउनु पर्छ । यही कारण अधिकांश महिलाले विवाहपश्चात पढाइ छोड्नुपर्छ । कतिपयको घर व्यवहारकै कारण पढाइ बिग्रन्छ । डम्मरकुमारीले यो भूमिका निभाउनु प¥यो । इन्टर सकिएपछि विवाह बन्धनमा बाँधिइन् । तर उनले भने पढाइमा असफलता बेहोर्नु परेन । कक्षा १ देखि स्नातकोत्तर पुरा गर्दा असफलताको अनुभव गर्नु परेन । श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयबाट इत्रामबाट औपचारिक शिक्षा सुरु गरेकी रोकायले २०५५ सालमा एसएलसी उत्तिर्ण गरेकी हुन् । त्यसबेला इत्राम स्कुलबाट उनीसहित तीनजना छात्रा मात्रै एलएलसीमा सफल भएका थिए । प्रविणता प्रमाणपत्र (कक्षा ११, १२) देखि स्नातकोत्तर तहसम्मको पढाइ सुर्खेत क्याम्पस शिक्षाबाट पुरा गरेकी छिन् । माध्यमिक तहमा पढाइका बाहेक अतिरिक्त त्रियाकलापमा पनि सहभागी हुन्थिन् । हाजिरीजवाफ प्रतियोगिता उनको रुचिको विषय थियो ।

माइतीको उत्पे्ररणाले लोकसेवा पास

छोरीहरुले जन्म घर छोड्नुपर्छ । यहीकारण प्रायः छोरी र छोराबीच ठूलो विभेद छ । सकेसम्म रोरीहरुलाई धेरै पढाउँदैनन् । पढाइ पनि राम्रो स्कुल र कलेजमा पाउँदैनन् । तर समाजमा कोही यस्ता आमाबुवा पनि हुन्छन् । जसले विहेपछि पनि छोरीलाई छोरा सरह माया र हौसला दिन्छन् । यही आमाबुवाको माया र उत्प्रेरणाका कारण डम्मरकुमारीले लोकसेवा पास गर्नसक्ने हिम्मत गरिन् । ‘विहेपछि पनि माइतीको धेरै सहयोग र हौसला पाएँ’ उनी भन्छिन्, ‘आमाबुवाकै कारण म यो स्थानमा आएकी हुँ ।’ उनी हरेक सफलतामा आमाबुवाको सहयोग महत्वपूर्ण रहेको जिकिर गर्छिन् ।

शिक्षक सेवा सफल हुँदा…

डम्मरकुमारले सानैदेखि नै सरकारी जागिर खाने सपना देखेकी थिइन् । जसमध्ये पनि निजामित कर्मचारी हुने उनको एकमात्र लक्ष्य थियो । जुन लक्ष्य पुरा गर्न धेरै संघर्ष गरिन् । घर व्यवहार चलाउन जागिर खानैपर्ने अवस्था आयो । तर सुरुमै निजामति हुन सकिनन् । अंग्रेजी विषय अध्ययन गरेकी उनलाई खर्च जुटाउन खासै धेरै संघर्ष गर्नुपर्ने अवस्था थिएन । ट्यूसन पढाएर भए पनि खर्च धान्न सक्थिन् । भाग्यले शिक्षक बन्ने अवसर पनि पाइन । पाएको अवसरलाई सदुपयोग गरिन् । शिक्षण पेशामा लागे पनि लोकसेवाको रहर मरेको थिएन । शिक्षण पेशा र लोकसेवाको अध्ययनलाई सँगसँगै अगाडी बढाइन् । २०७० सालमा प्रावि, निमावि र माविमा तहको शिक्षक सेवाको परीक्षा दिइन् । संयोग यस्तो मिल्यो कि, एकैपटक ६ वटा कोटामा सफल भइन् । प्राविदेखि माविसम्म खुल्ला र महिला गरी ६ वटै कोटामा लिखित परीक्षामा पास गरिन् । मावि तहमा रोजिन् । चन्दननाथ नमूना माध्यमिक विद्यालयमा करिव साढे दुईवर्ष शिक्षण गरिन् ।

अनि शिक्षक छाडिन्…

शिक्षण पेशामा राम्रो सम्मान थियो । विद्यार्थीकी मनपर्ने शिक्षिका थिइन् । अंग्रेजी विषय पढाउने उनलाई आम्दानी पनि राम्रै थियो । तलवका अतिरिक्त ट्यूसन पढाउन पाउँथिन् । कार्यथलो जुम्ला भएका कारण सरकारले ११ हजार रुपैयाँ दुर्गम भत्ता पनि दिन्थ्यो । यति हुँदाहुँदै पनि रोकायले शिक्षण पेशालाई निरन्तरता दिन सकिनन् । किनकी बाल्यकालमै निजामति बन्ने देखेको सपना पुरा भएको थिएन । यही सपना पुरा गर्न रोकायले स्थायी जागिर छोडिन् । २०७३ सालको लोकसेवा आयोगले लिएको शाखा अधिकृतको परीक्षामा सफल भइन् । निजामति कर्मचारी भएपछि पनि पहिलो कार्यथलो जुम्ला नै प¥यो । शिक्षा कार्यालय जुम्लामा रहेर सेवा गरिन् । कर्मचारी समायोजन हुनुभन्दा पहिले काजमा सुर्खेतको बराहताल गाउँपालिकामा रहेर सेवा गरिन् । संयोगवश समायोजनमा पनि बराहताल गाउँपालिकामै भयो । रोकायाले शिक्षा युवा तथा खेलकुद शाखाको नेतृत्व सम्हाल्दै आएकी छिन् । अवकाशपछि सामाजिक सेवामा अग्रसर हुने उनको योजना छ ।

तपाईको प्रतिक्रिया