सुब्बाकुनामा शिक्षण अस्पताल स्थापना गर्ने एमयूको तयारी

सुर्खेत, १८ पुस ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले शिक्षण अस्पताल संचालनको प्रक्रिया अघि बढाएको छ । स्वास्थ्यतर्फका स्वास्थ्य विज्ञान संकायतर्फ नयाँ शैक्षिक सत्रदेखि नै वीपीएच, वीएसी नर्सिङ र वीए नर्सिङ विषयको पठनपाठन सुरु गर्ने तयारी गरेको विश्वविद्यालयल शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढाएको हो ।

शिक्षण अस्पताल स्थापनाका लागि जग्गाको टुंगो लागेको छ । वीरेन्द्रनगर–१० सुब्बाकुना नजिक रहेको स्वर्गिय राजा वीरेन्द्र शाहको नाममा रहेको र हाल नेपाल ट्रष्टको नाममा रहेको जग्गामा शिक्षण अस्पताल स्थापना हुने लगभग पक्कापक्की भएको हो । रत्नराजमार्ग र भेरी नदीसँग जोडिएको, सुर्खेत उपत्यकाको उच्च स्थानमा रहेका कारण पनि शिक्षण अस्पताल संचालनका लागि उक्त जग्गा उपयुक्त देखिएको उपकुलपति प्राडा नन्दबहादुर सिंहले बताए ।

उक्त जग्गा प्रयोग गर्न पाउने कानुनी प्रक्रियाका लागि विश्वविद्यालयले नेपाल ट्रष्टसँग प्रक्रियासमेत अघि बढाएको छ । ‘ट्रष्टका अध्यक्ष (उपप्रधानमन्त्री इश्वर पोखरेल) सँग भेटेरै कुराकानी भइसकेको छ’ उपकुलपति सिंहले भने, ‘जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउन उहाँ सकारात्मक हुनुहुन्छ । कानुनी प्रक्रिया पुरा भएपछि ट्रष्टकै जग्गामा शिक्षण अस्पताल स्थापना गर्नछौं ।’ केहीदिन अघि विश्वविद्यालयका उपकुलपति, स्वास्थ्य राज्यमन्त्री नवराज रावत र उपप्रधानमन्त्री पोखरेलबीच शिक्षण अस्पतालका लागि विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

छलफलमा उपप्रधानमन्त्री पोखरेलले कानुनी प्रक्रिया पुरा गरेर ल्याउन भनेपछि जग्गाको स्थलगत अनुगमन गरिएको हो । उपकुलपतिसहित विश्वविद्यालयका पदाधिकारीहरु र राजनीतिक दलले प्रस्तावित जग्गाको अवलोकन गरिसकेका छन् । जग्गा प्रयोगको लागि आवश्यक प्रक्रिया पुरा भएपछि चालु आर्थिक वर्षमै डीपीआर गर्नेे विश्वविद्यालयले लक्ष्य छ । ‘कानुनी प्रक्रिया पुरा हुनवित्तिकै डीपीआर र अन्य कामहरु सुरु हुन्छ’ उपकुलपति सिंहले भने, ‘कानुनी प्रक्रिया पुरा गर्न केही समय लाग्ला, तर ट्रष्टकै जग्गामा शिक्षण अस्पताल बन्नेमा अब दुईमत छैन ।’ अस्पतालको डीपीआर तयार भएपछि लगानीका लागि अन्तर्राष्ट्रिय दातृ निकायलाई सहयोग माग गर्ने उपकुलपति सिंहले जानकारी दिए ।

शिक्षण अस्पताल सञ्चालनका लागि लगानीको कमी नहुने उनको विश्वास छ । सरकारकै विश्वविद्यालय भएका कारण ट्रष्टको जग्गा विश्वविद्यालयले पाउन सहज हुने अपेक्षा गरिएको छ । विस २०२९ सालमा सुर्खेतमा क्षेत्रीय स्तरको दरबार निर्माण गर्ने उद्देश्यले जंगल क्षेत्रको जग्गा राजपरिवारका लागि छुट्याइएको थियो । तर जंगल क्षेत्र भएका कारण हालसम्म कुनै पनि प्रयोजनमा आएको छैन । सुर्खेत उपत्यकाको दक्षिणपूर्वी क्षेत्रमा रहेको जग्गा देउती बज्यै सामुदायिक वन र शिवशक्ति सामुदायिक वन उपभोक्ता समितीमार्फत संरक्षण हुँदै आएको छ । सम्पूर्ण दृष्टीकोणले पायक पर्ने स्थान र सरकारी जग्गा भएका कारण अस्पताल सञ्चालनका लागि उपयुक्त छ ।

उक्त जंगलमा झण्डै ४२ विगाह अर्थात दुईलाख ३३ हजार वर्गमिटर जग्गा ट्रष्टको नाममा छ । उक्त जग्गा २०३४ साल बैशाख २ गते तत्कालिन राजा वीरेन्द्रको नाममा कायम भएको हो । २०६३ सालपछि सरकारले राजपरिवारको नाममा रहेको जग्गा तथा भौतिक संरचना स्वतः नेपाल ट्रष्टको स्वामित्वमा हुने व्यवस्था गरेपछि उक्त जग्गा पनि हाल ट्रष्टकै स्वामित्वमा कायम भएको हो । कुनै समय सोही जग्गालाई औद्योगिक क्षेत्र निर्माण गर्ने प्रस्ताव गरिएको थियो ।

पाठ्यक्रम अन्तिम चरणमा

नयाँ शैक्षिक सत्रबाट स्वास्थ्य विज्ञान संकाय सञ्चालन गर्ने तयारी गरेको विश्वविद्यालयले स्वास्थ्यतर्फका पाठ्यक्रम निर्माण प्रक्रिया अघि बढाएको छ । जसमध्ये वीपीएच, वीएसी नर्सिङ र वीए नर्सिङ विषयका पाठ्यक्रम अन्तिम चरणमा पुगेको विश्वविद्यालयका उपपकुलपति प्राडा नन्दबहादुर सिंहले जानकारी दिए । विज्ञान संकायमा डीन नियुक्ती भएपछि विज्ञान संकायको पाठ्यक्रम, शैक्षिक कार्यक्रम तथा संगठन संरचना लगायतका कामहरुले पूर्णता पाउने उपकुलपतिले जानकारी दिए ।

पाठ्यक्रम तयार भएपछि अबको ६ महिनाभित्रै पठनपाठन सुरु गरिनेछ । स्वास्थ्य संकायको पठनपाठन सुरु भएको दुई बर्षभित्र एमवीवीएसको अध्ययन सुरु गर्ने विश्वविद्यालयको लक्ष्य छ । शिक्षण अस्पताल सञ्चालनमा आएपछि मात्रै एमवीवीएसको पठनपठान सुरु गर्न पाइन्छ । सोहीअनुसार विश्वविद्यालयले शिक्षण अस्पताल खोल्ने प्रक्रिया अघि बढाएको हो । कर्णाली प्रदेशकै नमूना र रेफरल शिक्षण अस्पताल बनाउने उपकुलपतिले योजना छ । विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने योजना बनाएको क्षेत्र यायाताको दृष्टकोणले सहज छ । रत्न राजमार्गको छेउमै रहेको जग्गामा वीरेन्द्रनगरका रिङरोडसँग जोडिएको छ । हाल सुर्खेत उपत्यका खानेपानी आयोजनाको पानी ट्याङ्कीसमेत छेउमै भएका कारण खानेपानी, विद्युत, यातायात जस्ता पूर्वाधारले शिक्षण अस्पतालको लागि प्रस्तावित क्षेत्र उपयुक्त रहेको विश्वविद्यालयको दाबी छ ।

डीन नियुक्तीको तयारी

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्वास्थ्य संकायसहित अन्य सात वटा संकायमा डीनहरु नियुक्तीको प्रक्रिया अगाडि बढाएको छ । अबको डेढ महिनाभित्र सबंै संकायका डीनहरु नियुक्ती गर्ने विश्वविद्यालयले जनाएको छ । यसअघि सञ्चालन र थप भएका संकायमा डीन नियुक्ती गर्नेछ । विश्वविद्यालयको दशौं सभाले स्वास्थ्य विज्ञान संकाय, कृषि तथा वन विज्ञान संंकाय, अध्ययन अनुसन्धान तथा विकास केन्द्र संकाय र कर्णाली आदिवासी ज्ञानसीप तथा प्रविधि अध्ययन संस्थान संकाय थप गरेको थियो । यसअघि सञ्चालमा रहेका मानविकी तथा सामाजिकशास्त्र संकाय, शिक्षाशास्त्र संकाय, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि र इन्जिनियरिङ संकायमासमेत डीनहरु रिक्त छन् । डीन नियुक्ती गरेपछि मात्रै नयाँ संकायका पाठ्यक्रम, शैक्षिक संरचना लगायतका कामले पूर्णता पाउने छ । विश्वविद्यालयले कृषि तथा वन विज्ञान कर्णालीमै पहिलो पटक पठनपाठन सुरु गर्न लागेको हो भने अध्ययन अनुसन्धान तथा विकास केन्द्र र कर्णाली आदिवासी ज्ञानसीप तथा प्रविधि अध्ययन संस्थान नेपालमै पहिलो पटक अध्यापन हुन लागेका लागेका विषयहरु हुन् ।

तपाईको प्रतिक्रिया