लिमीका गाउँ खाली हुने डर, धेरै घरमा लाग्न थाले ताला

हुम्ला, १८ पुस ।

हुम्लाको हिमालपारीको गाउँ लिमीबाट गाउँ छोड्नेको संख्या बर्सेनि बढ्दै गएको छ । गाउँमै व्यापार व्यवसायको विकल्प नदेखिनु र स्थानीयहरु शहरमुखी भएपछि घर नै बन्द गरेर गाउँ छोड्नेको संख्या बृद्धि भएको हो ।

लिमी उपत्यकामा तीनवटा गाउँ हल्जी, तील र जाङबाट बर्सेनि काठमाडौँसहितका शहरी क्षेत्रमा जानेको संख्या बढ्दै गएको तील गाउँका राङडोल तामाङले बताए । एक हजार दुई सय वर्ष पुरानो गुम्बाका कारण अरु दुई गाउँ भन्दा हल्जीबाट शहर भासिनेको संख्या अलि कम छ ।

विशेष गरि व्यापार व्यवसायको शिलशिलामा राजधानी काठमाडौँ, भारतको दिल्ली, हङकङ र अमेरिका जस्ता देश पुगेपछि गाउँ फर्कन नमान्ने संख्या बढेको छ ।

जाङ गाउँका ६७ घरधुरी मध्ये ३३ घरधुरी हालसम्म गाउँ छोडेर काठमाडौँ पलाएन भएको स्थानीय कुन्जोक तामाङले बताए । त्यसैगरि तील गाउँका ३२ घरधुरी मध्ये १२ र हल्जीका ८७ घरधुरी मध्ये दुई घरधुरीले गाउँ छाडेका छन् ।

दुःख धेरै र काम बढी गर्नु पर्ने भएको कारण तथा पशुपालन व्यवसाय लिमीबाट हराउन थालेपछि गाउँ छोड्नेको संख्या बढ्दै गएको कुन्जोक तामाङले बताए ।

लिमीका युवाहरु शहरी रमझममा आर्कषित हुन थालेपछि पनि गाउँ छोडेर काठमाडौँ केन्द्रित हुने बढेका हुन् । लिमीमा गाउँ छोडेर जानेको घरमा ताला लाग्ने र जग्गा जमिन बिक्री गर्न नपाउने नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।

गाउँ छोडेर जानेले जिन्सी सामान बिक्री गर्न वा आफूसँगै लैजान पाउने भए पनि जग्गा जमिन भने बिक्री गर्न नपाउने चलन पुरानै भएको उनले बताए । यसरी छोडेर जानेको जग्गा जमिन अन्य गाउँलेले उपभोग गर्न पाउँछन् । उक्त जग्गा पछि फर्केमा धनीले नै लिन पाउने व्यवस्था छ । वडा अध्यक्ष तामाङले तीनै तहका सरकारसँग आधुनिक सेवा सुबिधा उपलब्ध गराएर गाउँ छोड्ने चलनलाई घटाउन अपिल गरिएको बताए ।

लिमीमा गाउँ छोड्नेको संख्या बृद्धि भएकोमा कर्णाली प्रदेशसभा (ख) का सांसद जीवनबहादुर शाही पनि चिन्ता व्यक्त गर्छन् । उनले अब लिमीलाई सडक सञ्जालमा जति सक्दो चाँडो जोडेर विद्युतिकरण गर्दै सञ्चारको पहुँच पु¥याएर स्थानीयलाई बाहिर नजाने वातावरण बनाउने बताए ।

देशसञ्चारबाट साभार ।

तपाईको प्रतिक्रिया