सानैदेखि थियो शिक्षक बन्ने रहर

संर्घष विनाको जीवनको अर्थ नै हुँदैन । दुखसँग जो व्यक्ति रमाउन सक्छ । उसले नै जीवनमा सफलताको शिखरमा पुग्न सक्छ । यस्तै दुखसँग मितेरी गाँस्दै जीवनलाई सुन्दर बनाउन धेरै दुख झेल्दै अघि बढेका व्यक्ति हुन् जयप्रसाद तिमिल्सेना । उनी तीन वर्षको हुँदा उनकी आमाको निधन भयो । चार दिदीपछि जन्मिएका उनको बाल्यकाल दुखद् नै वित्यो । सानै उमेरदेखि दुखलाई नजिकबाट बुझेका उनले जीवनमा सफल हुन धेरै संर्घष गरे । त्यही दुख, मेहेनत र परिश्रमको फल आज उनले पाएका छन् । आज उनी एक शिक्षक, समाजसेवी भएर सयौं बालबालिकाको अभिभावक र उज्यालो छर्ने किरण बनेका छन् । आजको जम्काभेटमा उनै तिमिल्सेनासँग हाम्रा सहकर्मी गीता थापाले कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ः

दुखद् बाल्यकाल

पिता भवानीप्रसाद तिमिल्सेना र माता चन्द्रा तिमिल्सेनाको कोखबाट वि.स. २०२९ सालमा दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका जयप्रसाद तिमिल्सेनाको बाल्यकाल सुरुमा त रमाइलो नै वित्यो । चार दिदीपछि जन्मिएका उनले सबैको माया पाए । दिदीहरुको प्यारोभाइ भएर केही समयको बाल्यकाल रमाइलोसँग वित्यो । उनी तीन वर्षका थिए । उनको आमाको रुखबाट लडेर निधन भयो । आमाको निधनपछिको बाल्यकाल भने उनको दुखद् नै रह्यो । घरको काम, घाँसदाउरा गर्दैमा उनको बाल्यकाल वित्यो । खेतबारीमा जे उत्पादन हुन्थ्यो, त्यही खाएर दिन गुजारा गर्नु पथ्र्यो । भात खानलाई घरमा की पाहुँना आउनुपथ्र्याे की त चाडपर्व । जयप्रसाद घरमा पाहुँना आउँदा भात खान पाइन्छ भनेर निकै खुसी हुने गर्थे । उनी बाल्यकालमा आफुले सोचेको र चाहेको हुनैपर्ने स्वभावका थिए । जस्तो सुकै भए पनि उनले भनेपछि त्यो कुरा हुनै पथ्र्यो ।

पढाइमा संघर्ष

उनको गाउँमा नजिकै विद्यालय थिएन । छिमेकी गाविसको विद्यालयमा चार÷पाँच घण्टाको बाटो हिँडेर पढ्न जानुपथ्र्यो । गाउँमा औपचारिक शिक्षा पढेका खासै कोही थिएनन् । खुड्खुडी भन्ने गाउँमा भारतीय सेनाबाट पेन्सनमा आएका कान्छा आलेले गाउँका विद्यालय खोल्ने भन्दै विद्यार्थीलाई खाली चौरमा कखरा सिकाउने गर्थे । त्यस समयमा लेख्ने कापी कमल हुन्थेन । काठको सानो पाटीमा खरीले लेख्ने गर्थे । गाउँमा दुर्गा प्रावि स्थापना भएपछि उनले कक्षा तीनमा भर्ना भएर पढ्न थाले । कक्षा तीनसम्म त आफ्नै गाउँमा पढेका उनले कक्षा चारदेखि भने अर्काे गाउँमा रहेको भैरव निमाविमा पढ्न जान्थे । आमाको निधनपछि घरमा उनलाई पढ्नसमेत समस्या भयो । उनी घरबाट भागेर दिदीको घरमा बसेर पढ्न थाले । विद्यालय टाढा भएकाले पढ्न समस्या थियो । तर पनि उनलाई पढ्नमा उनकी दिदीले धेरै सहयोग गरिन् । उनी भन्छन्, ‘म दिदीको घरमा बसेर पढँे, दिदीको सहयोगले गर्दा नै म पढ्न सफल पनि भएँ ।’

उनले चामुण्डा माध्यमिक विद्यालय लेखबाट एसएलसी उर्तिण गरेका हुन् । कक्षा ११ देखि भने उनले सुर्खेत शिक्षा क्यापसमा पढे । उनले सुर्खेत शिक्षा क्याम्पसबाट वीएड र एमएड उर्तिण गरेका हुन् । उनले पढाइलाई अझै पनि निरन्तर नै दिएका छन् । उनी भन्छन्, ‘पढेर कहिल्यै सकिदैन, शिक्षाले मान्छेलाई बुद्धिवान् बनाउँछ ।’ अहिले मध्यपश्चिम विश्वविद्यालयमा नेतृत्व विकास सम्बन्धी अध्ययन गर्दै र समाजसेवा गर्दै आइरहेका छन् ।

जागिरको सुरुवात आफ्नै गाउँबाट


जयप्रसादले २०५१ सालदेखि जागिर सुरु गरेका हुन् । उनले चामुण्डा माविमा गणित विषयको शिक्षकको रुपमा नियुक्ती भएर पढाउन सुरु गरेका हुन् । २०५२ सालमा उनले देवी मावि विनायकमा मावि तृतीय श्रेणीको शिक्षकमा नियुक्त भएर पढाए । पछि उनले स्याथी रुपमा नियुक्त भएर देवी मावि विनायकमा पढाउन सुरु गरे । २०६३ सालमा चामुण्डा माविमा सरुवा भए । २०६३ देखि ६४ सम्म श्रोत केन्द्रमा श्रोतव्यीक्त भएर काम गरे । २०६४ देखि २०७७ सम्म चामुण्डा माविको प्रधानाध्यापक भएर काम गरिरहेका छन् । उनी अहिले विभिन्न विषयमा विभिन्न जिल्लामा प्रशिक्षकको रुपमा काम पनि गर्दै आइरहेका छन् । उनी विद्यार्थीलाई पढाउँदा सधै पाठयोजना बनाएर मात्र पढाउने गर्थे । जीवनमा कसरी सफल हुन सकिन्छ भन्ने कुरामा विद्यार्थीलाई बढी प्राथमिकता दिने गर्छन् ।

बाल्यकालको योजना

बाल्यकालमा आफुले पढ्ने विद्यालय नजिक नहुँदा उनले धेरै दुख खेप्नुप¥यो । उनको बाल्यकाल देखिको योजना शिक्षक बन्ने थियो । शिक्षक बनेर आफ्नो गाउँका विद्यार्थीलाई उज्यालोको बाटोतिर लैजाने उनको सपना थियो । आफुले पढ्दा पाएको दुख फेरी अर्काे विद्यार्थीले भोग्न नपरोस् भन्ने उद्देश्यले उनले मन लगाएर पढे र शिक्षक भए । शिक्षक भएपछि उनी सुगम जिल्ला रोजेर गएनन् । आफ्नै गाउँमै गए । ताकी गाउँका बालबालिकालाई पढ्न सहज होस् भनेर उनी आफनै गाउँमा गए । शिक्षामा योगदान दिनका लागि र गाउँबाटै डाक्टर, इन्जिनियर उत्पादन गर्ने उनको भविष्यको योजना तथा उद्देश्य थियो । जुन उनले पुरा पनि गरे । उनले शिक्षालाई श्रम, श्रमलाई सिर्जना र उत्पादनसंग जोड्ने उद्देश्यले २०७२ सालदेखि चामुण्डा माविमा प्राविधिक शिक्षा अन्तगर्त जेटीए सञ्चालनमा ल्याए । चामुण्डा माविलाई देशकै नमुना विद्यालय बनाउने उद्देश्यले अंग्रेजी माध्यममा पढाइ पनि सुरु गरिएको छ ।

अबको योजना

शिक्षालाई उत्पादनसँग जोड्नका लागि दुईसय ८३ रोपनी जग्गामा डिपीआर तयार भइरहेको छ । विद्यालयको योजना शिक्षालाई उत्पादनसँग जोड्ने रहेको छ । शिक्षालाई श्रम, श्रमलाई सृजना तथा उत्पादनमा रुपान्तरण गर्नका लागि योजनावद्ध अभियान सञ्चालन गर्ने योजना रहेको छ । हरेक व्यक्तिलाई खुसी र सफल बन्न र बनाउन शिक्षाको आवश्यकता पर्दछ । त्यसका लागि सफल शिक्षक चाहिन्छ । सफल शिक्षक बन्ने र अरुलाई बनाउने उनको उद्देश्य रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार