कर्णालीमा छैनन् सुरक्षित सडक

सुर्खेत, १६ साउन ।
कर्णालीका सडक यात्राका लागि जोखिम छन् । सुरक्षित सडक नभएकै कारण कर्णालीमा बर्सेनी सयौं सवारी साधन दुर्घटना हुने गरेका छन् । दुर्घटनामा हरेक वर्ष एकसय भन्दा धेरै यात्रुको मृत्यु हुने गरेको छ । सवारी साधनलाई दुर्घटनाबाट जोगाउन अपनाइएका प्रयासहरु कमजोर बन्दा थप समस्या बढेको हो ।
पछिल्लो केही बर्षमा सबैभन्दा बढी जोखिम कर्णाली राजमार्ग नै देखियो । जहाँ बर्सेनी ठूला दुर्घटना भए । दर्जनौं नागरिकको ज्यान गुमेपछि दुर्घटना रोक्न र न्यूनिकरणका लागि धेरै प्रयासहरु पनि भए । तीव्र गतिका कारण दुर्घटना बढेको मुख्य कारण देखिएपछि त्यसलाई रोक्न टाइमकार्ड पनि लागू गरियो । तर पनि जोखिम कम भएको छैन । पछिल्लो एक वर्षको अवधिमा मात्र कर्णालीका गाडी दुर्घटनामा परी ९७ जनाको ज्यान गएको छ ।
ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशका अनुसार अर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशभर दुईसय ३६ वटा घटनामा दुईसय ६५ वटा सवारी साधन दुर्घटनामा परेका छन् । ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान सुमानसिंह पुनले दिएको जानकारी अनुसार प्रदेशभर यो अवधिमा भएका गाडी दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको छ । त्यस्तै एकसय ७९ जना गम्भीर घाइते भए । उनका अनुसार यो अवधिमा दुईसय ९३ जना सामान्य घाइते भए । सोही अवधिमा सुर्खेतमा सबैभन्दा बढी अर्थात एकसय तीन वटा सवारी साधन दुर्घटनामा परेका छन् । सानाठूला गरी ८६ वटा दुर्घटनामा परी ३७ जनाको मृत्यु भएको छ ।
त्यस्तै ६० गम्भीर र ७५ जना सामान्य घाइते भएका छन् । सवारी दुर्घटनाकै कारण सुर्खेतमा चार वटा पशुचौपायाको मृत्यु भएको छ भने दुई वटा चौपाया घाइते भए । त्यस्तै सल्यानमा भएको ६८ वटा गाडी दुर्घटनामा १५ जनाको मृत्यु र २४ जना गम्भीर घाइते भए । दैलेखमा ४४ वटा सवारी साधन दुर्घटनामा १२ जनाको मृत्यु र ५० जना गम्भीर घाइते भएका छन् । त्यस्तै रुकुमपश्चिममा ११ वटा सवारी साधन दुर्घटनामा आठ जनाको मृत्यु, १३ गम्भीर घाइते, जुम्लामा नौ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु र चार जना गम्भीर घाइते भएका छन् ।
त्यस्तै कालिकोटमा १९ वटा सवारी साधन दुर्घटनाका घटना भए । जसमा १० जनाको मृत्यु, ६ जना गम्भीर घाइते, जाजरकोटमा १७ वटा सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु र पाँच जना गम्भीर घाइते भए । डोल्पामा सात वटा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु र चारजना गम्भीर घाइते, हुम्लामा दुई वटा सवारी दुर्घटनामा ६ जनाको मृत्यु र ११ जना गम्भीर घाइते र मुगुमा तीन वटा सवारी साधन दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । यो तथ्याकंकले पनि कर्णालीमा यात्राका लागि सडक असुरक्षित भएको देखाउँछ ।
चालक मात्र होइन, यात्रु पनि सचेत बनौं
गाडी दुर्घटना न्यूनिकरणका लागि चालकमात्रै नभई यात्र ुपनि सचेत हुनुपर्ने प्रहरीको ठम्याइ छ । मादक पदार्थ सेवन, बाटो क्रसिङ गर्दा चालकले छोटो बाटो रोज्ने, संख्याभन्दा बढी यात्रु बोक्ने र अस्तव्यस्त सडकका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
ट्राफिक प्रमुख उदयसिंह सिंजापतिका अनुसार यात्रुले चालकको गतिविधिबारे सचेत बनाउन र ट्राफिक नियमअनुसार बाटोक्रस गर्दा दुर्घटना केही हदसम्म कम गर्न सकिन्छ । त्यस्तै छाडा छौपाया र फुटपातको व्यवस्थापन, व्यवस्थित जेब्राक्रसिङ र विभिन्न क्षेत्रमा डाइभरर्सनको सूचनापार्टी प्रयोग गर्दा दुर्घटना कम हुने सिजापतिको तर्क छ ।
पछिल्लो समय प्रदेशको राजधानी वीरेन्द्रनगरमै सवारी दुर्घटना बढिरहेको बताउँदै उनले दुर्घटना न्यूनिकरणका लागि बसपार्क व्यवस्थापनमा वीरेन्द्रनगर नगरपालिका र यातायात व्यवसायी, सडक विभाग, नागरिकन नै सचेत हुनुपर्ने उनको तर्क छ । वीरेन्द्रनगर बजार क्षेत्रमा वानवे, जेब्राक्रस, फुटपात र अटोपार्कीङलाई व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ ।
सल्यानमा ६८ वटा दुर्घटना
सल्यानमा आर्थिक वर्ष २०७६/०७७ को एक वर्षको अवधिमा ६८ वटा सवारी साधन दुर्घटनामा परेका छन् । जसमध्यमध्ये आठ वटा बस, ६ ट्रक, १६ जिप÷कार, १० ट्याक्टर र २७ वटा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख सन्दिप बिकले बताए ।
दुर्घटनामा परी १५ जनाले मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १० पुरुष र पाँच जना महिला रहेको छन् । दुर्घटनाबाट एकसय १९ जना घाइते भएका छन् । जसमध्ये २४ जना गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा सल्यानमा दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।
बिस हजार सवारी साधन कारबाहीमा
कर्णालीमा गाडी दुर्घटना रोक्न र सुरक्षित यात्राका लागि विभिन्न प्रयासहरु पनि भइरहेका छन् । रिफ्रेस सेन्टर, ट्राफिक जनचेतना र सवारी चेकजाँच जस्ता गतिविधिको एउटै उद्देश्य सवारी दुर्घटना न्यूनिकरण गर्नु हो । दुर्घटना न्यनिकरणका लागि कर्णाली राजमार्ग र छिन्चु–जाजरकोट सडक खण्डमा अहिले पनि टाइमकार्ड लागु छ ।
लामो दुरीमा चल्ने सवारी साधनलाई मध्येजनगर गर्दै कर्णाली राजमार्ग र छिन्छु जाजरकोट सडकको मिलनबिन्दु छिन्चुमा रिफ्रेस सेन्टर राखिएको छ । यसका साथै ट्राफिक नियमको पालन गराउन ठूलो संख्यामा ट्राफिक प्रहरी खटाइदै आएको छ । ट्राफिक चेक जाँचकै क्रममा झण्डै बीस हजार सवारी साधन कारबाहीमा परेका छन् । तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा प्रदेशमा झण्डै बीस हजार अर्थात १९ हजार सातसय ६५ वटा सवारी साधन कारबाहीमा परेको प्रहरीले जनाएको छ ।
यसरी नियमति चेकजाँच र कारबाही गर्दा पनि सवारी साधन दुर्घटना भने बर्षेनी बढ्दै गएको छ । ट्राफिक नियम उलंग्घन गर्ने बीस हजार सवारी साधनबाट गएको आर्थिक वर्षमा एक करोडभन्दा बढी राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीको नियमित चेकजाँचका क्रममा १९ हजार सातसय ६५ सवारी साधन कारबाहीमा पर्दा एक करोड ७० लाख बढी राजश्व संकलन भएको छ । ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभर एक करोड ७० लाख ३८ हजार तीन सय रुपैयाँ राजश्व संकलन भएको छ ।






