कर्णालीमा १२ जना कोरोना संक्रमित थपिए, १३ जना डिष्चार्ज
सुर्खेत, १ साउन ।
कर्णाली प्रदेशमा विहीवार १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १ जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा ५ जना र चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।
यो संगै कर्णालीमा संक्रमितको संख्या एक हजार ७ सय २६ पुगेको छ । संक्रमित हुनेमा सुर्खेतका १ जना, जाजरकोटका २ जना, सल्यानका २, मुगुका १, दैलेखका ५ र रुकुम पश्चिमका १ जना रहेका छन् ।
त्यस्तै, कर्णालीमा विहीवार कोरोना संक्रमणबाट निको भई १३ घर फर्किएका छन् । प्रदेश अस्पतालबाट १ जना, नारायण आइसोलेसन सेन्टर दैलेखबाट १ जना, महाबु आइसोलेसन सेन्टर दैलेखबाट २ जना र बनगाड कुपिन्डे आइसोलेसन सल्यानबाट ९ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको डा. तिवारीको भनाई छ । यो संगै प्रदेशमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या एक हजार ४ सय ८८ पुगेको छ ।
हाल कर्णालीमा २ सय ३२ जना संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।