कोरोनाबारे भ्रम फैलाउने लेकबेशीबाट पक्राउ

सुर्खेत, ३ बैशाख ।

सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरस (कोभीड–१९) बारे भ्रम फैलाउने अर्को एक जनालाई इलाका प्रहरी कार्यालय लेकबेशी सुर्खेतले पक्राउ गरेको छ । बुधबार विहान पक्राउ गरी दिउँसो ११ः४५ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको छ । दैलेख घरभई लेकबेशी न.पा.–१ ससुराली आएका २१ बर्षिय प्रेम वि.क. ले सामाजिक सञ्जाल फेसबुकमा भ्रामक कुरा लेखेका थिए । मंगलबार आफ्नो फेसबुक वालमा ‘सुर्खेतको लेकबेशी न.पा.–१ मा पनि एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ’ भन्दै भ्रामक, झुटो प्रचार गरेका थिए ।

सार्वजनिक अपराध अन्तर्गत शान्ति विरुद्धको कुसर पच्छिेद–२ दफा ७० मा झुटा अफवाह फैलाउन नहुने यदि गरेको खण्डमा कारवाहीको भागिदार हुने व्यवस्था बमोजिम कारवाही प्रक्रिया बढने जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए । पक्राउ परेका दुवै जनामा अनुसन्धान भैरहेको बताउँदै सूचना अधिकारी रायमाझीले जिल्ला प्रशासनमार्फत मुद्धा चलाएर कारवाही प्रक्रिया अगाडी बढाईने बताए ।

मंगलबार साँझ मात्रै वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको थियो । आचार्यले सामाजिक सञ्जाल फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टीहुन बाँकी’ भन्ने स्टाटस पोस्ट गरेका थिए । दिनभरी आचार्यको निगरानी राखेर मंगलबार साँझ मात्रै पक्राउ पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रायमाझीले गरेका छन् ।

तर सुर्खेतसहित कर्णाली प्रदेशमा हालसम्म कोही पनि कोरोना संक्रमित नरहेको प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका ल्याव इन्चार्ज ओम आचार्यले जानकारी दिए । ‘हल्लाको पछि नलाग्न आम नागरिकलाइ अनुरोध गर्दछु’ आचार्यले भने, ‘यस्ता संकटको बेला आम नागरिक त्रसित भइरहेको बेला आत्मबल हुने खालका कार्यहरू गरौं तर विना आधार अवफाह फैलाउने काम नगर्न आग्रह गर्दछु ।’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रायमाझीले नियन्त्रणमा लिएका आचार्य र वि.क.माथि थप अनुसन्धान अघि बढाएको जनाए । उनीहरु दुवैलाई जिल्ला प्रशासन कार्यालयमा पेश गरिने र प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार कारवाही प्रक्रिया अगाडी बढ्नेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *