नेपालमा लागुऔषध प्रतिबन्धित छ । कुनै पनि प्रकारका लागुऔषधको ओसार पसार, बिक्री वितरण र सेवन गर्न पाइँदैन । तर पनि यसको रोकथाममा विभिन्न चुनौतीहरु देखिएका छन् । लागुऔषधले व्यक्तिको स्वास्थ्यमा असर गर्दछ । त्यतिमात्र होइन, यसको प्रयोगले परिवार र समाजमासमेत नकारात्मक असर पर्ने गरेको छ । यही कारण पनि यसलाई देशमा प्रतिबन्ध लगाइएको छ । लागुऔषधको नियन्त्रण र रोकथामका लागि प्रहरीले काम गर्दै आएको छ । पछिल्ला दिनमा समाजमा सामाजिक संघसंस्थाहरु पनि लागुऔषधको रोकथाम र नियन्त्रणको क्षेत्रमा काम गर्दै आएका छन् । समाजमा यसको असरबारे सचेतनामुलक कार्यक्रमहरु पनि संचालन भइरहेका छन् । तर पनि किशोरावस्था र युवाहरु यसको कुलतमा फसेका छन् । प्रहरीको आँखा छल्दै यसको अवैध कारोवार र बिक्री वितरण पनि भइरहेको छ । यसले सहरी क्षेत्रमा बढी समस्या देखा परेको छ । लागुऔषधको दुव्र्यसनका कारण समाजमा विभिन्न अपराध बढेका छन् ।
लागुऔषधको समस्या सुर्खेतमा बढी देखिन्छ । प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा जनघनत्व बढेको छ । मानिसहरु विभिन्न देखासिकी गर्न थालेका छन् । अरुको नक्कल वा आर्थिक आर्जन गर्ने लहलहीमा लागेर यसकारे अवैध कारोवारमा मानिसहरु संलग्न हुन थालेका छन् । प्रहरीले लागुऔषधिका भरिया र सेवनकर्ताहरु पक्राउ गरेका घटनाले पनि वीरेन्द्रनगरमा यसको कारोबार र ओसारपसार भइरहेको पुष्टि गर्दछ । कर्णालीका पहाडी जिल्लासम्म लैजान पनि सुर्खेतलाई कारोबारस्थलको स्पमा प्रयोग गरेको देखिन्छ । अझ यसबाट सबैभन्दा बढी स्कुले किशोरकिशोरीहरु प्रभावित बनेका छन् । अभिभावकको निगरानी नहुँदा उनीहरु यस्तो कुलतसम्म पुगेको पाइन्छ । यसकारण पनि लागुऔषध सेवन, कारोबार र ओसारपसारमा युवाहरु नै बढी सक्रिय देखिएका छन् । यसले उत्पादन उमेरका युवाहरु यसरी गलत बाटोमा लाग्नु समाजका लागि नै नोक्सान हो । भविस्य निर्माण र समाज सुधारमा खरो उत्रनुपर्ने युवाहरु लागुऔषधको कुलतमा फस्नुले समाजलाई थप पछाडि धकेल्ने देखिन्छ ।
कम समयमा धरै कमाउन लोभमा मानिसहरु यसमा संलग्न भएको देखिन्छ । महिलाहरुलाई पनि भरियाको रुपमा प्रयोग गर्न थालिएको छ । सामान्य परिवारका सदस्यलाई यसको कारोबारोमा संलग्न गराउने संजाल नै सक्रिय भएको आशंका प्रहरीले गरेको छ । यही अवस्था रहे समाज लागुऔषध दुव्र्यसनको जालोमा फस्ने देखिन्छ । यसबाट कलिला बालकालिका र उत्पादनमा सक्रिय हुनुपर्ने युवा जनशक्तिलाई अलग बनाउनै पर्दछ । अब सरकारी निकायले मात्र होइन, गैरसरकारी क्षेत्रले पनि लागुऔषधको कारोबार, ओसारपसार र सेवलाई रोक्न सामुहिक प्रयास आवश्यक छ । यसका लागि सबैभन्दा बढी अभिभावकहरु सचेत हुनु पर्दछ । यस्तै यसले गर्ने नोक्सानबारे विद्यालय पाठ्यक्रममा पनि उल्लेख गर्नुपर्ने हुन्छ । स्थानीय तहले यसमा अझ बढी सचेतनामुलक कार्यक्रम संचालन गर्न सक्छन् । यसो हुन सकेमा मात्र लागुऔषधविरुद्धको अभियानले सार्थकता पाउन सक्छ । समाजलाई थप अग्रपथमा लैजान सकिन्छ । यसबारेमा सबैको ध्यान जाओस् ।
युग संवाददाता । । १६ पुष २०७७, बिहीबार १०:१०