कर्णाली तीनै खेलमा पराजित, प्रदेश २ को सान्त्वना जित

दाङ, १३ पुस ।

दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा आज भएको पहिलो खेलमा प्रदेश २ सँग कर्णाली पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको प्रदेश २ ले पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १६५ रन बनाएको थियो।

१६६ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको कर्णालीले पूरा ओभर खेल्दै सबै विकेट गुमाएर २२ रनमै समेटिएको थियो। जितका लागि प्रदेश २ की अनुराधा चौधरीले ६० बलमा सर्वाधिक ६९ रन बनाइन्। त्यस्तै सोभा आलेले २३ रन बनाइन् भने बिमला मगरले २१ रनको योगदान दिइन्।

प्रदेश २ ले अतिरिक्त ४३ रनको सहयोगमा १६५ रन बनायो। यता कर्णाली प्रदेशका निशा पराजुलीले दुई र सुजाता बोगटीले एक विकेट लिइन्।

जवाफी ब्याटिङमा आएको कर्णालीका मोनिका राना, कप्तान लक्ष्मी रिमाल, अञ्जु गुरुङ, सुजाता बोगटी, निशा पराजुली र स्वेता थापा खाता खोल्न नसक्दै पेवेलियन फर्किए।

अन्य खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्। तिर्सना विश्वकर्माले सर्वाधिक सात रन बनाइन् भने अतिरिक्त ७ रन प्राप्त भयो। प्रदेश २ का लागि सरस्वती कुमारी र कविता गौतमले समान ३-३ विकेट लिए। सन्तोषी चौधरी र आरती चौधरीले समान १-१ विकेट लिए।खेलमा अनुराधा चौधरी प्लेयर अफ दी म्याच बनिन्।

सान्त्वना जितसहित प्रदेश २ ले २ अंक जोडेर समूह ‘ए’ को तेस्रो स्थानमा रहँदै प्रतियोगिताको यात्रा पूरा गरेको छ। कर्णाली प्रदेशले कुनै खेलमा पनि जित निकाल्न सकेन।

तपाईको प्रतिक्रिया