जाजरकोट, १३ पुस ।
जुनीचाँदे–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीमा प्रसुती भवन निर्माण कार्य सुरु भएको नौं वर्ष बितेको छ । तर निर्माण कम्पनीको चरम लापरवाही र सरकारी उदासिनताका कारण नौ बर्षसम्म पनि भवन बन्न सकेको छैन । भवन नबन्दा सुरक्षित सुत्केरी सेवा प्रदान गर्न गाह्रो भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
निर्माण कम्पनीले पेटी ठेकेदारलाई कामको जिम्मा दिएको र उसले पनि काम नगर्दा समस्या भएको हो । फ्राइन्डस कन्स्ट्रक्सन प्रालि काठमाडौंले जिम्मा लिएको भवन अहिलेसम्म अलपत्र अवस्थामा रहेको छ । डेढ वर्षभित्र काम सम्पन्न गर्नेगरी २०६९ बैशाख २१ गते सम्झौता भएको थियो । एक करोड २७ लाख ११ हजार ६ रुपैयाँमा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कविहिन भएपछि भवन निर्माण पुरा हुन नसकेको संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले जनाएको छ ।
कार्यालयमा भएको सम्झौता अनुसार वित्तियतर्फ १० दशमलव ०६ प्रतिशत र २० प्रतिशत भौतिक कार्य गरेर ठेकेदार कम्पनी फरार रहेको कार्यालय प्रमुख निलमकुमार डङ्गोलले जानकारी दिए । पटकपटक ताकेता गर्दा पनि ठेकेदार कम्पनी सम्पर्कमा नआउँदा समस्या भएको उनको भनाइ छ । ठेकेदार कम्पनीले समयमा काम सम्पन्न नगरेपछि सुरक्षित प्रसुती सेवा लगायत कार्यालयका नियमित कार्यमा सेवा दिन सास्ती भएको जुनिचाँदे गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक योग्यश्वर बस्नेतले बताए । ठेकेदार कम्पनीले समयमै भवन निर्माणको काम
नगर्दा संस्थाबाट हुने सुरक्षित सुत्केरी सेवा प्रभावकारी हुन नसकेको बस्नेतको भनाइ छ । फ्राइन्डस कन्स्ट्रक्सनका सञ्चालक पुष्प बजगाइले नेतादेखि बैंकसम्मले पैसा खाएका कारण काम गर्न नसकेको आरोप लगाए । ‘मैले निर्माणको जिम्मा लिएको थिएँ’ उनले भने, ‘मैले कामको जिम्मा दिएको पेटी ठेकेदार र बैंकदेखि नेता सम्मले पैसा खाए ।’ सहायक ठेकेदारका रुपमा छेडागाड नगरपालिकाका कर्णबहादुर थापाले आफनो पैसा खाएर कामदारलाइ पैसा नदिएको र काम पनि अलपत्र पारेको उनको आरोप छ । उता भवनको बालुवा, गिटी, ढुङ्गा ब्यवस्थापनको जिम्मा पाएका गोरे बुढाको पाँच लाख ४० हजार रकम नपाएको बुढाले बताए । निर्माण हुन नसकेको बडकुले स्वास्थ्य संस्था भवन निर्माणको ठेक्का सम्झौता तोड्ने प्रक्रिया चलिरहेको संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालय सुर्खेतले जनाएको छ
युग संवाददाता । । १३ पुष २०७७, सोमबार १०:३५