दुई पालिकालाई २९ लाखको स्वास्थ्य सामग्री सहयोग

दैलेख, १२ पुस ।

दैलेखका दुई स्थानीय तहलाई यहाँको एक परियोजनाले झण्डै २९ लाख बराबरको स्वास्थ्य तथा सरसफाइ सामग्री सहयोग गरेको छ । दुल्लु नगरपालिका र डुंगेश्वर गाउँपालिकालाई हेल्भेटास नेपालको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखको सहजीकरणमा झण्डै २९ लाख बराबरको स्वास्थ्य तथा सरसफाइ सामग्री सहयोग गरिएको हो ।

कोरोना महामारीको समयदेखि नै सहयोग गर्दै आएको यो परियोजनाले यस पटक पनि दैलेखमा विद्यालय सञ्चालन हुन थालेपछि विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गर्दै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उक्त सामग्री गाउँ तथा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

पीपीई सेट ६० वटा, एन नाइन्टी फाइभ मास्क दुई हजार थान, नर्मल मास्क ६ हजार थान सेनिटाइजर ५ सय एमएलका १२ सय बोतल, ग्लब्स १६ प्याकेट, बीपी सेट ४ थान, थर्मल गन १२ थान, डिजिटल थर्मोमिटर २ सय थान र हेन्ड वास डिटोल ९ सय एमएल का ४० बोतल गाउँपालिका र नगरपालिकालाई हस्तान्तरण गरिएको हो । ८ सय ५० घरधुरीका लागि टुटीसहितको ड्रम पनि वितरण गरेको संस्थाका कार्यकारी निर्देशक सुजन न्यौपानेले बताए ।

साथै उक्त परियोजनाको आर्थिक सहयोगमा दुल्लु नगरमा ४ सय घरधुरीका लागि ४ सयवटा टुटिसहितको ड्रम, २ हजारवटा पुनः प्रयोग हुने मास्क २ हजार वटा साबुन र विद्यालय तथा स्वास्थ्य संस्थाका लागि ४० वटा फुडअपरेटर धारा र डुंगेश्वर गाउँपालिकामा ४ सय ५० घरधुरीका लागि ४५० वटा टुटिसहितको ड्रम, २ हजार २५० साबुन, २ हजार २५० पुनः प्रयोग हुने मास्क र १५ वटा फुडअपरेटर धारा जडान गरिएको सामाजिक सेवा केन्द्र ९सोसेक० नेपालकी प्रतिनिधि ललिता भण्डारीले बताइन् । संस्थाले पालिकाहरूलाई हस्तान्तरण गरेको सामग्री गाउँ तथा नगरपालिका विद्यालय तथा स्वास्थ्य संस्थालाई वितरण गर्नेछ ।

दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले हेल्भेटास नेपाले विगतको महामारीमा पनि नगरपालिकालाई सहयोग गर्दै आएको र यसपटक पनि सहयोग गरेकाले आगामी दिनमा पनि सहयोग र समन्वय आवश्यक रहेको बताए । “यो कोरोनाको महासंकटमा परियोजना नगरपालिकाको सहयोगको सारथि भएको छ,” नगर प्रमुख भण्डारीले भने, “परियोजनाको सहयोगले गर्दा नगरको यस्ता किसिमका स्वास्थ्य तथा सरसफाइमा हुने खर्चको समेत बचत भएको छ र यसलाई हामीले अन्य ठाउँमा परिचालन गर्न ठूलो सहयोग पुगेको छ ।”

वाम्र्पी हेल्भेटास नेपालको साझेदारीमा संस्थाबाट अहिले दुल्लु नगरपालिका र डुंगेश्वर गाउँपालिकामा २८ लाख २१ हजार ४ सय ९७ रुपैयाँ बराबरको स्वास्थ्य तथा सरसफाइका सामग्री वितरण गरिएको सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए ।

तपाईको प्रतिक्रिया