‘बुवाको सल्लाहले लोकसेवा पास गर्ने उत्प्रेरणा मिल्यो’

हरेक व्यक्तिका आ–आफ्नै रुचि र चाहना हुन्छन् । तर समय र परिस्थितिले सबै चाहनाहरु पुरा हुँदैनन् । रुचि पुरा भएन भन्दैमा हरेश खानु हुँदैन । अर्थात गन्तव्यको पाइला राक्नु हुँदैन । बरु त्यसको विकल्प खोज्नु उपयुक्त हुन्छ । त्यस्तै गरे मिलनकुमार शर्माले पनि । सानैदेखि उनको चाहना इन्जिनियर बन्ने थियो । तर समयले इन्जिनियर बन्न दिएन । इन्जिनियर बन्ने सपना पुरा नभएपछि उनले त्यसको विकल्प खोजे र निजामति क्षेत्रमा होमिए । प्रस्तुत छ, हाल मानव संशाधन विकास केन्द्र सुर्खेतमा लेखा अधिकृतको रुपमा कार्यरत उनै शर्माको निजामति क्षेत्र र जीवन भोगाइसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश ः

बाल्यकालमा मेलापात

मिलन शर्माको जन्म २०५१ साल भदौ ११ गते किसान परिवारमा भएको हो । उनी आमा पवित्रा र बुवा पद्मपानी जैसीको चौथो सन्तान हुन् । दैलेखको भैरवी गाउँपालिका –६ कुसापानीको मध्यम किसान परिवारमा जन्मिएका उनको बाल्यकाल मेलामात गर्दै वित्यो । घाँस दाउरा र गोठाला जानु शर्माको नियमित कार्यतालिका जस्तै थियो । ‘एक भारी घाँस काटेर मात्रै स्कुल जान्थे’ उनी भन्छन्, ‘परीक्षा हुँदा पनि मेलापात छुट्थेन ।’ उनलाई विहान परीक्षा भए दिउँसो र दिँउसो परीक्षा भए विहान मेलामात गर्नै पथ्र्यो । ‘कृषक परिवारम खेतिपाती विना कसरी जीवन चल्छ र ?’ उनी भन्छन्, ‘सानैदेखि मेलापात गर्दै हुर्किएँ ।’

कक्षामा सधै प्रथम

मिलन पढाइमा सौदेखि अब्बल थिए । कक्षा १ देखि १० सम्म सधै कक्षामा प्रथम हुन्थे । ‘मेलापातले मलाइ पढाइमा कुनै असर गरेन’ उनी भन्छन्, ‘कक्षामा सधै प्रथम हुन्थेँ, दाउराको भारीले पढाइलाई कहिलै थिचेन ।’ सरस्वती प्राथमिक विद्यालयबाट कखरा सिकेका शर्मा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । कक्षा १ देखि ५ सम्म सरस्वती प्रावि कुर्माकोट र आदर्श मावि घुम्नेखालीबाट कक्षा ६ देखि १० सम्म पढाइ पुरा गरे । वीरेन्द्रनगरको जन माविबाट आइएसी, महेन्द्रबहुमुखी क्याम्पस नेपालगञ्जबाट स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट स्नातकोत्तर पुरा गरेका छन् । कानुनी ज्ञानका लागि कानुनमासमेत स्नातकोत्तर अध्ययन गरेका छन् । अध्ययन र लेखनमा उनी विशेष रुचि राख्छन् । शर्माले लोकसेवा सहयोगी पुस्तकको सम्पादन र विभिन्न जर्नलहरु सम्पादन गरिसकेका छन् । जागिरे जीवनपछि सामाजिक सेवामा र लेखनीमा रमाउने उनको चाहना छ ।

अधुरै रह्यो इन्जिनियर बन्ने सपना


इन्जिनियर शब्द र पेशाप्रति मिलन निकै प्रभावित थिए । इन्जिनियर शब्दले नै उनलाई छुट्टै गौरवको अनुभूति हुन्थ्यो । माध्यमिक तहको पढाइसँगै उनले आफू पनि इन्जिनियर हुने सपना पाले । इन्जिनियर बन्ने सपना बोकेर एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरे । वीरेन्द्रनगरको जन माविमा साइन्स विषय अध्ययन गरे । सानैदेखी पढाइमा अब्बल उनले साइन्स विषय निर्धक्कले पास गरे । कक्षा १२ को रिजल्ट प्रकाशितसँगै इन्जिनियर बन्ने मुल ढोका आयो । तर त्यो इन्जिनियरको ढोका पार गर्न सकेनन् । कारण उनी पढाइमा जति अब्बल थिए, आर्थिक रुपमा सबल थिएनन् । ‘तँलाई इन्जिनियर पढाउन पैसा भ्याउदैन बाबु !’ एकदिन बुवाले मिलनलाई सुनाए, ‘अरुलाई पनि पढाउनु पर्छ ।’ आर्थिक अभावका कारण इन्जिनियर पढाउन नसक्ने बताएपछि मिलनको इन्जिनियर बन्न सपनामा ब्रेक लाग्यो । किनकी खेती किसान गरेर लाखौ पैसा तिर्न सक्ने अवस्था थिएन । ‘बुवालाई अन्य दाजुभाई पनि पढाउनुपर्ने जिम्मेवारी थियो’ शर्मा भन्छन्, ‘आर्थिक अभावकै कारण इन्जिनियर बन्ने सपना पुरा भएन ।’

हाजिरीजवाफले पनि निजामति बन्न सहयोग ग¥यो

मिलन पढाइमा जति अब्ब थिए । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि उतिकै रुचि राख्थे । ‘स्कुलमा भने अतिरिक्त क्रियाकलापहरु सकेसम्म छुटाउँन्थिन’ उनी भन्छन्, ‘हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगिता मेरो रुचिका विषय हुन् ।’ विद्यालयको पढाइका अलवा सामान्य ज्ञान र आईक्यूका पुस्तक अध्ययनमा पनि उत्तिकै रुचि राख्थे । बाल्यकालमा हाजिरीजवाफ प्रतियोगिताको रुचि नै निजामति सेवा प्रवेशमा सहयोग मिल्यो । ‘इन्जिनियर हुन नसकेपछि लोकसेवा आयोगको तयारीमा लागँे’ उनी भन्छन्, ‘सामान्य ज्ञान र आईक्यू प्रतिको रुचिले निजामतिमा प्रवेश गर्न सहयोग पुग्यो ।’ बुवाको सल्लाहअनुसार नै उनी निजामति क्षेत्रमा आएका हुन् । ‘अरुले लोकसेवाबाट जागिर खाएर पनि प्रगति गरेकै छन् ।’ बुवाको यही भनाइका कारण मिलनले लोकसेवामा लगाव देखाएका हुन् । ‘लोक सेवाको जागिरप्रति लहर नै थियो, तर म इन्जिनियर बन्न चाहन्थे’ उनले भने, ‘बुवाको यही एकै शब्दले लोकसेवामा लागेँ ।’

अदालतमा जागिर गर्दा कानुन पढ्ने रहर

खरिदारबाट निजामति सेवामा प्रवेश गरेका मिलनको पहिलो जागिर दैखेल जिल्ला अदालतमा भयो । २०६९ सालमा माघ १२ गतेदेखि उनी अदालतलाई कार्य थलो बनाए । जागिरकै दौरानमा विशेष अदालत काठमाडौँ पुगे । अदालतको जागिर र व्यक्तिगत ज्ञानका लाग पनि शर्माले कानून विषय नै अध्ययन गरे । २०७३ सालमा उनले लेखा अधिकृतको परीक्षा पास गरे । लेखा अधिकृत भएपछि सहकारी प्रशिक्षण कार्यालय नेपालगञ्ज, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय सुर्खेत, स्वास्थ्य तालिम केन्द्र सुर्खेतलाई कर्म थलो बनाए । उनी विगत १४ महिनादेखि भने मानव संशाधन विकास केन्द्र सुर्खेतमा कार्यरत छन् । पर्यटन मन्त्रालयमा रहँदाको क्षण भने उनको लागि निकै स्मरणीय छ । कर्णाली प्रदेश सरकारले बनाएको रारा कर्णाली पर्यटन बर्षको हिसाव कितावबाट उनले निकै प्रशंसा पाए । ‘पर्यटन वर्षमा भएको खर्चमा अनियमितता भएको भन्दै हङ्गामा भयो, अख्तियारमा मुद्दा प¥यो, तर हाम्रो मन्त्रालयको कामका कुनै कमजोरी देखिएन’ उनी भन्छन्, ‘मेरो कामप्रति प्रदेश सरकारले उच्च प्रसंशा ग¥यो, त्यो क्षण म निकै खुशी भएँ ।’ त्यो बेला उनको कामलाई मन्त्री र सचिवहरुले स्वावासी दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार