दुःखले घेरिएको परिवार

दैलेख, १२ पुस ।

ठाटीकाँध गाउँपालिका–६ टमटाटोलमा एउटा झुप्रो छ । त्यही झुप्रोमा अपाङ्ग आमा र भाईको रेखदेखमा तल्लिन हुन्छन् ११ बर्षिय प्रेम विक । प्रेम पाँच बर्षको छदाँ उनको बुबाको मृत्यु भयो । बुबाको मृत्यु हुँदा प्रेमका भाई पैल बिक एक बर्षका थिए । प्रेमकी आमा रुपा विक अपाङ्ग छिन् ।

सात बर्षअघि घर नजिकैको जंगलको घाँस काट्न जाँदा भिरबाट लडेपछि उनी घाइते भएकी थिइन् । घाइते भएकी रुपाको आर्थिक अभावले उपचार भएन । स्थानीय मेडिकलमा सामान्य उपचार भयो । तर निको भएन । अपाङ्ग पत्नी र नाबालक छोराहरु छोडेर रोजी रोटीको लागि भारत छिरेका रुपाका पतिको भारतमै मृत्यु भयो । अहिले यो परिवार दुःखै दुःखले घेरिएको छ । बुबाको मृत्युपछि अपाङ्ग आमा र भाईको हेरचाहाको जिम्मेवारी प्रेमको काँधमा छ ।

बिहानै उठेर खाना पकाउने, आमालाई खुवाउने, भाईलाई स्कुल पठाउने प्रेमको दिनचर्या हो । रकम अभावले आमाको उपचार गर्न नपाएको प्रेम बताउँछन् । ‘पैसा भइदिएको भए आमाको उपचार हुन्थ्यो, पैसा भएन, ‘गाउँका साहुले पनि पत्याएनन्, पैसा नहुँदा आमाले जीवनभरी अपाङ्ग भएर बाच्नुपर्ने भयो,’ प्रेम भन्छन् । कलिलो काँधमा घरको जिम्मेवारी थपिए पनि उनको पढइतिर भने उत्तिकै लगाव छ । ‘धेरैजसो समय आमा र भाईको हेरचाहामा बित्छ, प्रेम भन्छन्,‘फुर्सद भयो भने पढ्ने गरेको छु ।’ उनले उच्च शिक्षा पढ्ने सपना बोकेका छन् । पतिको मृत्युबारे रुपा अहिले पनि बेखवर छिन् ।

‘मजदुरी गर्न श्रीमानसँगै भारत गएका आफन्तले बिरामी परेर मृत्यु भयो भन्छन्, आफु जान पनि सकिएन, पत्याउनै प¥यो,’ रुपा भन्छिन्, ‘अरुको सहायताले दिशा पिसाब गर्न जानुपर्छ, आफु केही पनि गर्न सक्दिन, गरिबीको कारण जीवनभर अपाङ्ग भएर बाँच्नु परेको छ ।’ सम्पत्तिको नाममा सानो झुप्रो छ । मंसिर अन्तिम साता त्यही घर पनि भत्कियो । घर भत्किएपछि उनको परिवार अहिले खुल्ला आकासमुनी रात काट्न बाध्य छ । ‘गाउँपालिकाकाले अपाङ्ग भनेर चौमासिक १२ हजार सामाजिक सुरक्षा भत्ता दिन्छ, त्यही पैसाले छाक टार्दै आएका छौ,’ रुपाले भनिन् ‘नाबालक छोराहरुको पढ्ने धोको अधुरै रहने भयो ।’

तपाईको प्रतिक्रिया