वीरेन्द्रनगर औद्योगिक क्षेत्रः जग्गा हडपेर सञ्चालनमा नरहेका उद्योगलाई कारबाही

सुर्खेत, ११ पुस ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र कतिपय उद्योग बन्द अवस्थामा छन् । औद्योगिक क्षेत्रको जग्गा हडपेर संचालनमा नरहेका त्यस्ता उद्योगहरुलाई कारबाही गर्न थालिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले संचालनमा नरहेका उद्योगलाई तत्काल जग्गा खाली गर्न निर्देशन दिएको हो । उद्योगका लागि जग्गा लिजमा लिने तर उद्योग सञ्चालन नगर्ने उद्योगप्रति कार्यालय आक्रामक बन्न थालेको हो । जसअन्तरगत कार्यालयले बन्द रहेका उद्योगलाई औद्योगिक क्षेत्रबाट हटाउन थालेको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको जग्गा ओगटेका तर सञ्चालनमा आउन नसकेका उद्योगलाई त्यहाँबाट हटाउन लागिएको हो । पहिलो चरणमा दुई वटा उद्योगलाई औद्योगिक क्षेत्रबाट हटाउन थालेको हो । पहिलो चरणमा देउती हर्बल उद्योग र एसके प्रिन्ट सोलुसनलाई हटाउन थालेको हो । देउती हर्बल उद्योग चिउरी प्रशोधनका गर्ने उद्देश्यले स्थापना गरिएको उद्योग हो भने यसके प्रिन्ट छपाई सम्बन्धी कार्य गर्ने उद्योग हो ।

बर्षाैंदेखि उद्योगले भौतिक संरचना निर्माण गरेका तर सञ्चालनमा नल्याइएपछि उद्योगलाई कारबाही स्वरुप सम्झौता रद्द गरेर हटाउन थालिएको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ । उद्योग सञ्चालन गर्न भन्दै एसके प्रिन्ट सोलुसनले सात वर्ष र देउती हर्बल उद्योगले ६ वर्षदेखि जग्गा लिजमा लिएका थिए । औद्यागिक क्षेत्र व्यवस्थापन कार्यालय र देउती हर्बल उद्योगबीच २०७१ साल भदौ २७ गते सम्झौता भएको थियो । उद्योग सञ्चालनका लागि वीरेन्द्रनगर औद्योगिक क्षेत्रले देउती हर्वल उद्योगलाई एक रोपनी जग्गा उपलब्ध गराएको थियो । चिउरी प्रशोधन कार्य सम्बन्धी उद्योग सञ्चालन गर्न कार्यालयले पर्याप्त समय दिँदासमेत उद्योग सञ्चालन नगरेका कारण उद्योगसँग वीरेन्द्रनगर औद्योगिक विकास क्षेत्रले सम्झौता रद्द गर्नु परेको जनाएको छ । लामो समयसम्म उद्देश्य अनुसार उद्योग सञ्चालन नआएपछि कार्यालयले २०७६ माघ २६ उद्योगबीच भएको सम्झौता कम्पनीको नियमानुसार रद्द गरिएको हो । तर कार्यालयले जग्गा सम्झौता रद्द गरेपछि चित्त नबुझेको भन्दै उद्योग सञ्चालकहरु औद्योगिक विकास क्षेत्र लिमिटेड केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । तर केन्द्रीय कार्यालयले पनि उद्योग सञ्चालन गर्न सक्ने अवस्था देखेपछि २०७७ कात्तिक २० गतेका महाप्रबन्धक स्तरिय बैठकले सम्झौता रद्द गरेको हो ।

त्यस्तै वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले एसके प्रिन्ट सोलुसनलाई २०६९ साल जेठ २२ गते दुई रोपनी जग्गामा उपलब्ध गराएको थियो । छपाई सम्बन्धी कार्य गर्ने अर्थात प्रेस उद्योग सञ्चालन गर्न कार्यालयले पर्याप्त समय दिँदासमेत उद्योग सञ्चालन नगरेका कारण २०७६ माघ २६ गते नै कार्यालयले उद्योगसँगको सम्झौता रद्द गरेको थियो । जग्गा सम्झौता रद्द गरिएपछि उद्योग सञ्चालक उदिराम डाँगीले २०७६ फागुन ११ गते औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट केन्द्रीय कार्यालयमा थप समय माग गर्दै निवेदन दिएका थिए । उनले उद्योग सञ्चालनका लागि थप एकबर्ष समय माग गरेका थिए । अब दुबै उद्योगहरु औद्योगिक क्षेत्रबाट हट्नुपर्न छ । जग्गा मात्रै ओगट्ने तर उद्योग सञ्चालन नगर्ने उद्योगलाई हटाउन थालिएको कार्यालयले जनाएको हो । केन्द्रीय कार्यालयले २०७७ असोज २६ गते कारबाहीलाई सदर गरेको थियो । अब दुबै उद्योगहरु औद्योगिक क्षेत्रबाट हट्नुपर्ने छ ।

तत्काल जग्गा खाली गर्न निर्देशन

सम्झौता रद्द भएसँगै वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले एसके प्रिन्ट सोलुसन र देउती हर्बल उद्योगलाई जग्गा खाली गर्न निर्देशन दिएको छ । गत असोज १७ गते सूचना प्रकाशित गर्दै वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले ३५ दिनभित्र जग्गा खाली गर्न निर्देशन दिएको हो । प्रकाशित सूचना अनुसार दुबै उद्योगले आउँदो २५ गतेभित्र जग्गा खाली गरी सक्नुपर्ने छ ।

दुबै कम्पनीलाई उद्योगका सम्पूर्ण सामान उठाउन भनिएको वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीवनारायण बञ्जाडेले जानकारी दिए । कार्यालयले सार्वजनिक रुपमा सूचना प्रकाशित गर्दै लिजमा दिएको उक्त जग्गामा निर्मित सम्पूर्ण भौतिक संरचना तथा मिल मेसिनरीसहित उद्योगको कुनै पनि सम्पत्ति ३५ (पैँतीस) दिनभित्र उठाइ लैजानु भनेको छ । उद्योगको निजी सम्पत्ति उठाइ नलगेमा वा अटेर गरेमा लिलाम बिक्री नियमावली÷कम्पनीको नियमावली बमोजिम उद्योगको सम्पत्ति लिलाम बिक्रीका गर्नेछ ।

सञ्चालनमा नभएका अन्य उद्योगलाई कारबाही गरिने

वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बन्द अवस्थामा भएका अन्य उद्योगलाई पनि कारबाही गर्ने तयारी गरेको छ । औद्योगिक क्षेत्रमा अझै अरु दुई वटा उद्योग बन्द छन् । एउटा उद्योग निर्माणको प्रक्रियामा छ । औद्योगिक क्षेत्रमा कर्णाली कोल्ड चेन लजिष्टिक प्रालि उद्योग सञ्चालकहरु बीचको आन्तरिक किचलोका कारण निर्माण हुन सकेको छैन भने रारा पोल्ट्रिफम र शुभप्रभात वेभरेज प्रालि बन्द अवस्थामा छन् । निर्माणाधिन र बन्द उद्योगहरु तत्काल सञ्चालनमा नआए सम्झौता नै रद्द गर्ने कार्यालयको तयारी छ । यस क्षेत्रको औद्योगिक विकासका लागि २०३८ सालमा वीरेन्द्रनगर औधोगिक क्षेत्र गरिएको हो । हालसम्म यहाँ निजी क्षेत्रको करिव ७५ करोड र साढे एक करोड सरकारी लगानी छ । औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट मात्रै झण्डै तीनसय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

औद्योगिक क्षेत्रमा रहेका २७ उद्योग मध्ये २१ वटा उद्योगहरु सञ्चालनमा छन् । विभिन्न कारणले चार वटा उद्योग बन्द छन् भने दुई वटा उद्योगहरु निर्माणाधिन अवस्थामा छन् । न्यून भाडादर र औद्योगिक क्षेत्रमा उद्योगका लागि चाहिने आवश्यक पूर्वाधार भएका कारण औद्योगिकमा जग्गा लिन व्यवसायीहरु लालायीत हुन्छन् । कर्णाली प्रदेशको एक मात्र उद्योगिक क्षेत्रमा ९० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया