कविताको फोटो देखेरै देवेन्द्रले मन पराए

माया मनदेखि हुने हो । अनि माया रुप हेरेर पनि लगाइँदैन । माया त माया हो । आफै हुन्छ । प्रत्यक्ष देखेर, भेटेर, बानी व्यवहार बुझेर गासिँएका सम्बन्धहरु पनि यहाँ दिगो हुन सकेका छैनन् । त्यसैले त भन्ने गरिन्छ माया मनदेखि, आत्मदेखि हुनुपर्छ । त्यसैले त फोटो देखेर कविता खड्कालाई मन पराए देवेन्द्र सेजुवालले । फोटो देखेर सुरु भएको माया उनले पुरा गरी छाडे । यो जोडी एकअर्काको जीवनमा जोडिएको आठवर्ष पूरा भइसकेको छ । आठ वर्षदेखि एकअर्काको सुख र दुःखको साथी बनेर सहयात्रा गरिरहेका उनीहरूको मिलन भने रोचक ढङ्गले भएको थियो ।

देवेन्द्र दुई पटक माग्न गए

देवेन्द्र सेजुवालको ध्यान पूर्णरूपमा पढाइ र सामाजिक कार्यहरूमा थियो । समाजसेवालाई नै आफ्नो भविष्य ठानेर उनी त्यसैमा तल्लीन थिए । उनी आफ्नो भविष्यबारे सोच्थे । तर तत्काल विवाह गर्नेबारे सोचिसकेका थिएनन् । तर परिवारमा भने उनको विवाह गरिदिने कुरा चलिसकेको थियो । दशैंको बेला थियो । दाजु भाउजुको प्रस्तावअनुसार उनी भाउजुको मामाघर गए । उनका दाजुभाउजुको मुख्य उद्देश्य भने देवेन्द्रलाई विवाहका लागि केटी देखाउनु थियो । उनीहरूले देवेन्द्रलाई उनकै भाउजुको मामाको छोरी देखाउनका लागि सुर्खेतबाट बर्दिया लगे । तर, सेजुवाललाई आफूलाई दाई भाउजुले केटी हेराउन लगेको हो भन्ने कुरा भने थाहा थिएन । उनी टीका लगाउन दाइको मामा सुसुरालीमा त गए तर, दाई भाउजुको केटी हेराउने धोको पूरा भएन । उनी काम परेर दशैको टीका लगाएरै सुर्खेत फर्किए । अर्काे वर्षको दशैंमा भने सेजुवाललाई केटी हेर्न जाउँ भनेर नै उनका दाइ भाउजुले बर्दिया लगे । त्योबेला भने सेजुवालले केटीलाई देखे । उनलाई हेराउन लगेको केटी अरु कोही नभएर कविता थिइन् । उनले प्रत्यक्ष रूपमा कवितालाई देख्नुभन्दा पहिला नै उनलाई फोटोमा देखि सकेका थिए । उनकी भाउजुले उनको कम्युटरमा कविताको फोटो राखी दिएकी थिइन् ।

सेजुवालले कम्युटर खोल्दा वालमा केटीको फोटो देख्दा पहिला त अचम्मित भए । अनि घोरिएर हेरे । उनलाई फोटो देख्ने बित्तिकै कविता मन परिसकेकी थिइन् । आमा र भाउजुसँग फोटो देखेपछि सोधेका थिए, यो केटी को हो भनेर । त्यही बेला नै थाहा पाए सेजुवालले आफूलाई थाहै नदिएर केटी हेराउन लगेको कुरा । सबै कुरा थाहा पाइसकेपछि कवितालाई माग्न भनेर उनी कविताको घर गए । तर, कविताको घरपरिवारले आफन्तकोमा राम्रो हुँदैन भनेर छोरी दिने जस्तो कुरा गरेनन् । उनीहरू त्यतिकै फर्किएर आए । देवेन्द्रलाई लाग्यो कि अब झन मैले अरु कोही केटीसँग विवाह गर्दिनँ । किनकी छोरी माग्न जाँदा नदिएपछि उनलाई अपमान गरेको जस्तो महसुस भयो । उनले अर्काेपटक माग्न जाने र नदिएमा भगाएरै भए पनि कवितालाई विवाह गर्ने निर्णय लिएका थिए । दोस्रो पटक माग्न जाँदा पनि कविताका दाईहरूले सहमति जनाएनन् । पछि कविताको भाउजुले सम्झाएपछि विवाह गरिदिने कुरा पक्का भयो ।

सबैको सहमतिमा सेजुवाल र कविताको २०६८ सालमा मग्नी भयो । कविताको माइतीमा भने छोरीहरू भागेर विवाह गर्नु हुँदैन भन्ने संस्कार थियो । त्यो संस्कारलाई कविताले पनि कहिल्यै तोड्ने कोशिस गरिनन् । बाबुआमाले जहाँ दिन्छन्, त्यही नै विवाह गर्नुपर्छ भन्ने थियो । मग्नी हुनुभन्दा अगाडि भेट भए पनि नजिकबाट एकअर्काेलाई बुझ्न भने पाएका थिएनन् । मग्नीपछि पनि उनीहरू कहिलेकाहीं मात्र फोनमा कुरा गर्थे, भेट भने भएन । मग्नी पछिको भेट नै विवाह थियो । मग्नीपछि पाँच महिना २०६९ सालमा मागी विवाह गरेका उनीहरू एकअर्काेलाई विवाहपछि नै नजिकबाट चिनेका थिए ।

भावना नबुझेर झगडा

मागी विवाह गरेको यो जोडी विवाहपछि एकआपसमा सुरु–सुरुका दिनमा एकअर्काेको भावना नबुझेर कहिलेकाँही सामान्य झगडा गर्ने गर्थे । किनकी दुवैले एकअर्काेलाई नजिकबाट बुझेका थिएनन् । एकले अर्काेको भावना कस्तो छ भन्ने कुरा बुझ्न नसक्दा विवाह गरेको सुरु सुरुमा सामान्य झगडा हुने गथ्र्याे । तर, जब उनीहरू एकअर्काेलाई नजिकको भावना र इच्छा बुझ्न थाले, तब झगडा कस्तो हुन्छ भन्ने नै भुल्न थाले । उनीहरू भन्छन्, ‘एकअर्काेको इच्छा बुझ्न नसक्दा नै झगडा हुने रै’छ ।’

सुखद् बाल्यकाल

पिता धन सेजुवाल र माता झुप्रा सेजुवालको कोखबाट २०४२ सालमा कालिकोटमा जन्मिएका देवेन्द्र सेजुवालको बाल्यकाल सुखद् नै बित्यो । घरका चार भाईहरू मध्येका कान्छा छोरा भएका कारण सबैको माया ममतामा नै उनको बाल्यकाल बित्यो । देवेन्द्र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । क्यापसमा पढ्दादेखि नै एम्नेस्टी नेपालको स्थापना गरी संस्थापक संयोजकको रूपमा काम गरी समाजसेवा सुरु गरेका थिए । बीबीएस पढ्दा उनले २०६५ सालमा वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतमा स्ववियु चुनावमा उपसभापतिसमेत भएर काम गरेका थिए । सामाजिक काम गर्ने क्रममा उनले वीरेन्द्रनगर जेसीजमा २०१० को कार्यवाहक अध्यक्ष भएर सुर्खेतमा उनले सुर्खेत महिला जेसीजको स्थापना गरे । निष्क्रिय अवस्थामा रहेको वीरेन्द्रनगर जुनियर जेसीजलाई पुनःस्थापित पनि गरे भने मानवअधिकार तथा शान्ति समाजको शाखा सभापति हुँदै केन्द्रीय सचिव समेत भए । उनी अहिले समुदायमा हुने द्वन्द्व तथा विवादलाई संवादको माध्यमबाट समाधान तथा रुपान्तरणको लागि सक्रिय अनौपचारिक सर्वपक्षीय साझा फोरम संवाद समूह सुर्खेतको संयोजकको रूपमा रहेर काम गरिरहेका छन् । यस्तै पिता कर्णबहादुर र माता इसराको कोखबाट २०४८ सालमा बर्दियाको सानोश्रीमा जन्मिएकी कविताको बाल्यकाल पनि रमाइलोसँग बित्यो । उनले बाल्यकालमा दुःखको अनुभूति कस्तो हुन्छ गर्न पाइनन् । मिलनसार स्वभावकी कविताले कक्षा पाँचसम्म बाल निकेतन बोर्डिङ्ग स्कुलमा कविताको फोटो देखेरै देवेन्द्रले मन पराए पढिन् । पछि संकटकालमा बोर्डिङ्ग स्कुल नै हटाए पनि कक्षा ६ देखि गुँरास उच्च माविबाट कक्षा १२ पास गरिन् । कविताले पनि अहिले देवेन्द्रको सामाजिक सेवा गर्ने पथलाई पछ्याएकी छन् । उनी अहिले एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ६९, सुर्खेतको संयोजक छिन् । मानव अधिकारको क्षेत्रमा सक्रिय भएर केही योगदान पु¥याउन पाउँदा निधै गर्व महशुस हुने कविताले बताईन् ।


भावना साटासाट

दाम्पत्य सम्बन्धमा भने एकअर्काेको भावना बुझ्न नसके झगडा हुने उनीहरू बताउँछन् । दाम्पत्य सम्बन्धलाई दिगो बनाउन र सफल बनाउनको लागि एकअर्काेबीच विश्वास हुन जरुरी छ । जबसम्म एकअर्काेको इच्छा र भावना बुझ्न सकिदैंन, तबसम्म त्यो सम्बन्ध दिगो हुन सक्दैन । सम्बन्धलाई दिगो बनाउनको लागि एकअर्काेबीच कुनै कुरा लुकाउन नहुने उनीहरू बताउँछन् । हरेक काम गर्दा दुवै जनामा सल्लाह गरेर गर्दा र भावी योजना बनाउँदा दुवै जनामा सहकार्य हुनुपर्ने उनीहरूको भनाइ छ ।

गिफ्ट आदान–प्रदान

एक छोरा र एक छोरीको अभिभावक भइसकेको यो जोडी एकअर्काेको जन्मदिन र विवाह गरेको वर्षमा गिफ्ट आदान–प्रदान गर्ने गर्छन् । ठूलै पार्टी नगरे पनि घरपरिवारसँग बसेर मिठो खाना सँगै बसेर खाएर रमाइलो गर्ने गर्छन् । छोराछोरीको जन्मदिन पनि घरपरिवार सबै जम्मा भएर रमाइलोका साथ मनाउने गर्छन ।

एकअर्काको प्रशंसा

सेजुवाललाई कविताको खुला मन, कसैसँग पनि केही कुरा नढाट्ने बानी मनपर्ने गर्छ । उनले भने, ‘मेरो सुखी र प्रगतिको लागि उनले आफ्नो जस्तोसुकै त्याग पनि गर्न सक्छिन्, त्यो बानी मनपर्छ ।’ सेजुवाललाई पैसा नआउने समाजसेवामा लाग्न नदिने जीवनसाथी पर्ने हो कि भन्ने डर थियो । तर, उनले सोचेभन्दा राम्रो सहयोग र हौसला दिने जीवनसाथी पाउँदा खुशी भएको सेजुवाल बताउँछन् । त्यस्तै कवितलाई सेजुवालको सबै बानी मन पर्छन् । उनले सेजुवालको अहिलेसम्म हटाउनुपर्ने बानी केही भेटाएकी छैनन् ।

प्रेम र विवाह उस्तै–उस्तै हुन्

उनीहरूका अनुसार प्रेम र विवाह उस्तै–उस्तै हुन् । विवाहपछिको प्रेम प्रगाढ हुन्छ तर, प्रेमपछिको विवाहमा त्यति धेरै प्रेम नहुन पनि सक्छ । विवाह पछिको प्रेमले सम्बन्धलाई दिगो बनाउनमा सहयोग पु¥याउँछ । उनीहरू नवदम्पत्ती जोडीलाई एकअर्काेबीचको सम्बन्धलाई दिगो बनाउने विश्वास हुनु सबै भन्दा ठूलो कडी भएकाले एकअर्काेमा विश्वास कायम गर्न सुझाव दिन्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार