जसलाई सबैले ‘घडीवाला’ भनेर चिन्छन्

काम सानो वा ठुलो हुँदैन । मन, इच्छा, मेहेनत र परिश्रम भए जस्तोसुकै काममा पनि सफल हुन सकिन्छ । भनिन्छ नी, जीवनमा दुःख नभोगेको मान्छे ‘लगाम विनाको घोडा’ जस्तै हुन्छ । जीवनमा केही गर्न नसक्ने र हार खाने । जो व्यक्तिले दुःखलाई नजिकबाट भोगेको हुन्छ, त्यो व्यक्ति जीवनमा जुनसुकै क्षेत्रमा पनि सफल बन्न सक्छ र बनेको पनि हुन्छ । यस्तै जीवनमा सफल भएका व्यक्ति हुन् महमद अली मियाँ । उनले घडीको सर्भिस सेन्टर खोलेर व्यवसाय सुरु गरेका थिए । उनको मेहेनत र परिश्रमले उनलाई त्यही घडी पसलले धेरै माथी पु¥यायो । उनले अहिले सुर्खेत भ्याली सिमेन्ट ब्रक एण्ड ब्लक उद्योग सञ्चालन गरिरहेका छन् । आजको जम्काभेटमा उनै मियाँसँग हाम्रा सहकर्मी गीता थापाले कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंशः

बाल्यकालदेखी नै अन्याय नसहने

स्याङयामा वि.स. २०३२ सालमा जन्मिएका महमद अली मियाँको बाल्यकाल सामान्य नै वित्यो । उनी स्याङ्जामा जन्मिए पनि उनले बाल्यकाल पाल्पाको रामपुर नगरपालिकामा विताए । बाल्यकालदेखि नै उनी धेरै संघर्षशिल व्यक्ति थिए । बाल्यकालमा उनी निष्पक्षता र अन्याय अत्याचारमा नपर्ने स्वभावका थिए । उनी बाल्यकालदेखि नै स्ष्पट बोल्ने र अरुको अन्याय नसहने स्वभावका थिए ।

बिचमै रोकियो पढाइ

स्याङजाको विरुवा प्राविमा उनले कक्षा पाँचसम्म पढे । पछि उनी पाल्पाको रम्मा माविमा पढे । १६ वर्षको उमेरसम्म उनी पाल्पामा बसे । कक्षा सातसम्म पाल्पामा पढेका महमदले त्यसपछिको पढाइलाई भने निरन्तरता दिन सकेनन् । साथीहरुको संगतले उनले पढाइलाई विट मारे । साथीहरुसँग रमाउन जाने, घुम्न जाने गर्थे । उनी साथीहरुको कुरा काट्न नसक्ने भएकाले उनी भारत पनि गए । यस्तै विभिन्न कारणले उनले पढाइलाई निरन्तरता दिन पाएनन् ।

घडी पसलबाट व्यवसाय सुरु

उनी साथीहरुको लहलहीमा लागेर पढाइ छोडेर भारत घुम्न गए । पढाइ छोडेपछि उनलाई अब केही गर्नुपर्छ भन्ने लाग्यो । उनले जीवनमा धेरै संर्घष पनि गरे । व्यवहारिक उनी सानै उमेरदेखि थिए । उनको विवाह पनि सानै उमेरमा भयो । १६ वर्षको उमेरमा उनको बुवाआमाले विवाह गरिदिए । त्यसले पनि उनलाई झन् जिम्मेवारी बनायो । पाल्पामै हुँदा उनले इलेक्टोनिक पसलमा घडी बनाउन सिकेका थिए । केही समय उनले पाल्पामै काम सिक्दै काम गरे । काम सिकेपछि उनलाई अब व्यवसायमा लाग्नुपर्छ भन्ने लाग्यो ।

घडी बनाए वापत पैसा आउन थालेपछि उनले यही पेशालाई अगाडी बढाए । व्यवसाय गर्न उनी कोहलपुर आए । उनको दाई कोहलपुरमै बस्ने भएकाले पनि उनी २०४६ सालमा कोहलपुर आएर व्यवसाय सुरु गरे । उनी २०४७ सालमा फेरी कर्णाली चिसापानी गए । पछि उनी व्यवसायकै लागि २०५२ सालमा सुर्खेत आए । सुर्खेत आएपछि भने उनको व्यवसाय झन् फस्टायो । उनले वीरेन्द्रनगरमा घडीको सर्भिसिङ सेन्टर खोले । उनले स्याङजा घडी पसल नाम दिएर व्यवसाय सुरु गरे । उनलाई उक्त घडी पसलले सुर्खेतमा मात्र नभई धेरै जिल्लामा चिनायो । उनलाई स्याङजाली घडीवाला भनेर सबैले चिन्ने गर्छन् ।

वीरेन्द्रनगरमा उनले आफ्नो छुट्टै पहिचान बनाए । उनलाई अहिले पनि स्याङजाली घडीवाला भनेरै धेरैले चिन्ने गर्छन् । अटो मोवाइल सेक्टरमा हुलासको अधिकृत विक्रेता भएर पनि उनले पाँच वर्ष काम गरे । पछि केही समय उनले फेरी पुरानै व्यवसाय सञ्चालन गरे । अहिले उनी सर्खेत भ्याली सिमेन्ट व्रिक एण्ड ब्लक उद्योग सञ्चालन गरिरहेका छन् । विगत तीन वर्षदेखि उनले उक्त व्यवसाय सञ्चालन गर्दै आइरहेका हुन् । उनलाई व्यवसाय गर्नमा उनको घरपरिवारले धेरै सहयोग गर्ने गरेका छन् । व्यवसायमा छोराहरुको पनि साथ रहेको उनको भनाई छ । उनको उद्योगमा सिमेन्टबाट बन्ने सामानहरु निर्मित गर्ने गरिन्छ । सुरुवातमा घडी बनाउदै व्यवसाय सुरु गरेका महमदले व्यवसायलाई परिमार्जित गर्दै अघि बढिरहेका छन् । थोरै लगानीमा सुरु गरेको व्यवसाय अहिले लाखौ करोडौमा पुगेको छ ।

बाल्यकालको योजना

महमदले बाल्यकालदेखि धेरै संर्घष गर्नुप¥यो । त्यसकारण पनि होला उनले भविष्यको योजना केही बनाएनन् । बाल्यकालदेखि नै व्यवहारिक र जिम्मेवारी वहन गरेका उनले भविष्यमा के गर्ने भन्ने योजनासमेत बनाउन पाएनन् । सानै उमेरमा जिम्मेवारी सम्हालेका उनले पहिलो काम नै घडी बनाउन सिके र त्यही पेशामै लागे । भनिन्छ नी, दुखले मान्छेलाई जीवनको सही मोडमा पु¥याउँछ । मोहम्मदलाई पनि संर्घषले जीवनमा सफलतामै दोहो¥यायो । उनको मेहेनत र दुख गर्ने बानीले आज उनी सुर्खेतमा सफल व्यापारीको रुपमा परिचित छन् ।

भावी योजना

उनको भावी योजना खासै ठुलो भने छैन । आफुले गरिरहेको व्यवसायलाई अझै राम्रोसँग अगाडी बढाउने उनको योजना रहेको छ । उनी भविष्यभन्दा पनि वर्तमानमा विश्वास गर्छन् । त्यसैले पनि भविष्यको योजनाभन्दा पनि वर्तमानमा भए गरेका कामलाई सफल बनाउने उनको उद्देश्य हुन्छ । त्यसैले उनी भन्छन्, ‘मैले अहिले गरिरेको कामलाई निरन्तरता दिने र यसैलाई राम्रो बनाउने योजना छ ।’

तपाईको प्रतिक्रिया