सुर्खेत, १० पुस ।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णालीको अध्यक्षमा सुर्खेतका पदमबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । शनिबार (भोली) हुने निर्वाचनमा शाहीको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिए । यद्यपी निर्वाचनको औपचारिक घोषणा भने गरिएको छैन ।
निर्वाचन कमिटीले औपचारिक घोषणा नगरे पनि शाहीको मात्रै उम्मेदवारी परेकाले उनी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन कमिटीले उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यका लागि अनलाइन तथा स्वयमं उपस्थित भएर बिहीबार दिउँसो ४ बजेसम्म मनोनयन दर्ता गराउन आह्वान गरेको थियो । तोकिएको समयभित्र शाहीको मात्रै उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् ।
उनीसँगै एसोसियटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती (सुर्खेत), कोषाध्यक्षमा सुधन श्रेष्ठ (सल्यान) र एसोसियट तर्फको सदस्यमा सीताराम कार्की र झविन्द्र खत्री निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेकाहरुको निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार मात्र हुनेछ । मनोनयन दर्ताअनुसार उपाध्यक्ष, जिल्ला, नगर र सदस्यहरुको मात्रै निर्वाचन हुने निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए ।
जिल्ला–नगरको उपाध्यक्षमा भानुभक्त वराल (कालीकोट) र रज्जब अली मनियार (जुम्ला) को उम्मेदवारी परेको छ । जिल्ला–नगरको पाँच सदस्यको लागि नाङ्गेल लामा (हुम्ला), नविन विक (सुर्खेत), कविराज कँडेल (सुर्खेत), भुवन ज्ञवाली (सुर्खेत), कर्ण खत्री (जाजरकोट), पहल खड्का (रुकुमपश्चिम) र कष्ण कोइराला (दैलेख) को उम्मेदवारी परेको छ । जिल्ला–नगरतर्फको उपाध्यक्ष र सदस्यको लागि शनिबार निर्वाचन हुनेछ । प्रदेशभर एसोसियटतर्फ ४४ र जिल्ला–नगरतर्फ ११ मतदाता रहेका छन् ।
युग संवाददाता । । १० पुष २०७७, शुक्रबार ११:२२