संकटमा कर्णाली प्रदेश सरकार, अब प्रदेश सभामा कांग्रेसको भूमिका निर्णायक

सुर्खेत, ७ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको औपचारिक घोषणा हुन बाँकी छ । तर केन्द्रमा दुबै पक्षले आफ्नो अलगअलग केन्द्रीय समितिको बैठक बसेर आफूहरु नै वैधानिक नेकपा भएको दाबी गरिरहेका छन् । योसँगै कर्णालीमा प्रदेश सरकार नै संकटमा परेको छ ।

प्रदेश सभामा रहेका नेकपाका दुई जना सांसद धर्मराज रेग्मी र ठम्बर विष्ट प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेसँगै कर्णालीमा सत्ता समिकरण बदलिने संकेत देखिएको हो । पूर्वमाओवादीबाट निर्वाचित दुबै जना सांसद ओली पक्षको केन्द्रीय सदस्य चयन भएका छन् । यसले पनि प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेको दाबी ओली पक्षले गरेको छ । साथै अब कर्णालीमा पनि सरकार परिवर्तनको चर्चा सुरु भएको छ ।

प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । तर पार्टी एक हुँदा मुख्यमन्त्री बहुमतमा थिए । ४० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीका लागि बहुमतमा रहन २१ जना सांसदको समर्थन चाहिन्छ । नेकपा भित्रको समिकरणले अब प्रचण्ड र माधव नेपाल एक टाउँमा आएपछि मुख्यमन्त्रीको पक्षमा जम्मा १९ जना छन् । यद्यपी नेता रामबहादुर थापा (वादल) पक्षमा दुई जना सांसदले साथ नदिएको खण्डमा मुख्यमन्त्रीको पक्षमा सांसदको संख्या १७ मात्र हुनेछ । वादल हाल कुनै पक्षमा लागेका छैनन् ।

नेकपाका ३३ जना सांसदमा ओली समूहमा सांसदको संख्या सभामुखसहित १४ रहेको छ । यसरी नेकपा औपचारिक रुपमा विघटन भयो र केन्द्रकै समिकरण अनुसार प्रदेशमा पनि सरकार परिवर्तनको कसरत भएमा मुख्यमन्त्री शाहीलाई बहुमत जुटाउन सहज छ्रैन । यसरी हेर्दा अब कर्णाली प्रदेश सभामा काँग्रेसको भूमिका निर्णायक हुने देखिएको छ । प्रदेश सभाका काँग्रेसका ६ सांसद छन् । राप्रपाका एक सांसद छन् । मुख्यमन्त्रीलाई अब सरकार जोगाइ राख्न काँग्रेसको समर्थन भएमात्र सहज हुनेछ । यस्तै ओली समूहले पनि सरकार गठन गर्न चाहेमा पनि काँग्र्रेसको समर्थन आवश्यक छ ।

ओली समूहले भने काँग्रेस र राप्रपाको साथ पाएमा मात्र बहुमत जुटाएर सरकारको नेतृत्व गर्न सक्छ । काँग्रेसको ६ र राप्रपाका एक सांसदले साथ दिएमा मात्र ओली पक्षको २१ पुग्छ । कर्णालीका ओली पक्षका नेताहरु मुख्यमन्त्रीले बहुमत गुमाइ सकेकाले अब काँग्रेस र राप्रपाको साथ लिएर नयाँ सरकार गठन हुने संकेत गरेका छन् । त्यसमा नेता वादल पनि ओली पक्षमा सामेल भए प्रदेशमा आफूहरु थप बलियो हुने र मुख्यमन्त्री निकै अल्पमतमा पर्ने ओली पक्षको दाबी छ । तसर्थ अब कर्णाली प्रदेश सरकार गठनमा काँग्रेस निर्णायक हुने निश्चित छ ।

यद्यपी कांग्रेसले भने अहिले नै सरकार गठनबारे केही बोल्न नमिल्ने बताएको छ । नेकपाको आन्तरिक कहलले देशमा देखिएको गतिरोध अन्त्य नभएसम्म सरकार सञ्चालनमा कांग्रेसले कुनै निर्णय नगर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले बताए । यता नेकपाको प्रचण्ड समूहले भने ओली समूह नै सरकारबाट बाहिरिने दाबी गरेको छ । ‘पार्टी त फुटिसक्यो, घोषणा मात्रै नभएको हो’ नेकपाका एक सांसदले भने, ‘प्रदेश सरकार त ढल्दैन तर ओली पक्ष सत्ताबाट बाहिरिन्छ ।’ ओली समूह सत्ताबाट बाहिरिदा सत्ता सञ्चालनमा झन् सहज हुने ति नेताको तर्क छ ।

हामी बहुमतमै छौं

यता प्रचण्ड समूहले प्रदेश सरकारमा आफ्नो बहुमत कायमै रहेको दाबी गरेको छ । ‘प्रदेशमा दाहाल–नेपाल समूहकै बहुमत छ, नेकपा विघटन भए पनि प्रदेश सरकार ढल्दैन’ प्रचण्ड निकट एक सांसदले भने । ‘पूर्व माओवादीका साथीहरु कोही कतै जानु भएको छैन, नेपाल समूहका आठ सांसद पनि हाम्रै लाइनमा छन्’ ति सांसदले भने, ‘बरु दुई तिहाइ पु¥याउन कांग्रेसलाई पनि साथमा लिन सकिन्छ, तर सरकार ढल्दैन ।’ अहिले कर्णाली प्रदेश सरकारमा ओली समूहका दुई, प्रचण्ड समूह मुख्यमन्त्रीसहित दुई र नेपाल र रामबहादुर थापा ‘बादल’ समूहका एक÷एक जना मन्त्री छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी प्रचण्ड समूहका हुन् । सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री नन्दसिंह बुढा ओली समूहका हुन् । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला नेपाल र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी बादल समूहका हुन् ।

अभिभावकत्व निभाउँछौं ः काँग्रेस

कर्णाली प्रदेश सरकार संकटमा परेमा अभिभावकत्व निभाउने तर सरकारमा जान हतार नगर्ने नेपाली कांग्रेसले जनाएको छ । ‘नेकपाले ल्याएको संकटबाट मुलुकलाई बचाउन कांग्रेसले अभिभावकत्व निभाउँछ, तर सरकारमा जान हतार गर्दैन’ कर्णाली प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले भने, ‘पार्टी केन्द्रको निर्णय अनुसार नै सरकारमा जाने वा नजाने भन्ने एकिन हुन्छ ।’ जनताले नेकपालाई दिएको पाँच वर्ष सरकार सञ्चालन गर्ने मत दिएको भन्दै नेकपाले त्यो जिम्मेवारी पुरा नगरेको खण्डमा भने कांग्रेसले अभिभावकत्व निभाउने उनको तर्क छ । ‘कांग्रेस लोकतन्त्र र जनमतको कदर गर्छ तर सत्तामा पुग्न हतार गर्दैन’ उनले भने, ‘तर मुलुकमा आइपर्ने संकट समाधान गर्न अभिभावकत्व निभाउन तयार छ ।’

ओली पक्षको कर्णाली भेला काठमाडौंमा

नेकपाको ओली समूहले कर्णाली प्रदेश कमिटीको भेला काठमाडौँमा बोलाएको छ । कर्णाली प्रदेश तथा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने ओली समूहको भेला आज (बुधबार) काठमाडौँमा तय गरिएको छ । भेला गर्ने जिम्मेवारी ओलीले नेकपा कर्णाली प्रदेशका सह–संयोजक यामलाल कँडेललाई दिएका छन् । कँडेको अगुवाइमा प्रदेश कमिटी भेला काठमाडौँमा बस्ने टुङ्गो लागेको ओली समूहका नेताहरुले बताएका छन् । ओली समूहका नेताहरु बैठकमा सहभागी काठमाडौँ पुगेका कारण काठमाडौँमै प्रदेश स्तरिय भेला बोलाइएको हो । नेकपामा दरार आउनुअघि कर्णाली प्रदेशबाट ओली समूहबाट सुर्खेतका कँडेल, सल्यानका जुलावजंग शाह, हुम्लाका गोरख बोगटी, दैलेखका लक्ष्मी पोखरेल र डोल्पाका हंसबहादुर शाही केन्द्रीय सदस्य छन् । मंगलबारको ओली समूहको बैठकले ओली समूहका प्रदेश सांसद, पूर्व सांसद र जिल्ला कमिटी अध्यक्ष तथा सचिवालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

प्रचण्ड–नेपाल समूह

महेन्द्रबहादुर शाही
सीताकुमारी नेपाली
विमला केसी
रातो कामी
विरबहादुर शाही
बिन्दमान विष्ट
पुष्पा घर्ति
गोपाल शर्मा
गणेशप्रसाद सिंह
प्रकाश ज्वाला
सुशिलकुमार थापा
पद्मा खड्का
देवी ओली
चन्द्रबहादुर शाही
कुर्मराज शाही
करविर शाही
अमरहादुर थापा

बादल समूह

कृष्णा शाह (आचार्य)
नरेश भण्डारी

ओली समूह

राजबहादुर शाही (सभामुख)
यामलाल कँडेल
गुलावजंग शाह
दल रावल
बद्मीक्वारी बोहोरा
राजु नेपाली
मिनासिंह रखाल
पदमबहादुर रोकाय
खड्कबहादुर खत्री
कौशिलावती खत्री
नन्दसिंह बुढा
दानसिंह परियार
धर्मराज रेग्मी
ठम्बरबहादुर विस्ट

तपाईको प्रतिक्रिया