काठमाडौँ, ८ पुस ।
सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९७ औँ जन्मजयन्ती बुधबार मनाईँदै छ । पुस ८ गते बुधबार परेको उनको जन्मदिनलाई विशेष रुपमा मनाउने गरिएको भए पनि यो वर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रम भएका छैनन् ।
ललितपुरको बाँडेगाउँमा रहेको किसुनजी आश्रममा विगतका वर्षमा उनको जन्मजयन्तीमा विशेष कार्यक्रम हुने गरेको थियो । यो वर्ष विशेष कार्यक्रम नभए पनि आश्रममा बस्दै आएकी अमिता कपालीसहित सन्त नेता भट्टराईका शुभचिन्तकहरुले त्यहाँ रहेको प्रतिमामा माल्यार्पण तथा दीप प्रज्ज्वलन गरेका छन् ।
नेपाली राजनीतिमा निष्ठा, त्याग र सत्यवादिताका पर्याय मानिने नेता भट्टराईको १० वष पहिले अर्थात २०६७ फागुन २० गते निधन भएको थियो । उनी २०४७ र २०५६ गरि दुई पटक नेपालको प्रधानमन्त्री भएका थिए । उनले प्रधानमन्त्री भएका बेला २०४७ कात्तिक २३ गते बहुदलीय व्यवस्थासहितको संविधान जारी भएको थियो ।
युग संवाददाता । । ८ पुष २०७७, बुधबार ११:०६