प्रचण्ड–नेपालको हाउगुजी राईको अख्तियार यात्रा, संसद र नेकपा दुर्घटनामा

सुर्खेत, ६ पौष ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बाहिर देख्दा धेरै विषय भएपछि भित्रि रहस्य चाही अख्तियार प्रमुखमा ल्याउन खोजिएका व्यक्ति पूर्व गृह सचिव प्रेम कुमार राई नै हुन । राई निजामती प्रशासनमा इमान्दार छवी कायम गरी अवकाश भएका प्रशासक हुन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली राईलाई प्रमुख आयुक्त बनाउन खोज्दै थिए भने नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा नेता माधव कुमार नेपाल उनको नियुक्ति कुनै पनि हालतमा रोक्ने तयारी गरेका थिए ।

राई प्रमुख आयुक्त भएमा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई जेल हाल्छन् भन्दै विभिन्न मिडियामा समाचार आएपछि कुनैपनि हालतमा उनको नियुक्ति रोक्ने तयारीमा नेताहरु पुगेका थिए । बाहिर फरक फरक विषयमा विवाद देखाएपनि भित्रि कुरा चाहि अख्तियार प्रमुखमा आफ्नो कोटाको, आफ्नो उत्तरदाधिकारी बनाउने प्रयासमा नेताहरु पुगेका थिए । माधव नेपाललाई ललिता निवास जग्गा प्रकरण र प्रचण्डलाई लडाकु शिविर भ्रष्टाचारमा राईले जेल हाल्छन् भन्दै प्रचारबाजी र आरोप प्रत्यारोप भएका थिए ।

ललिता निवासको जग्गा भूमाफिया शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनीका मालिक मीनबहादुर गुरुङहरुले गैरकानुनी रुपमा दर्ता गरेका थिए । प्रधामन्त्री, प्रधान्यायाधीश र सभामुखको निवाससँगैको ११४ रोपनी उक्त सरकारी जग्गा भूमाफियाले दर्ता गरेको विषय जानकारी पाउनासाथ उनै राईले गृह मन्त्रालयको सचिवको हैसियतले पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिति बनाए ।

त्रिताल समितिले बालुवाटारको उक्त जग्गा सरकारी नै भएको र सूवर्णशमशेर राणाको हदबन्दी लागेको जग्गा सरकारले मुआब्जा दिएर अधिकरण गरेको प्रतिवेदन दियो । उक्त प्रतिवेदन सार्वजनिक भएपछि नेकपा महासचिव विष्णु पौडेलदेखि कांग्रेसका नेता विजयकुमार गच्छदार, व्यापारी सुहृद घिमिरे, मिनबहादुर गुरुङ, ट्रेडमार्कका दलाल कैलाशचन्द्र गोयललगायत व्यक्तिहरु तानिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तर, विष्णु पौडेलका छोरा नविनविरुद्ध भने मुद्दा दायर भएको छैन । गच्छदारलाई मुद्दा दायर गर्ने तर, पौडेललाई उन्मुक्ति दिएको विषयमा अख्तियारको आलोचना भइरहेको छ ।

संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम कुमार राईलाई सिफारिस गरेको छ । संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० मा बसेको संवैधानिक परिषदको बैठकले नै राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । तर उक्त निर्णयसहितको सिफारिस आइतबार संसदीय सुनाइका लागि संसद सचिवालयमा पुगेको छ । संवैधानिक नियुक्तिका लागि सिफारिस भएपछि संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था भए पनि संसद् नै विघटन भएकोले अब संसदीय सुनुवाइ हुने अवस्था छैन । संसदीय सुनुवाइ विना नै राई अख्तियारमा प्रमुख बन्ने भएका छन् ।

को हुन अख्तियार प्रमुख राई
प्रेम कुमार राई २०१८ सालमा संखुवासभामा जन्मिए मध्यम वर्गीय किसान परिवार । संखुवासभा सदरमुकामसँग जोडिएको खोरन्डे गाउँ । उतिबेला त्यहाँका अधिकां युवाहरुको सपना हुन्थ्यो लाहुरे बन्नु । तर, उनलाई भने लाहुरे सपनाले कहिल्यै तानेन । उनी गल्लावालका सम्म छाती नपाउन कहिल्यै गएनन् । सुनाए, ‘मेरो दाजु पनि लाहुरे नै हुनुहुन्छ तर, मलाई भने त्यो सपनाले तानेन ।’

संखुवासभाको खाँदबारीस्थित हिमालय माविमा एसएलसीसम्मको अध्ययन गरे । २०३५ सालमा हिमालय माविबाट एसएलसी पास गरेपछि उच्च शिक्षका लागि काठमाडौं आए उनी । २०३६ सालमा शंकरदेव क्याम्पसमा आई.कममा भर्ना भए । तर, त्यो बेला आन्दोलनका कारण २०३९ सालमा मात्रै आइकम सकियो । मिनभवनबाट वि.कम गरे । २०४५ सालमा शंकरदेव क्याम्पसबाट उनले एम बिए सके ।

अध्ययनकै क्रममा उनले २०४० साल साउन १ गते लेखापालमा नाम निकाले । अध्ययनकै क्रम चलिरहेको थियो । बीचमा आन्दोलन आदिका कारण नियमित पढाइ हुन सकेको थिएन । अध्ययनको अवधि लम्बिँदै जाँदा घरबाट खर्च पढाउन समस्या भएपछि उनले जागिरको बाटो रोजे । महालेखा परीक्षक अन्तर्गतको जागिर गर्दा उपत्यका बाहिर जान नपर्ने र काम सकिएपछि पढ्ने समय पनि पाइने भएका कारण उनले त्यो जागिर रोजेका थिए ।

त्यही क्रममा उनले २०४४ सालमा शाखा अधिकृतमा नाम निकाले । उपसचिवका लागि २०४९ सालमा लिखित प्रतिस्पर्धा गरे राईले । त्यसमा पनि नाम निकाले । दिइएका परीक्षामा कहिल्यै निरास हुनु परेन उनले । पाँच वर्षअघि सचिव भएका राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय, आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयमा सचिवको जिम्मेवारीमा काम गरे ।

‘जहाँ गए त्यही सुधार’ गृह सचिव हुँदा
पूर्व गृहसचिव राई असाध्यै कम बोल्छन् । सरल छन् । प्रष्ट र सिधा बोल्छन् । खस्रो बोल्छन् । सेवाग्राही होस् वा अरु कोही हुने काम भए तत्काल गरीदिन्छन् । उनी घुमाएर बोल्दैनन्, जे हो त्यही प्रष्ट भनी दिन्छन् । उनीसँग नजिक रहेर काम गरेका कर्मचारीहरु भन्छन्, ‘प्रेम सर, हक्की हुनुहुन्छ । ‘हुन्छ’ भने हुन्छ, भनी दिनुहुन्छ । ‘हुँदैन’ भने सिधैं हुँदैन भनी दिनुहुन्छ । जे बोल्नु हुन्छ त्यही गर्नुहुन्छ । कानुनले गर्न नमिल्ने काम जस्तासुकै दबाब आए पनि गर्नुहुन्न ।’

कर्मचारीले कुनै पनि काम अथवा फाइल एक मिनेट पनि रोक्न नहुने उनको भनाई छ । भन्छन्, ‘हामीले कुनै काम अथवा फाइल रोकेर राख्दा सम्बन्धित सेवाग्राहीको अमूल्य समय बर्बाद भइरहेको हुन्छ । मुलुकसँग जोडिएको बिषय भए मुलुकको समय बर्बाद भइरहेको हुन्छ । हामीले कहिल्यै पनि जनता र देशको समय बरबाद गरी दिनु हुन्न ।’

उनी जुन–जुन मन्त्रालयमा गए त्यहाँ सुधारको शुरुवात गरे । सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार उनी जहाँ–जहाँ गए त्यहाँ अमिट छाप छोडेर विदा भए । आफू जहाँ गए पनि सुधारको प्रयास गरेको उनी बताउँछन् । भन्छन्, ‘जहाँ अलि समय लिएर काम गर्ने अवसर पाएँ । त्यहाँ दीर्घकालीन रुपमा सुधार हुने गरी कामको शुरुवातको प्रयास गरें ।’ उनले गरेका अनेकौ कामका लामो सूची छ । पछिल्लो समयमा गरिएको कार्यसम्पादन सम्झौताको अवधारणा ल्याउनमा पनि उनको भूमिका छ । मुलुकको समृद्धि र सुशासनमा कार्यसम्पादन सम्झौता निकै प्रभावी हुने उनको बुझाई छ ।

२३ महिना उनले गृह मन्त्रालयमा बिताए । मन्त्रालयका उच्च अधिकारीका अनुसार २३ महिना गृह मन्त्रालयको इतिहासमा स्वर्णकाल हो । दीर्घकालसम्मलाई बाटो र उज्यालो हुने गरी उनले कामको शुरुवात गरे । गृहमा एउटा पद्धतिको आधार तयार पारेको उनले सुनाए । उनले भने, ‘अब गृहमा पनि एउटा ‘बेस’ तयार भएको छ । अब आउनेले इमानका साथ काम अघि बढाए धेरै ठूलो परिवर्तनको अवस्था आउनेमा म विश्वस्त छु ।’

‘इमान र निष्ठाको सगरमाथा’
सबैको आदरणीय प्रेम सर अर्थात् गृहसचिव राई गृह मन्त्रालयबाट विदा हुँदा उही गृहसचिवको कुर्सीमा थिए । अब एक दिनपछि त्यो कुर्सीमा हुने छैनन् । उनलाई आदर र माया गर्ने सरकारी कर्मचारीहरुको फोन उनलाई तारन्तार आइरहेको थियो । उनीहरु भनिरहेका थिए, ‘सरले देखाएको बाटो भुल्ने छैनौं ।’ त्यसो त उनीप्रति देखाइएको त्यो सद्भाव र मायाले घरीघरी भावुक पनि हुन्थे । उनले सुनाए, ‘इमान र निष्ठाका साथ काम गर्दा एक दिन माया र सम्मान पाइने रहेछ ।’

सरकारी सेवामा सचिवहरु कैयन छन् । अवकाश हुने प्रक्रिया पनि चलि नै रहेको छ । तर, उनले सिंहदरबार छोडेर जाँदै गर्दा भने धेरै होहल्ला भएको छ । मानौं, अब कर्मचारीहरुको अभिभावक नै रहेन जसरी । उनले राजीनामा दिएको समाचार बाहिर आए लगत्तै खासगरी निजामती क्षेत्रका उच्च पदस्थहरुले मोबाइल म्यासेज र फोनमा मात्रै होइन सामाजिक सञ्जालमा समेत उनले हिंडेको बाटो पछ्याउने प्रतिबद्धतासहित भावुक स्टाटसहरु लेखिरहेका छन् । सहसचिव केदार पनेरुले लेखेका छन्, ‘आदरणीय प्रेमकुमार राई ! प्रेरणाको श्रोत ! इमान्दारिता, कर्तव्यपरायणता, सदाचारीता र नैतिकताप्रति सधै अव्वल ! अबको दिनमा निजामती कर्मचारीले उहाँको पथ समाउन त्यसरी नै लाग्न सकेमा सफलता टाढा छैन !’

शाखा अधिकृत अनिल किरातीले लेखेका छन्, ‘अधिकां कर्मचारीको अभिभावक आदरणीय गृह सचिव प्रेमकुमार राई सर निजामति सेवाको विशिष्ट श्रेणीबाट अवकास हुँदै हुनुहुन्छ । हामी निजामती सेवामा कार्यरत कर्मचारीहरुको रोल मोडल हो उहाँ । हामी उहाँकै मार्गमा हिंड्न खोजी रहेका छौ । कर्मचारीतन्त्रप्रति अहिले त अत्यधिक नकारात्मक धारणाहरु छन् तर प्रेम सर जस्तो व्यक्तित्वले यसको शाख जोगाउनु भएको हामी मान्छौं । आदरणीय सरको आगामी दिन पक्कै समग्र प्रशासन र कर्मचारीतन्त्रलाई सुदृढ गर्ने पक्षमै रहन्छ र रहनेछ, थाहा छ । हामी प्रेम सरको इतिहास (हिजो, आज र भोलि) को भूमिकाप्रति गर्व गर्छौ । सरको उपस्थिति हाम्रो शक्ति थियो र हुनेछ । सरको योगदान हाम्रो कर्मको आधार हो । हामी सरको मार्गलाई पछ्याउँछौं । सरलाई सविनय सप्रेम शुभकामना ।’

निजामती प्रशासनभित्र एउटा भनाई नै छ राई जस्ता सचिब १० जना मात्रै हुने हो भने मुलुकको कायपलट हुन धेरै समय लाग्दैन । सामाजिक सञ्जालमा उनीप्रति देखाएको सम्मान र सद्भावप्रति उनी अपडेट रहेछन् । ‘कस्तो लागिरहेको छ ?’ ‘मप्रतिको माया र सम्मानको रुपमा बुझेको छु,’ भावुक भएर मुस्कुराएर भने, ‘यस्ता सद्भाव र मायाले अझ राम्रो गर्ने उर्जा र प्रेरणा मिल्छ । म सबैप्रति आभारी छु ।’

‘परिर्वतन सम्भव छ’
अहिले बहस छ, ‘किन बनेन देश ?’ दोषी को हो ?’ राजनीतिक नेतृत्वसँगै कर्मचारीतन्त्रलाई पनि दोष दिइन्छ । देश नबन्नुमा कर्मचारीतन्त्र कति दोषी छ त ? यो आरोपमा उनी कति सत्यता देख्छन् । ‘आरोप गलत छ भन्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘सुशासन र समृद्धिका लागि निष्पक्ष र पारदर्शी सेवा आवश्यक छ । तर, हामीकहाँ अझै प्रणाली विकास हुन सकेको छैन ।’

साँच्चीकै हरेक कर्मचारीहरुले देशलाई शीरमा राखेर इमानका साथ काम गरे परिर्वतन सम्भव रहेको उनको भनाई छ । के इमानका साथ काम गर्ने कर्मचारीका मूल्याङ्गकन हुन्छ ? ‘अब बिस्तारै इमान र निष्ठाको मूल्याङ्कन हुने प्रणालीको बिकास हुँदैछ,’ उनले सुनाए, ‘अब इमानदारहरु पाखा पर्ने र खेदिने प्रणालीको अन्त्य गरिनु पर्छ ।’

गृहमा रहँदा उनले धेरै सुधारको आधार तयार पारेका छन् । गृह मन्त्रालय मातहतका निकायको भौतिक क्षमता विकास, अध्यागमन सुधार, कारागार क्षमता विकास, अपराध न्यूनीकरण, अभिलेखीकरण, सम्पतिको व्यबस्थापन आदिमा उनले दीर्घकालसम्मको एउटा मार्गचित्र तयार गरीदिएका छन् । उनले शुरु गरेका सुधार अभियान बिस्तारै नजितामा देखिन थालेको छ ।

हामीले सोध्यौं, ‘अलि धेरै समय काम गर्न पाउनु भएको भए अझ बढी गर्न सकिन्छ भन्ने लागेको छैन ?’ ‘त्यो त लागेको छ,’ उनी मुस्कुराए, ‘प्रणालीको बिकासका लागि धेरै आधारहरु तयार पारेका छौं । निश्चित रुपमा यो भूमिकामा अलि लामो समय बिताउन पाए धेरै गर्न सकिन्छ जस्तो त लागिहाल्छ । तर पनि हामीले तय गरेको प्रणालीलाई अब आउनेले पछ्याउनेमा विश्वास छ ।’

तपाईको प्रतिक्रिया