‘परिवार र आफन्तलाई छलेर लुकीलुकी भेट्थ्यौं’

कोही व्यक्ति सफल हुनुमा उसको पछाडी कसै न कसैको प्रेरणा र साथ रहेको हुन्छ । सफल बन्नको लागि एक्लैको आँटले पनि सम्भव हुँदैन । यस्तै कुलमान नेपाली कलाकारिता क्षेत्रमा सफल हुनुमा उनको श्रीमती सीता नेपालीको ठुलो योगदान छ । जीवनमा सुख प्राप्त पनि सीताको आगमनले नै भएको ठान्छन् कुलमान । जीवन सफल बनाउन एक अर्काको साथ र सहयोग हुन जरुरी छ । सीताको आगमनसँगै कुलमानको जीवनमा पनि सुखका क्षणहरू धेरै आएका छन् ।

मागी विवाह

कुलमान नेपाली वीरेन्द्रनगरस्थित इत्राममा बसेर पढ्दै थिए । उनकै गाउँमा सीता नेपालीको पनि घर थियो । दुबै जना एक अर्कालाई बाल्यकालदेखि नै चिन्थे र मन पनि पराउँथे । उनीहरु घरपरिवारसँग लुकीलुकी भेट पनि गर्थे । कुलमान कहिलेकाँही उनलाई बाहिर निकाल्नका लागि गीत गुनगुनाउने गर्थे । उनले त्यस समयमा ‘कान्छीलाई घुमाउने काठमाडौं शहर’ बोलको गीत खुब गाउने गर्थे । सीताका घरपरिवारले उनलाई घरबाहिर निस्कन खासै दिन्थेनन् । घरबाट निस्कन नदिँदा कुलमानले सीतालाई गीत गायर बाहिर निस्कन संकेत दिन्थे । करिव पाँचवर्ष सम्मको उनीहरुको प्रेमलाई उनीहरुले २०४३ सालमा पुर्णता दिए । दुबैको घर एउटै गाउँमा भएकाले उनीहरुको परिवारलाई एकअर्कालाई मन पराएको कुरा भन्नै परेन । दुबैको घरपरिवारले थाहा पाइसकेका थिए । गाउँमा पनि थाहा थियो उनीहरुको माया प्रेम बसेको कुरा । घरबाट परिपक्व भएपछि विवाह गरिदिने भन्ने कुरा भएको थियो । पछि कुलमानको घरबाट विवाहको कुरा चलेपछि उनीहरुको २०४३ सालमा मागी विवाह भयो ।

सफलतामा श्रीमतीको साथ

कुलमान सफल हुनुमा उनकी श्रीमतीको ठुलो योगदान रहेको छ । कुलमान कलाकार भएकाले धेरै समय उनी बाहिर नै रहन्थे । घरपरिवार सबै कुरा उनले नै सम्माल्थिन् । कुलमानलाई घरपरिवारको चिन्ता लिनै परेन । श्रीमतीले सबै घर व्यवहार धानेपछि उनलाई कलाकारिता क्षेत्रमा लाग्न सहज भयो । उनी भन्छन्, ‘मेरो सफलताको श्रेय मेरी श्रीमती नै हुन् ।

छोरी र बुहारी हुँदाको अनुभव

विवाह पछि सीतालाई छोरी र बुहारी हुँदाको अनुभव फरक लाग्यो । छोरी हुँदा विहान ८ बजेसम्म सुत्ने बानी थियो । तर विवाह पछि विहानै उठ्नुपर्ने, दैलो कुच्चो गर्नुपर्ने, घरव्यवहार सम्माल्नुपर्ने, सबै काम गर्नुपर्ने हुँदा सुरु सुरुमा अलि नरमाइलो पनि लाग्यो । त्यसैमा कलाकार भएकाले बाहिर बाहिर जानुपर्ने हुँदा कुलमानले घरमा धेरै समय दिन पाएनन् । त्यस समयमा फोन पनि थिएन । कुलमान बाहिर गएपछि धेरै दिनपछि घर आउँथे । सीता घरमा श्रीमान् आउने दिन कुरेर बस्थिन् । तीनै दिनमा संर्घष गरेर अहिले कुलमान र सीताको जोडी खुशी छन् । सीतालाई पहिले त श्रीमान् बाहिर हिँडी रहँदा कहिलेकँही शंका पनि लाग्ने गथ्र्यो । तर पछि उनले कलाकारको जीवन नै यस्तै हो भन्ने बुझेपछि शंका लाग्न छाड्यो । पछि उनको छोराछोरी जन्मिएपछि उनीहरुनै साथी भए ।

रमाइलो बाल्यकाल

पिता गंगनबहादुर विक र माता जुनकिरी नेपालीको कोखबाट वि.सं २०२२ सालमा सुर्खेतको पश्चिम बाँसपानीमा जन्मिएका कुलमान नेपालीको बाल्यकाल रमाइलोसँग वित्यो । उनी बाँसपानीमा जन्मिए पनि उनको बाल्यकाल भने वीरेन्द्रनगरमा वित्यो । बाल्यकालमा उनी पढाइसँगसँगै घरको काममा पनि सघाउने गर्थे । गाईबाख्रा चराउन गोठाला पनि जान्थे । बाल्यकालमा उनी अलि जिज्ञाशु स्वभावका थिए । उनको बाल्यकालदेखिको रुची कलाकार बन्ने थियो । त्यसैले पनि होला उनी हरेक कुरामा अलि जिज्ञाशा राख्ने गर्थे । बाल्यकाल देखि नै नाचगानमा उनको रुची औधी थियो । उनको सानै उमेरदेखि नै खेलकुदमा पनि रुची थियो । यस्तै सीता नेपालीको जन्म वि.स.२०२५ सालमा इत्राममा भएको हो । उनको बाल्यकाल पढ्दै घरको काम गर्दैमा वित्यो । उनी बाल्यकालमा उनी चन्चले स्वभावकी थिइन् ।

पढाइ

कुलमानले कक्षा चारसम्म इत्राम स्कुलमा पढेका हुन् । पछि उनी पढ्न जन माविमा गए । उनले जन माविबाट एसएलसी उर्तिण गरे । पछि कक्षा १२ पास भने वीरेन्द्रनगर बहुमुखी क्यापसबाट गरेका हुन् । उनले पछि आफु पढेकै स्कुल इत्राममा पढाउन सुरु गरे । उनले इत्राम स्कुलमा करिव ३० वर्ष अध्यापन गराए । सीताले पनि इत्राम स्कुलमा पढिन् । उनले इत्राम स्कुलबाट कक्षा १० पास गरिन् । विवाह गर्दा सीता कक्षा सातमा पढ्दै थिइन् । विवाह पछि पनि उनले पढाइलाई निरन्तता दिइन् । पछि छोरा जन्मिएपछि उनले पढाइलाई विट मारिन् र घरव्यवहारमा लागिन् ।

कलाकारिताको क्षेत्रको यात्रा

कुलमानले २०३१ सालबाट कलाकारिताको क्षेत्रमा प्रवेश गरे । कलाकारिता क्षेत्रका लागेपछिको पहिलो पटक २०३९ सालमा उनी राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा भाग लिए र राष्ट्रिय पुरस्कार पनि पाए । उनको बाल्यकालदेखिको रुची कलाकार बन्ने नै थियो त्यसैले उनले कलाकारिता पेशालाई निरन्तर अगाडी बढाए र सफल पनि भए । पहिले आफुले नृत्य सिकेका उनले २०४४ सालदेखि भने अरुलाई नृत्य सिकाउन थालेका हुन् । तीन पटक नेपालमा लोकगितमा प्रथम पनि भएका छन् । उनले थारु, डेउडा लागयतका थुप्रै गितमा नृत्य सिकाउने गर्छन् ।

उनले ठुलो पर्दाको चलचित्रमा समेत नृत्य निर्देशन गरिसकेका छन् । चर्चित चलचित्र बाटुली, गोर्खा पल्टन, बन्धकी र भर्खरै मात्र सुटिङ भइरहेको चलचित्र परदेशी २ मा पनि नृत्य निर्देशन गरिसकेका छन् । उनले पाँच वटा म्युजिक भिडियोमा पनि निर्देशन गरिसकेका छन् । उनी भन्छन्, ‘राज्यले कलाकारलाई नहेर्दा दुख लाग्छ, लोककला संस्कृतिको संरक्षण गर्नका लागि सरकारले कलाकारलाई हेरेको छैन ।’ उनी बागिना समुहमा अहिले पनि नृत्य सिकाउँछन् । उनी बागिना समुह सुर्खेतको नृत्य विभागका प्रमुख पनि हुन् ।

सामान्य झगडा

यो जोडीको कहिलेकाँही सामान्य झगडा हुनेगर्छ । अलि बढी सीता नै रिसाउने गर्छिन् । घरको सम्पूर्ण जिम्मेवारी भएका कारण पनि होला । तर सीता रिसाउँदा कुलमान बाहिर निस्कछन् । पछि हाँस्दै घर आउँदा सीताको रिस मरिसकेको हुन्छ । सीता रिसाउँदा कुलमान खिसिक्क हाँस्दिन्छन् र सीताको रिस यत्तिकै मरिहाल्छ ।

जन्मदिन छोराछोरीले मनाइदिन्छन्

यो जोडीले पहिला त जन्मदिन र विवाह उत्सव कहिल्यै मनाएनन् । पहिला मनाउने चलन पनि थिएन । त्यसैले पनि होला यो जोडीले शुभकामना त दिन्थे एकअर्कालाई । तर भव्य तरिकाले मनाएनन् । छोराछोरी जन्मेपछि भने उनीहरुको जन्मदिन र विवाह उत्सव भव्यसँग मनाइदिने गर्छन् ।

सँगसँगै घुमम्छन्

यो जोडी विभिन्न ठाउँमा घुम्न पनि जाने गर्छन् । कुलमानले सीतालाई घुमाउन पनि लैजाने गर्छन् । कहिले काठमाडौं, कहिले पोखरा र सुर्खेतका विभिन्न स्थानमा सीतालाई पनि घुमाउन लगेका छन् । यो जोडीका अनुसार दाम्पत्य जीवनलाई सुखमय बनाउन र दिगो बनाउन एकअर्कामा समझदारी चाहिन्छ । धेरै ठुलो महत्वकाँक्षा राख्नु हुँदैन । उनीहरुका अनुसार घाँटी हेरी हाड निल्न सके सम्बन्धमा कहिल्यै दरार आउँदैन । उनीहरु भन्छन्, ‘धन सम्पत्तीभन्दा ठुलो परिवार हो । परिवारमा शान्त वातावरण गराउन सके त्यसै सुखी भइन्छ ।’

तपाईको प्रतिक्रिया