‘रहर शिक्षक बन्ने थियो तर निजामतिमा आएँ’

आफ्नो जन्मभूमि नै हरेक व्यक्तिका लागि स्वर्ग जत्तिकै प्यारो हुन्छ । तर जन्मभूमिलाई अधिकांश व्यक्तिले कर्मभूमि बनाउन सक्दैनन् । दुर्गममा जन्मिनेहरु शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अनेक सुविधा खोज्दै शहर पस्छन् । शहरमा हुर्केकाहरु विकसित मुलकलाई कर्मभूमि बनाउँछन् । यही कारण जन्मभूमि अधिकांश व्यक्तिका लागि पराइ जस्तै हुन्छ । तर समाजमा केही यस्ता व्यक्तिहरु पनि छन्, जो जन्मभूमिलाई नै साँचिक्कै माया गर्छन् । त्यही मध्येका एक हुन्, चुडामणि कँडेल । शहरमा रमाउने इच्छा हुँदाहुँदै उनले जन्मभूमिलाई नै कर्मथलो बनाएका छन् । प्रस्तुत छ, सुर्खेतको पञ्चपुरी नगरपालिकाका अधिकृत कँडेलसँग गरिएको कुराकानीको सम्पादित अंश ः

मेलापात गर्नु परेन

चुडामणि कँडेल बुवा मोतिलाल र आमा भागरती कँडेलका पहिलो सन्तान हुन् । २०४४ साल भदौ २५ गते सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ३ फार्सेकाँडामा उनको जन्म भएको हो । मध्यम किसान परिवारमा जन्मिएका कँडेलको बाल्यकाल सुखद् रह्यो । पहिलो सन्तानप्रति बुवाआमाको निकै माया थियो । त्यही कारण कृषक परिवारमा जन्मिएर पनि उनले मेलापात गर्नु परेन । ‘बुवाले पढ्न पाउनु भएन, यही कारण उहाँ छोराले पढाइमा प्रगति गरोस् भन्ने सोच्नुहुन्थ्यो’ उनी भन्छन्, ‘पढाइ बिग्रेला कि भन्ने डरले बुवाआमाले मलाई मेलापात पनि गर्न दिनु भएन ।’

कक्षा ३ मा पढेनन्

चुडामणिले स्थानीय नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ठाडागडाबाट औपचारिक पढाइ सुरु गरे । उनले त्यहाँ कखरादेखि कक्षा २ सम्म अध्ययन गरे । कक्षा ४ देखि एसएलसीसम्मको अध्ययन सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेबाट पुरा गरे । तर कक्षा ३ भने पढ्नु परेन । पढाइमा ट्यालेन्ट भएकै कारण शिक्षकले सिधै कक्षा ४ मा भर्ना गरिदिए । कक्षा ८ सम्म मध्यम विद्यार्थीमा गनिने उनले कक्षा ९ र १० मा पढाइमा निकै सुधार गरे । कक्षा ९ मा प्रथम भए । कक्षा १० मा अध्ययन गर्दा कक्षा ९ का विद्यार्थीलाई पढाए । कक्षा ९ का विद्यार्थीलाई पढाउनुको पछाडि भने दुई वटा कारण थिए । पहिलो तत्कालीन सशस्त्र विद्रोहका कारण शिक्षकहरु अभाव थियो भने दोस्रो उनका लागि कक्षा ९ को पढाइ पनि त्यतिकै महत्वपूर्ण थियो । किनकी ऊबेला कक्षा ९ बाट समेत एसएलसीमा प्रश्नहरु सोधिन्थ्यो । २०५९ सालमा सूर्यप्रकाशबाट दुई जना विद्यार्थीले मात्रै एसएलसी पास गरे । जन माध्यमिक विद्यालय वीरेन्द्रनगरबाट आइएसी, वीएसी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट वीए र त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर पुरा गरेका छन् ।

पढ्दै पढाउँदै

उच्च शिक्षाका लागि चुडामणि वीरेन्द्रनगर पसे । शिक्षक हुने सपना देखेर वीरेन्द्रनगरको जन उच्च माध्यमिक विद्यालयमा विज्ञान विषय अध्ययन गरे । कक्षा १२ मा पढ्दै गर्दा शिक्षक हुने अवसर मिल्यो । कक्षा १२ पछि भने पढ्दै पढाउँदै गर्न थाले थाले । वीरेन्द्रनगरका केही बोडिङ स्कुलमा शिक्षक भए । आफ्नै खर्चमा वीएसी पुरा गरे । ‘गाउँमा प्रायः विज्ञान र गणित विषयका शिक्षक पाउँथेनन्’ उनी भन्छन्, ‘सानैदेखि शिक्षक हुने रहर थियो, त्यही भएर विज्ञान विषय पढेँ ।’ तर विज्ञान विषय पढेका विद्यार्थीले शिक्षक हुन पाउने कानुनी व्यवस्था थिएन । शिक्षक सेवा लामो समयदेखि खुलेको थिएन । वीएसीपछि करिव एकवर्ष पूर्णकालिन शिक्षक भएका उनी यही अन्यौलताका कारण निजामति क्षेत्रमा आएका हुन् ।

१०६ बर्षिया बृद्धालाई नागरिकता दिलाउँदा…

सानैदेखि शिक्षक हुने रहर बोकेका चुडामणिले शिक्षण पेशामा भविष्य सुरक्षित देखेनन् । अनि स्कुलमा पढाउँदै लोकसेवा पढ्दै गर्न थाले । २०६८ सालमा लोकसेवा पास गरे । खरिदारबाट निजामतिका प्रवेश गरेका कँडेलको पहिलो कार्यथलो जिल्ला हुकाल कार्यालय बर्दिया बन्यो । पढाइमा अब्बल उनले २०७० सालमै नायव सुब्बा पास गरे । नायव सुब्बा भएर जिल्ला प्रशासन कार्यालय जाजरकोटमा खटिए । २०७१ सालमा जिल्ला प्रशासन कार्यालयले जाजरकोटको तत्कालीन भूर गाविसमा नागरिकता वितरण घुम्ती शिविर राख्यो । त्योबेला उनले १०६ वर्षिया बृद्ध महिलालाई नागरिकता दिलाउने अवसर पाए । ‘दुर्गम गाउँमा पुगेर सेवा गर्न पाउँदा सबैभन्दा धेरै खुशी थिएँ’ कँडेल भन्छन्, ‘एकसय ६ वर्षिया आमालाई नागरिकता दिएको दिन जागिरे जीवनको सबैभन्दा सन्तुष्टिको क्षण हो ।’

अनि आफ्नै जन्मभूमिमा फर्किए

जागिरको नौ वर्षे दौडानमा कँडेलले बर्दिया, जाजरकोट, दाङ र सुर्खेतमा विभिन्न कार्यालयमा रहेर काम गरिसकेका छन् । बर्दिया र जाजरकोटका अवला सिंचाइँ कार्यालय दाङ, जिल्ला वन कार्यालय सुर्खेत र तत्कालिन जिल्ला विकास समिति सुर्खेतमा रहेर काम गरे । सुर्खेतभन्दा बाहिर हुँदा गाउँघरको यादले निकै सताउँथ्यो । ‘जागिर खाए पनि वुआमाआ, छरछिमेक र गाउँघरमै केही गर्नुपर्छ भन्ने सोच्थे’ उनी भन्छन्, ‘अन्ततः संघीयताले गाउँमै सेवा गर्ने अवसर मिल्यो ।’ जिल्ला विकास समितिमा सुर्खेतमा हुँदा उनीलाई काजमा पञ्चपरी नगरपालिका वडा नं. ३ को वडासचिव भएर काम गरे । कर्मचारी समायोजन भएपछि कँडेल पञ्चपुरी नगरपालिकाको प्रशासन शाखामा अधिकृत छैटौं पदमा कार्यरत छन् ।

अवकाशपछि व्यावसायिक खेती

पेशाले कर्मचारी भए पनि कँडेल कृषि पेशाप्रति झुकाव राख्छन् । अहिले पनि घरपरिवार मिलेर भागवत कृषि तथा पशुपालन व्यवसाय गरेका छन् । फर्मबाट लोकल कुखुरादेखि कण्डा उत्पादन गर्दै आएको छ । कृषि क्षेत्रमा राम्रो आम्दानी र उज्जवल भविष्य छ भन्ने बुझेका कँडेल अवकारपछि व्यावसायिक कृषक बन्न चाहन्छन् ।

तपाईको प्रतिक्रिया