उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी सम्मानित

रामचन्द्र न्यौपाने
डोल्पा, ४ पौष ।
जिल्ला अस्पताल डोल्पामा कार्यरत छ जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । कर्णाली प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य सेवा कार्यालय जिल्ला अस्पताल डोल्पाको प्रथम बार्षिक उत्सव समारोहको अवसरमा स्वास्थ्यकर्मीहरु सम्मानित भएका हुन्। सम्मानित हुनेमा महिला प्रजनन तथा स्त्री रोग विशेषज्ञ डाक्टर शंकरप्रसाद राउत, ऐनेस्थेसियाका असिस्टेन्ट सुरेन्द्र शाह, डाक्टर मेलिना हमाल, स्टाफ नर्स दिलु कुमारी बुढा, अहेव कर्ण विक, कार्यालय सहयोगी हरि बिक रहेका छन् ।

अस्पतालको सेवा प्रवाहमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै नगद, प्रमाण–पत्रसहित सम्मान गरिएको हो । अस्पतालमा कार्यरत अहेव कर्ण बिकलाई बर्षकै उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । उनलाई सम्मान स्वरुप प्रमाण–पत्रसहित नगद पन्ध्र हजार प्रदान गरिएको अस्पतालले जनाएको छ । सम्मानले आफुहरुलाई काम गर्न थप हौसला प्रदान गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

त्यसैगरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र बहादुर रोकाय पनि सम्मानित भएका छन् । रोकायलाई अस्पताल व्यवस्थापनमा कुशल एवं सशक्त भूमिका निर्वाह गर्दै आएको भन्दै सम्मान गरिएको हो । सम्मानित हुने सबै कर्मचारीलाई कार्यक्रमका सभा अध्यक्ष तेजेन्द्र बहादुर रोकाय र प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर अविर, खादा र प्रमाणपत्रले सम्मान गरेकाथिए ।

बार्षिक उत्सवका अवसरमा अस्पतालद्धारा विभिन्न मितिमा आयोजित कार्यक्रममा उत्कृष्ट स्थान हाँसिल गरेका स्वास्थ्यकर्मीहरुलाई समेत मेडल प्रमाण पत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला स्थित कार्यलय प्रमुखहरुहरुको उपस्थिति रहेको थियो भने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख डाक्टर सिजन रावल, जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा, अस्पताल व्यवस्थापन प्रमुख तेजेन्द्र बहादुर रोकाय, नागरिक समाजका अध्यक्ष शेर बुढा लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया