कर्णालीको राजधानी वीरेन्द्रनगर । यसअघि पनि वीरेन्द्रनगर प्रशासनिक केन्द्र नै थियो । तत्कालिन विकास क्षेत्र हुँदा पनि वीरेन्द्रनगर सदरमुकाम थियो । देश संघीयतामा प्रवेश गरेसँगै यसले पुन राजधानी हुने मौका पाएको छ । कर्णालीको राजधानी सहर बनेको वीरेन्द्रनगरमा अन्य पूर्वाधारको अवस्था भने कमजोर नै छ । राजनीतिक र प्रशासनिक केन्द्र बनेको वीरेन्द्रनगरमा भौतिक पूर्वाधारको अवस्था भने अपेक्षा अनुसार विकास हुन सकेको छैन । प्रशासनिक केन्द्र हुँदै प्रदेश राजधानी बनेपछि यहाँ मानिसहरुको बसाइसराइ आउनेक्रम बढ्दो छ । पछिल्लो केही बर्षमा मात्र वीरेन्द्रनगरमा भित्रिने जनसंख्या धेरै छ । दिन प्रतिदिन जनसंख्या बढ्दै जाँदा नगरभित्र पूर्वाधारको अभाव हुन थालेको छ । अर्थात् हाल नगरमा रहेका भौतिक संरचनाहरुले थेग्न सक्ने अवस्था बनेको छैन । विभिन्न समस्याहरु मध्ये वीरेन्द्रनगरमा मुख्य समस्याको रुपमा खानेपानीको अभाव नै देखिएको छ । नगरमा खानेपानीको उपयुक्त विकल्प र पर्याप्त स्रोत नहुँदा खानेपानीको समस्या बढिरहेको छ । खडेरीको समयामा त उपत्यकाबासीलाई खानेपानीको चरम संकट हुने गरेको छ ।
प्रदेश राजधानी बनेपछि सेवा र सुविधाको खोजीमा मानिसहरु भित्रिने क्रम रोकिएको छैन । राजधानी बनेपछि भौतिक सुविधाहरु उपलब्ध हुने अपेक्षा राख्नु स्वभाविक नै हो । तर पनि अपेक्षा अनुसार राजधानीमा भौतिक सुविधाहरु उपलब्ध हुन सकिरहेका छैनन् । खानेपानीकै संकट वेहोर्न बाध्य नागरिकले अन्य भौतिक सुविधाहरु कसरी पाउलान् ? यो प्रश्न सरकार र राजनीतिक दलहरुतफै सोझिएको छ । पहिला थोरै जनसंख्या हुँदा वितरण गरिएका खानेपानीका संरचनाले हालको ठूलो जनसंख्यालाई थेग्न सक्ने अवस्था छैन । खानेपानी भनेको मासिनका लागि जीवन जल नै हो । अर्थात पानी विना मानिसको जीवन नै रहदैन । तर वीरेन्द्रनगरमा खानेपानीकै ठूलो समस्या छ । नगरभित्रको खानेपानी समस्या समाधानका लागि विभिन्न उपायहरुको पनि खोजी भइरहेको छ । स्थानीय र प्रदेश सरकारले पनि खानेपानी समस्या समाधानका लागि पहल गर्ने बताइरहेका छन् । तर पनि नगरबासीले सहज रुपमा चाहेजति खानेपानीको उपभोग गर्न पाएका छैनन् ।
राजधानी सहर बन्नु मात्र उपलब्धी होइन । वीरेन्द्रनगरलाई वास्तविक राजधानी सहरको रुपमा विकास गर्नु आवश्यक छ । राजधानी सहर भनेपछि यहाँ भौतिक विकास र आवश्यक आधारभुत सुविधाहरु सहज रुपमा उपलब्ध हुनु पर्दछ । तर बर्षौंदेखिएको खानेपानीको समस्यालाई समाधान नगर्दा वीरेन्द्रनगरमा खानेपानीको हाहाकार नै हुने गरेको छ । यसकारण पछिल्ला समय वीरेन्द्रनगरमा भेरी नदीको पानी ल्याउने योजनाको चर्चा सूरु भएको छ । वास्तवमा वीरेन्द्रनगरको खानपानी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने हो भने अब भेरीको पानी ल्याउनुको विकल्प छैन । यो नै उत्तम विकल्प हुन सक्छ । तसर्थ यहाँको खानेपानी समस्या समाधान गर्नका लागि अब भेरीको पानी ल्याउने आयोजनालाई जतिसक्यो चाँडो सम्पन्न गर्नु पर्दछ । यो आयोजना समयमै सम्पन्न गर्नका लागि प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको भूमिका नेतृत्व्दायी हुनु पर्दछ ।
युग संवाददाता । । २ पुष २०७७, बिहीबार १०:३४